काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्नो पार्टी कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेको छ । शुक्रबार पार्टी कार्यालय बखुन्डोलमा ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा राखेको हो ।
भारतले ‘अखण्ड भारत’को नाम दिएर नेपालको भूगोल समेटेर नयाँ संसद भवनमा नक्सा राखेपछि विवेकशील साझाले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको अध्यक्ष समीक्षा बाँसकोटाले बताइन् ।
नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने उनको भनाइ छ । राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सेनाको मुख्यालय लगायतमा ग्रेटर नेपालको नक्सा राख्न दबाब दिने बाँस्कोटाले बताइन् ।
यस्तै विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले ग्रेटर नेपालको नक्सा देशका सबै प्रशासनिक निकायमा राख्न माग गरे । नेपालको सांसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरुमा ग्रेटर नेपालको नक्सा राखेर ऐक्यबद्धता जनाउन सरोकारवालालाई पनि अनुरोध गरेको परियारले बताए ।




