२०८३ भदौ २६
चितवन । कुशे औँशीको दिन भएकोले भरतपुर ९ वसन्तचोकका घनश्याम पौडेल कुश काट्न निस्किएका थिए । बिहान पौने ६ बजेतिर उनी पूर्व–पश्चिम हाइवेमा पर्ने घर भएकै सडक हुँदै टिकौली जंगलतर्फ जान लाग्दा करिब ५ सय मिटर परबाट एउटा गाडी धुवाँको मुस्लोसहित हुइकेर आइरहेको देखे ।
हेर्दाहेदै गाडी सडकको दायाँबायाँ लर्खरिँदै वसन्तचोकमा रहेको इभी चार्जिङ स्टेशन अगाडि मूल सडकमा आइपुग्यो ।
‘पछाडिमात्रै बलेको गाडी चार्जिङ स्टेशन नजिक आइपुगेपछि अगाडि पनि बल्न थाल्यो,’ धनश्यामले भने, ‘त्यसपछि मूल सडकको डिभाइडर नाघेर गाडी बायाँतर्फको सर्भिस लेनतर्फ उफ्रियो र छेउको सिमेन्टको कुर्चीमा ठोक्किएपछि त्यहीँ रोकिएर ह्वार्रह्वार्रर्ती बल्न सुरु गर्यो ।’
बिहान ६ नबज्दै आगो लागेर जलेको बा. प्र. ०१–०३०– च ५५७९ नम्बरको इभी कारभित्र रहेका अमर पराजुलीको पनि जलेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले टिकौलीको जंगल कट्ने बित्तिकै रहेको सीसी क्यामराको फुटेज हेरेर गाडी पहिचान गर्नुका साथै यातायातमा रहेको अभिलेख हेरेर सवारीधनी पहिचान गरेको जनाएको छ ।
गाडीमा आगो लाग्नासाथ रोकेर अमर किन बाहिर निस्किएनन् भन्ने प्रश्न उठ्छ । के यो अर्को आत्मदाह प्रकरण हो ? चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल भन्छन्, ‘इभी गाडीमा भित्रबाट ढोका अटो लक हुने भएकोले खोल्न नसकिएको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’
जलिरहेको गाडी देख्ने स्थानीयले पनि चालकले ढोका खोल्न प्रयत्न गरेको जस्तो देखिएको बताएका छन् । भरतपुर ९ का स्थानीय खगेन्द्र पौडेलले आफू मर्निङ वाकमा निस्किदा गाडी आगोको मुस्लोसहित उडेको जस्तो स्पीडमा आएको बताए ।
उनले भने, ‘आगोले निसास्सिएपछि निस्किन प्रयत्न गरेको जस्तो चाहीँ देखिएको थियो । तर, आगो यति ठूलो थियो कि हामी स्थानीयले सहयोग गर्नसक्ने अवस्था नै भएन ।’
आगो कसरी सुरु भयो र गाडी जल्यो भन्ने निष्कर्षमा प्रहरी पुगिनसकेको भए पनि गाडीको पछाडिको भागबाट आगो लागेको सीसीक्यामराको फुटेजबाट पनि देखिएको छ ।
गाडीधनी पराजुली चितवनको शैक्षिक क्षेत्रका व्यक्ति भएको पनि खुलेको छ । प्रहरीका अनुसार ५६ वर्षका अमर पराजुली भरतपुर १२ का स्थायी बासिन्दा हुन् । उनी नारायणी विद्या मन्दिर शिवघाटका पूर्वसञ्चालक पनि रहेको खुलेको छ । आगो लागेको गाडी जिएसी आयोन ब्राण्डको इभी हो ।




