कुकुरलाई डग होस्टेल !

 डा. पदमराज कलौनी

काठमाडौँको भित्री गल्लीमा ! बजारको चोकमा हेर्दा अनौठो दृश्य देखिन्छ । अभागी मान्छेहरु आकाशलाई छानो र सडकपेटीलाई ओछ्यान बनाएर सुतेका देखिन्छन् । जाडोले लगलग कामिरहेका हुन्छन् । टाउको लुकाउने ओडार पाउन्नन् । पेटभर अन्न भेट्दैनन् । त्यही सडकपेटीको पारिपट्टि एउटा भव्य महलमा, विदेशी जातको “डग हक” र “स्पा” दृश्य देखिन्छ । घरको गेटमा अङ्ग्रेजीमा टल्किने अक्षरमा लेखिएको हुन्छ— “लक्जरी डग होस्टेल एन्ड स्पा“ केन्द्र ।
विधाताले पक्कै पनि जुनी फेर्ने बेला सफ्टवेयरमा ठुलो गडबडी गरिदिए । अहिलेको जमानामा मान्छे भएर जन्मिनु भन्दा धनी घरको कुकुर भएर जन्मिनुमा मजा छ । कामकुरो छाडेर मस्तसँग सुत्न पाइन्छ । खाडी मुलुकको झाडीको टन्टै साफ हुन्छ । फाइदा र इज्जत मान्छेको भन्दा बढ्ता छ । मान्छेलाई घरभाडा खोज्नै हम्मेहम्मे ! जातपात सोधेर हैरान ।

विवाहित अविवाहितको फेहरिस्त दिनुपर्छ । विश्वास जगाएर मात्र काठमाण्डौमा महङ्गो भाडाको थोत्रो कोठा पाइन्छ । के के मिलेको हुँदैन तर पनि कोठा पाएकोमा सरकारकै मन्त्री भए भन्दा ठूलो हर्ष हुन्छ । कुकुरका लागि राजाधानी खासधानी छ । देशी कुकुर भन्दा विदेशी भएर जन्मनु भनेको भएभरका सुविधा लुट्नु हो । मान्छेको भन्दा बढता सुखी हुनु हो ।

उसै पनि कुकुर मालिकका “मेरो कुकुर” भनेर गरिने फर्माइस चाख लाग्दो हुन्छन् । वातानुकूलित कोठा, २४ घण्टा वाइफाइ उपलब्ध हुन्छ । बिचरा कुकुरले नचलाउने भनेकै वाइफाइ हो । कसरी चलाओस उसको हाइफाइ अचाक्ली छ । सरकार फेरिएको छ । युवाको सरकार बनेको छ । परिवर्तन भएन भन्नेलाई मुखैभरिको जवाफ दिन सकिने काम गर्दिएका छन् । निजी पशु चिकित्सकहरुले ।

नाकै फुलाउने गरी कुकुर मसाजको व्यवस्था सहित सुविधा सम्पन्न होस्टेल खोलेका छन् । पुराना पुराना प्रधानमन्त्री भए उद्घाटनमा गएर “नेपाललाई कुकुरमा युरोप बनाएको” घोक्रो सुकाउथे होलान् । बिचराहरु ख्यास परेर हो नि ! नत्र उनीहरुको गला र कला बेलाबखतमा सुन्न पाएकै थियौं । जे होस् युवामैत्री सरकारको पालामा आधुनिक सभ्यताको कुकुरे युग प्रारम्भ भएको छ ।

मान्छेले ओत लाग्ने ओछ्यानमा डोजर चले पनि काठमाण्डौका आलिशान महलमा कुकुरका होस्टेल खोल्नु चानचुने कुरो होइन । नेपालीले महङ्गा सोफा पाएनन् भन्दैमा हुन्छ र ! हाम्रा कुकुरहरुका लागि पशु चिकित्सकले सोफा बुक गराइरहेका विज्ञापन भरमार छापेका छन् ।
डेरामा बस्दा घरबेटीका सर्तहरू सुन्ने मात्र होइन अमल गर्नुपर्छ । धेरै पानी खर्च गर्न पाइँदैन । बेलुका ढिलोमा ७ बजेभित्र गेट बन्द हुन्छ ।

नातागोता, इष्टमित्र, साथिभाइ कोही नल्याउनु । हो होल्ला नगर्नु । भाडाको के कुरा गर्नु ! सानो ओसिलो कोठाको ताततातो भाडा सुन्दा प्राण पखेरु खुस्किएला जस्तो हुन्छ । भाडा सुन्दा मुटुको धड्कन रोकिन्छ । तलब आउनु अगाडि घरबेटीको अनुहार आँखामा नाच्न थाल्छ । साँघुरो कोठामा फराकिलो भाडा तिर्दा गुन्द्रुक खाँदेझैँ कोच्चिनु पर्छ । अलिकति ठाउँ वा सुविधा माग्यो कि “चित्त बुझ्दैन भने अन्तै जानुस् ।“
त्यही घरबेटीको घरको विदेशी नश्लको कुकुर जर्मन शेफर्ड, हस्की आदि इत्यादि राजा जस्तै ठाँटिएर बसिरहेको हुन्छ । मान्छेको भन्दा बढता खर्च खाएर मोटाएको हुन्छ । छोरीबेटीले दिने म्वाइँस्वाइँ खाएर के के हो के के !
अब कुरा गरौँ ती भाग्यमानी कुकुरहरूका ! जसका लागि आधुनिक सहरमा “होस्टेल” खोलिए । होस्टेल साधारण होस्टेल होइनन् । फाइभ स्टारका बाउ हुन् । स्टार जोडिने बितिकै सोच्नुस कि पैशा कति होला ! अनुमान लगाउनुस् । मान्छेको बच्चाले कुकुरको बच्चालाई खोलेका होस्टेल रिसोर्ट भन्दा कम हुने कुरै भएन । सामान्यतया काठमाण्डौ शहर वृद्ध–वृद्धाश्रममा बाआमालाई थन्क्याउँदा सामान्यतया महिनाको बीसौं हजार तिर्नु पर्छ । कुकुरका के कुरा गर्नु !

अचाक्ली छ भन्या अचाक्ली ! होस्टेलका सुविधाहरू सुन्नु भयो भने तपाईलाई आफ्नै भाग्यमाथि धिक्कार्नु हुन्छ । महँगी मारमा मान्छेलाई बिहान र बेलुका छाक टार्ने चिन्ता छ । दशैं मुखैमा आउँदा पनि ग्यास सिलिण्डरले चिलिण्डर बनाएको छ । होस्टेलका कुकुरलाई बिहान पेडिग्री, दिउँसो कुखुराको मासु र भात, बेलुका विशेष प्रकारको कुकुर–बिस्कुट दिइन्छ । पेडिग्री भनेको चानचुने खाना होइन । भिटामिन, मिनरल्स, प्रोटिन र फाइबर जस्ता पोषक तत्व मिलाएर बनाइएको विश्वमै महँगो वैज्ञानिक आहारा हो ।
यतिले मात्रै विदेशी जातको कुकुर खुश हुने कुरै भएन । मान्छेले महिनामा एक पटक कपाल काट्न पनि बार्गेनिङ गर्नुपर्छ । होस्टेलमा कुकुरको पेडिक्योर, म्यानिक्योर र फिदर ट्रिमिङ नगरी भएन । स्याम्पु पनि यस्तो सुगन्धित प्रयोग गरिन्छ कि सायदै मान्छेको टाउकोले चाखेको होस् । विदेशी कुकुर हाम्रा सडकमा भुक्ने कुकुर जस्ता प्राणी होइनन् । कुकुरहरू डिप्रेसनमा नजाउन् भनेर उनीहरूका लागि खेल्ने पार्क हुन्छ । पौडी खेल्ने पोखरी हुन्छ ।

साथीभाइसँग गफगाफ गर्ने (भुकभुक गर्ने) सोसियल लाउन्जको सुविधा हुन्छ । कुनै मान्छे बिरामी हुँदा अस्पतालमा बेड नपाएर छटपटाउँछ । पैसा र सोर्सफोर्सको अभावमा प्रसुती सडकको नालीमा गराउनु पर्छ । आँखिर ऊ मान्छे हो ! सबथोक सहन्छ । कुकुरको मामिला फरक छ । होस्टेल व्यवस्थापकले मानवीय पक्षलाई मनन गरी डग–साइकोलोजिस्ट (कुकुरका मनोविज्ञ) को व्यवस्था गरेको छ । कुकुर टोलाउँदा मानसिक तनाव भयो भनेर काउन्सिलिङ गर्छ । कुकुरको डिप्रेसन हटाउन थेरापी गरिन्छ ।
आजको मान्छे गजबको छ । आफ्ना शाखासन्तान विदेस्याएर बकम्फुसे गफ झार्छ । बिहान बेलुका कुकुरको ग्वालो बनेर दिन काट्छ । अचम्मको परिवर्तन आएको छ । नाति–नतिना खेलाउन छाडेर कुकुरको पुछ्छरसँगै घुम्छ । छउरा छाउरी अँगालो हाल्छ । दुईचार महिना विदेशमा “तेल भिसा” पाउँदा धर्तीमा छाड्छ । छिमेकी बिरामी हुँदा भेट्न नजाने मान्छे, कुकुरको जन्मदिन धुमधामले मनाउँछ । सामाजिक सञ्जालमा “ह्याप्पी बर्थडे टु पप्पी” पोष्ट्याउँछ । क्या मजाको विकास ! खासमा कुकुर पाल्नु भनेको जनावरप्रतिको प्रेमस्रेम होइन । “मजबुरी का नाम महात्मा गान्धी“ हो ।

नाति–नतिनाको प्रतीक कुकुर बनेको छ । सस्तो श्रममा विदेशमा काम गर्नेका परिवारमा विदेशी महँगा नश्लका कुकुर पालिएका छन् । नाति–नतिनाको प्राइमरी स्कुलको शुल्क भन्दा कुकुरको स्याहार–सुसार भर्नमा जोखिएको छ ।
रैथाने जातका कुकुरहरु “भुस्याहा”ले सुशोभित भएका छन् । विदेशी कुकुर पाल्नेहरु सडकमा भुक्ने कुकुरलाई एक टुक्रा सुख्खा रोटी दिन इज्जत गएको ठान्छन् । उल्टै लट्ठी वा ढुङ्गा वा तातो पानीले स्वागत गर्छन् । आफ्ना नानाबाला भन्दा काखमा भुत्ला नै भुत्ला उपहार दिने कुकुर बाबु, छोरा, प्रिन्सेस बनेर गाडीमा हुइकिन्छन् । विदेशी कुकुर चढेको कारले हाम्रा रैथाने कुकुरलाई किच्दा काइदा कानून खित्का छाड्छ ।
शहारिया मानव एक्लो र आत्मकेन्द्रित हुँदै गएको छ । मान्छेसँग बोल्न, छिमेकीसँग सम्बन्ध राख्न अल्छी भएको छ । बेफुर्सदीलो भएको छ । आधुनिक समाज कुकुरलाई होस्टेलमा राखेर महिनाको हजारौँ रुपैयाँ खर्च गर्न मान्छे तयार छ । सडकमा भोकै परेका बालबालिकालाई एक कचौरा जाउलो खुवाउन खल्ती खुल्दैन । नानाथरिका कुरा गर्छ । उपदेश झार्छ ।

एक छिन सोच्नुस त ! होस्टेलमा बसेको कुकुरले डायरी लेखे कस्तो होला ? लक्जरी होस्टेलमा बस्ने कुनै कुकुरले आफ्नो डायरी लेख्ने हो भने के लेख्थ्यो होला भनेर कल्पना गरौं ! “आज मेरो मालिकले मलाई डग होस्टेलमा छोडेर वैदेशिक भ्रमणमा गएको छ । या भनौं काठमाण्डौ बाहिर आफ्नो पैतृक गाउँ गएको छ । यहाँको एसी अलि कम चिसो छ । मलाई रिस उठेर म्यानेजरको अगाडि फोहोर गरिदिएँ । दिउँसोको खानामा चिकन अलि कम पाकेको थियो ।

मैले नखाइकन नखरा देखाएँ । बेलुका स्पामा मसाज गर्ने पालो आयो । स्पामा मसाज गर्नेको अनुहार थकित देखेँ । बिचरा मान्छे त हो नि ! दिनभरि काम गर्छ । राती सडकको कुनामा सुत्छ होला । मभन्दा त यो मान्छेको जुनी नै कता हो कता तल्लो स्तरको लाग्छ । कुकुरको सेवा गर्ने पनि मान्छे होला र भन्ने लाग्यो ! अर्को जुनीमा पनि म त धनीकै घरको कुकुर बन्छु भनेर सोच्दो होला । यस्तै काम गर्न परे झुक्किएर मान्छे बन्नु नपरोस् भनेर सोचेँ !“

काठमाडौंको गल्लीमा मान्छेहरु बस्ने कोठा नपाएर “टु लेट“ को बोर्ड हेर्दै आँसु झार्छन् । अर्को कुनाबाट एउटा भाग्यमानी कुकुर महँगो परफ्युम छर्किएर “लक्जरी होस्टेल” झ्यालबाट चियाउँछ । पशुपन्छीलाई माया गर्नु त ईश्वरको पूजा गर्नु सरह नै हो । अचेल यो माया र खर्चको मिटर मान्छेको अस्तित्व भन्दा आकाशिएको छ । मान्छेले सिटामोल नपाउने देशमा कुकुरले पेडिग्री र स्पा महङ्गो छ ।

सोझा सुकुम्वासीहरू एक टुक्रा जमिनमा बसे बाफत सेनाको आडमा डोजरले घरबार खोस्छ । सरकारी लाठी खानु पर्छ । सहरका सम्भ्रान्त कुकुरहरू एसी कोठामा समाजवादी स्वाद चाख्छन् । सडकको भिकारी र कुकुर सोफाको अधिकारी बनेको छ । हाम्रो गन्तव्य–पथ छर्लङ्ग छ ।

नेपाली सभ्यताको विकास गति यस्तै मतिले चलिरहेको छ । अब त्यो दिन धेरै टाढा छैन, जब सडकमा ओत नपाएर कठ्याङ्ग्रिएको एउटा अभागी मान्छेले कुकुरको “लक्जरी होस्टेल” को गेटमा पालेदाइसँग भनसुन गरिरहेको हुनेछ कि “म भुस्याहा कुकुर त होइन, तर मलाई पनि त्यही दर्जा दिएर भए पनि एउटा कुनामा बस्न देउ ।”

राज्य र मानव समाजको चेतचाहिँ अहिले कुकुरको ब्युटी पार्लर र मसाज थेरापीतिर कन्सन्ट्रेट छ । पहिले मान्छेले मान्छेलाई “मान्छे” सम्झिने फुर्सद पाओस् । अनि मात्रै सडक–मान्छेले ओत पाउने छन् !

यसमा तपाइको मत