रीता गिरी “रेणुका”
मुक्तक १
ड्याड, डोको कस्तो हुन्छ? डालो कस्तो हुन्छ?
यसलाई बुन्ने बाँस र निगालो कस्तो हुन्छ?
किताबका पाना पल्टाउँदै सोध्नेछन् सन्तान—
खेत जोत्ने हलो, खन्ने कोदालो कस्तो हुन्छ?
मुक्तक २
दिलमै छन् पीडाको बजार—यत्ति हो,
झरिरहन्छन् आँसु बारम्बार—यत्ति हो।
कहिले चोटहरू, कहिले धोका र छल,
जिन्दगीले दिएको उपहार—यत्ति हो।
मुक्तक ३
तिमी तिमी हौ, म म नै हुँ—नसोचौँ कस्तो-कस्तो पनि,
सम्बन्ध सुमधुर राख्न सोच्नु हुन्न सस्तो पनि।
तिमीले तिम्रो सुर गर्यौ, मैले मेरै सुर गरे भने,
कहाँ होला र हाम्रो जिन्दगी—जिन्दगी जस्तो पनि?




