जेठ १५-१७ सम्म भएको राष्ट्रिय सम्मेलनबाट किन पार्टीको नाम बदल्नु भयो र अबको कार्यक्रम के छ ?
कम्युनिस्ट पार्टीहरुमा अन्तराष्ट्रिय रुपमा र नेपालमा पनि ०७ सालदेखि नै महासचिव प्रणाली चल्दै आएकोले हामीले पनि यस्तो निणर्य गरेका हौं । अध्यक्षात्मक प्रणाली खासगरि पुँजीवादी पार्टीले सबैको चित्त बुझाउनका लागि बनाउने भएकोले हामीले भने यसलाई बदलेका हौं ।
महासचिव प्रणालीमा जाँदाका फाइदाहरु के के हुन् ?
महासचिवले नेतृत्व गर्ने र अरु सबै आआफ्ना स्थानमा बराबरी हुने यसका फाइदा हुन् । यो प्रणालीमा पदका लागि कम प्रतिष्पर्धा हुने हुन्छ ।
कम्युनिस्ट पार्टीमा महासचिव प्रणाली निरंकुश हुन्छ भनिन्छ नी ?
कम्युनिस्ट पार्टी जनवाद र केन्द्रियताको आधारमा चल्छ । पार्टी भित्र जनवाद हुन्छ तर त्यो निरंकुश हुँदैन ।
पार्टीको नाम किन बदल्नु भयो ?
पहिला नेकपा मार्क्वादी नाम थियो तर अहिले आएर ४९ सालमा राखिएको यो नाममा अरु पार्टी पनि भएकोले अब चाँही नेकपा (१५ से.१९४९) राखेका हौं । कम्युनिस्ट पार्टी नै यही मितिमा स्थापना भएकोले हामीले पनि यो नाम राखेका हौं । कम्युनिस्ट पार्टी प्रवासमा स्थापना भएकोले १५ से.१९४९ राखेका हौं, जहाँ विसं होइन ईसं चल्छ । चारैतिरबाट कम्युनिस्ट सिद्धान्तमाथि हमला भएकोले यसलाई बचाउनका लागि पनि हामीले यसो गरेका हौं ।
अबको संघर्षको कार्यक्रम के छ तपाईंको पार्टीको ?
कमरेड पुष्पलालले पार्टी स्थापना गर्दा अपनाउनु भएका नीति र सिद्धान्तलाई नजरअन्दाज गर्दै केही आफूलाई कम्युनिस्ट हुँ भन्नेहरुले कम्युनिस्ट पार्टीलाई संसदवादमा लैजाने काम गरे । पार्टीको छैठौं राष्ट्रिय सम्मेलनदेखि नै यो बाटो समाएका केही मान्छेले ३५ सालमा पुष्पलालको निधन भएपछि झन संसदीय बाटोमा जाने कामलाई जोडले उठाउन थाले ।
पुष्पलालको निधन लगत्तै चलेको संकटकालीन सम्मेलनबाट नै कम्युनिस्ट मान्यतालाई छोड्दै जाने काम केही साथीहरुले गर्न थाले । नयाँ जनवादी कार्यक्रम हाम्रो लक्ष हो भन्दा भन्दै पनि साहना प्रधानहरुले यसलाई लत्याएर संसदवादतिर जाने प्रयास गरे । उनीहरुले माओत्सेतुङ विचारधारालाई छोडे ।
पुष्पलालले भनेको नयाँ जनवादी कार्यक्रम हाम्रो मूख्य लक्ष हो र पञ्चायती व्यवस्था नै हाम्रो प्रमुख दुष्मन हो भन्ने मान्यतालाई लत्याएर उनीहरुले तत्कालका लागि प्रजातन्त्र स्थापना गर्नलाई यो मान्यता बोकेर गए । ४३ सालमा मनमोहन अधिकारीको नेकपा जनवादी पार्टीसित हाम्रो नेकपा पार्टीको एकता भएपछि नेकपा मार्क्सवादी बन्यो । ४८ सालसम्म मात्रै मनमोहनसित सँगै रहियो । ४८ सालको आम निर्वाचन भन्दा अघि नै हामी उनीहरुसित अलग भयौं । उनीहरु चुनावमा गए । तर हामी गएनौं । उनीहरु मालेसित मिलेर एमाले बनाए भने हामी नेकपा नै रह्यौं । त्यसपछि हामीले पनि ६४ सालसम्मका निर्वाचनहरुमा भाग लियौं तर ७० को निर्वाचनमा भाग लिएनौं ।
अबको कार्यक्रम के हो नी ?
हाल हामी एमसीसी, एसपीपी लगायतका ससकारले गरेका देशघाती कामहरुका विरोध गर्दै आएका छौं । यो संसदीय व्यवस्थामा रहेर देशको अस्तित्व नरहने भएकोले मजदूर वर्गको नेतृत्वमा जनवादी क्रान्तिको तयारी लाग्नु भन्ने उद्धेश्यले त्यसको तयारीमा लागिरहेका छौं । सामन्तवाद, साम्राज्यवाद र भारतीय एकाधिकार पुजीवादको रक्षाको किल्ला बनेको संसदको विरुद्धमा आन्दोलन केन्द्रित गर्नुपर्छ भन्ने हाम्रो हालै बसेको १३औं राष्ट्रिय सम्मेलनको नीति भएकोले हामी त्यसकै लागि कृयाशील रहेका छौं । त्यसका लागि हामी संसदीय चुनावमा भाग लिँदैनौं र बहिष्कार गर्छौं ।
यो व्यवस्थाको विरुद्धमा अरु पार्टीहरु पनि छन्, ती पार्टीहरुसित तपाईंको पार्टीको सम्पर्क छ कि छैन ?
सडकमा रहेका अरु कम्युनिस्ट पार्टीहरुसित नजाँ जनवादी क्रान्ति गर्ने विषयमा सहकार्य हुन्छ । दलाल पुँजीपति वर्गसितको लडाईं मुख्य लडाईं हो भन्नेहरु सित हाम्रो सहकार्य हुँदैन । किन कि अहिले सामन्तवाद, साम्राज्यवाद र भारतीय एकाधिकार पुजीवादको प्रभुत्व मानेर संसदमा रहेका शक्ति नेपाली जनताको प्रमुख दुश्मन हुन् भन्ने हाम्रो बुझाई रहेको छ । दलाल भन्ने शब्द पूँजीवादी शब्द हो । भोली पनि यो वर्गले दलाली काम गर्नेछ तर सानो समूहमा हुने भएकोले यो अहिले प्रमुख दुष्मन होइन ।
नेपालमा अझै सामन्तवाद छ र ? कुन कुन क्षेत्रमा छ ?
अहिले पनि नेपालको कुल खेतियोग्य जमीनको ५३ प्रतिशत जमीन १० प्रतिशत जमिनदारको हातमै छ । त्यो जग्गाको स्वामित्व राज्यसित हुन्छ । अनि जसले उत्पादन गर्छ उसैलाई स्वामित्व हस्तान्तरण गर्छ । उत्पादन गर्ने किसाने हो, जमिनदारले होइन ।
यस्तो प्रणाली कहाँ छ ?
चीनमा र उत्तर कोरियामा छ । सानो छँदा किम इल सुङका किताबहरु खुब पढिन्थ्यो । उत्तर कोरियामा पनि यस्तै प्रणाली छ । यो प्रणालीबाट हामी पनि प्रभावित भइयो । २२ सालमा नेपालमा गरिएको भूमिसुधार र त्यहाँको भूमिसुधार मिलेन । बाँकी रहेको ४७ प्रतिशत जमीन मात्रै किसानको हातमा छ । त्यसकारण नेपालमा अब नयाँ तरिकाले भूमिसुधार गरिनु पर्दछ । हालका लालपूर्जाहरु सबै खारेज गरिदिनु पर्छ ।
यी सबै गैरकानुनी घोषणा गरिनेछन् । त्यसपछि सबै जग्गा राष्ट्रियकरण गरिनेछ र फेरि ठीक तरिकाले किसानलाई जग्गा वितरण गरिनेछ । त्यस्तैगरि पुष्पलालजीले ल्याएको भूमिसुधारको कार्यक्रम पनि राम्रो थियो र छ । जो चीन र कोरियाकोसित मिल्छ । पूँजीवादी व्यवस्था रहँदासम्म किसानको हातमा जमीन हुन्छ । समाजवादी अवस्थामा पुगेपछि सबै चीज राष्ट्रियकरण हुँदै जान्छ । तर अहिले भने किसानको हातमा जमीन दिनै पर्दछ ।
यहाँ जमीनको चक्लाबन्दी गर्नुपर्ने भनेर बहस गर्ने गरिन्छ तर चक्लाबन्दी गर्दा सामन्ती स्वामित्व भने रहिरहन्छ । किसानले जमीन पाउँदैन । तर पहिला जमीन खण्डिकरण गरेर किसानलाई दिनैपर्दछ । किसानले जमीन पाए पो उसले खेती गर्छ र आत्मनिर्भर हुन्छ । यसरी जमीन सहितको किसान हुनुपर्दछ ।
यसका लागि यो व्यवस्था बदल्नु पर्छ की पर्दैन ?
बदल्नै पदर्छ । यो व्यवस्थमा हामीले अघि भनेका काम हुन सक्दैनन् ।
एक्लै गर्ने की अरु पार्टीहरुको पनि साथ चाहिन्छ ?
यो काम गर्ने कम्युनिस्ट पार्टीले नै हो । मालेमावादी विचार र नीति भएको पार्टीले मात्रै यो काम गर्नसक्छ । अरुले गर्दैनन् । यसका लागि पुष्पलालले आफ्नो जीवनको अन्तिममा ‘कार्यकर्ता राजनीतिक रुपले चेतनशील हुनुपर्छ र जनता संगठीत हुनुपर्छ, क्रान्ति अवस्यमभावी छ, यो कसैले रोकेर रोकिन्न’ भन्नु भएको थियो । यो धेरै नै महत्वपूर्ण भनाई हो । जनता संगठीत भएर नै कम्युनिस्टहरुलाई दुई तिहाई मत दिएका हुन् । कम्युनिस्टका नामका झण्डामा विश्वास गरेर मत दिएका हुन् । तर ती कम्युनिस्ट पार्टीका कार्यकर्ता चेतनशील छैनन् र मतको दुरुपयोग भएको छ । जनताको मतको दुरुपयोग गर्दै कमाउ धन्दामा लागिरहेका छन् । यतिसम्म दुरुपयोग की एमसीसी जस्तो देशघाती कामलाई यिनीहरुले बहुमतले पास गरे । एसपीपी त पहिले नै पास गरिसकेका छन् । जनताको दवाव भएकोले मात्रै रोकेजस्तो गरेर टालटुल गरेका हुन् ।
२ ध्रुवमा बाँडिएको विश्वलाई कसरी हेर्नु भएको छ ?
हो विश्व हाल २ ध्रुवमा बाँडिएको छ । कसैकसैले बहुध्रुव पनि भनेका छन् । तर विज्ञानमा वस्तु पनि २ भागमा बाँडिएको हुन्छ र त्यसलाई माइनस र प्लस भनिन्छ । यसमा तेस्रो ध्रुव छैन । सोभियत संघलाई पतन गराएपछि अमेरिकाले आफूलाई एक ध्रुव मानथ्यो । उसको मात्रै हैकम चल्छ भन्थ्यो । तर लामो समयपछि अरु देश पनि शक्तिशाली भएर उदाए । यो कुरालाई उसले मान्नु पर्छ । आज भइरेको रुस-युक्रेनबीचको युद्ध खासमा यो अमेरिका र रुसको बीचको युद्ध हो ।
अमेरिकाले युक्रेनलाई अगाडी लगाएर रुससित लडिरहेको छ । युद्धका कारण युक्रेनमा लाखौं मानिस विस्थापित भएका छन् । हजारौं मानिस मारिएका छन् । त्यत्रो संरचना ध्वस्त भएको छ । तर पनि साम्राज्यवादीहरु आफ्नो हतियारको प्रयोग गर्ने थलो युक्रेनलाई बनाइरहेका छन् । यो उनीहरुको अत्यन्तै घृणित कार्य हो । त्यसकारण हालको युद्ध पनि पूँजीवाद र साम्राज्यवाद बीचको अन्तरविरोध भएकोले हामीले रुसको पक्षमा बोल्नु पर्नै हुन्छ । माओले भनेझैं ४ वटा अन्तरविरोध आज पनि छन् । १) समाजवाद र साम्राज्यवाद बीचको अनतरविरोध । २) पूँजीवाद र साम्राज्यवादी अन्तरविरोध । ३) राष्ट्रिय मुक्ति आन्दोलन र साम्राज्यवाद बीचको अन्तरविरोध । ४) पूँजीवाद र पूजीवादबीचको अन्तरविरोध ।
रुस अहिले पूँजीवाद हो । रुससितको हतियार ध्वस्त नभइ आफ्नो हैमक चलाउन नसकिने भएकोले अमेरिकाले त्यसमा युक्रेनलाई प्रयोग गरिरहेको छ । तर साम्राज्यवादीहरु यस युद्धमा पराजीत हुनेछन् भन्ने मलाई लागेको छ । किन की अहिलेसम्मको लडाईंमा चीनले हस्तक्षेपकारी भूमीका खेलेकै छैन । ऊ अगाडी आयो भने युद्ध झन चर्किने अवस्था आउँछ । यता अझै पनि रुसले निर्णायक युद्ध त लडेकै छैन । अमेरिकाले कति हतियार प्रयोग गर्ने रैछ त भनेर रुसले हेरिरहेको छ । तर उदयमान शक्ति रुसका सामु केही सीप लाग्ने छैन र साम्राज्यवाद ढल्नेछ ।




