काठमाडौं ।
सरकारको आग्रहलाई नमानेर काममा नफर्किने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ ।
विज्ञप्तीमार्फत मन्त्रालयले यस्तो आग्रह गरेको हो “स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी चिकित्सकहरुबाट भएको आन्दोलन आजकै मितिदेखि फिर्ता लिन सरकारी चिकित्सक संघलाई मन्त्रालय हार्दिक अपिल गर्दछ ।
नेपालीले तिरेको करबाट ठूलो धनराशी खर्च गरी उत्पादन गरिएका चिकित्सकले नेपाली नागरिकले संविधानतः पाउनु पर्ने स्वास्थ्य सेवालाई सुचारु गर्नु परमकर्तव्य भएको स्मरण गराउँदछौं । विज्ञप्तिमा भनिएको छ । “यदी कसैले सरकारको अपिललाई वेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ र अन्य प्रचलित कानूनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले विज्ञप्ती मार्फत जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चिकित्सकको आन्दोलनका कारण दैनिक ५० हजार बिरामीले स्वास्थ्य सेवा लिन पाएका छैनन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएपछि देशभरका सरकारी अस्पतालमा स्वास्थ्य सेवा ठप्प छन् ।
संघले गत शुक्रबारदेखि आफूहरुको माग पूरा नभएसम्म आन्दोलनका कुनै पनि कार्यक्रम स्थगित नगर्ने चेतावनी दिएको छ । चारदिनेदेखि बिरामीले सरकारी अस्पतालमा सेवा पाएका छैनन् भने चिकित्सक काम छाडेर आन्दोलनमा छन् ।
काठमाडौंका वीर, ट्रमा सेन्टर, प्रसुती, कान्ती, शुक्रराज लगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट रिफर गरिएका बिरामी पनि अलपत्र छन् ।




