आफू भागेको भिडियो भाइरल भएपछि आयो मन्त्री पोखरेलको स्पष्टिकरण
काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा भएको घटनालाई लिएर प्रतिक्रिया दिँदै घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण सन्दर्भ बङ्ग्याउने प्रयास भएको बताएका छन् ।
उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० जनाभन्दा बढी सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताए ।
‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ । तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनको तयारी भइरहेको उनले बताए ।
आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’जस्ता नवीन अवधारणा समेट्ने विषयमा प्रत्यक्ष रूपमा सुझाव सङ्कलन भइरहेको उनको भनाइ छ ।
कार्यक्रममा अवरोध सिर्जना भए पनि शिक्षा सुधारको अभियान प्रभावित नहुने मन्त्री पोखरेलले बताए । घटनापछि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उनले जानकारी दिए ।
‘आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव सङ्कलन गरेका छौँ,’ उनले भने ।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि रहे पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताए ।
‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयम्ले गर्नेछन् ।’
मन्त्री पोखरेलका अनुसार सुझाव सङ्कलन अभियानअन्तर्गत टोली भोलि सप्तरीहुँदै मोरङतर्फ जानेछ ।
