गरिबी र बेरोजगारीका कारण भारततिर छिर्नु सयौं वर्षदेखि नेपालीहरुको लागि परम्परा जस्तै बन्न गएको छ । तर भारतमा रहेर मजदूरी गरिरहेका नेपालीहरुको श्रमको सम्मान कहिल्यै भएन । उनीहरु सधैं अपमानित बाँचे र काम गरेर नेपाल फर्के । कयौंले त उतै ज्यान पनि गुमाए । बाँचेर आएका पनि घर फर्कंदा बाटोमा भारतीय रेलमा र बस स्टेसनमा तथा सिमानाहरुमा कदम कदममा लुटिन्छन् र लुटिइरहेका छन् ।
आज भोली त नेपालीहरु रेलमा यात्रा गर्न समेत डराउँछन् । र बाध्यतावस महंगो भाडा तिरेर टुर एण्ड ट्राभल्समा यात्रा गर्न बाध्य छन् । केहि टाँठाबाठा नेपालीहरु पनि सहयोग गर्नुपर्ने ठाउँमा झन् उल्टै तिनै सोझा साझा नेपालीहरुलाई नै विभिन्न तरिकाले ठग्छन् । भारतलाई उपनिवेश बनाउने अंग्रेज र फ्रान्सेली जोगी आउँदा पनि सम्मान हुन्छ तर भारतको सुरक्षा र विकास निर्माणमा रगत र पसिना बगाएर भारतीयलाई सम्पन्न बनाउने नेपालीको नै अपमान किन हुन्छ ?
यसको कारण हो भारतीय शाषक वर्ग र त्यसले आफ्ना जनतालाई सिकाएको गलत संस्कार । किन कि मजदूरहरुलाई शोषण गरेपछि मात्रै शाषक वर्ग र त्यहाँका पुँजीपतिहरु धनि बन्दछन् । यस्तै अर्को मुख्य कारण पनि छ । त्यो हो, नेपाली कारण । प्राकृतिक हिसावले सम्पन्न भएर पनि गलत नीतिका कारण नेपालीहरु रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता रही आएको छ । स्वर्गको टुक्रा जस्तै सुन्दर र अपार सम्पदा हुँदाहुँदै पनि किन गरिब छ नेपाल ? अब यसको कारण खोज्नु पर्दछ । कारण हो, शासन व्यवस्था ठिक नहुनु ।
देशको बागडोर सम्हाल्नेहरु हड्डीमा कुकुरहरू लडे झैं लडेर देश र जनताको भाग्य भविष्य माथि किन बज्रपात गरिरहन्छन् ? नेपाल संसारको ४०औं नम्बरको ठूलो देशमा पर्छ । तर आम्दानीको हिसाबले पछाडिको तेस्रो नम्बरमा पर्छ । मगन्ते सरकार र दलाल पार्टीका नेताकार्यकर्ताका कारण पनि यस्तो अवस्था आएको हो । यसो किन भनिएको हो भने, हिजो भ्रष्टाचार र दलाल व्यवस्था विरुद्ध संघर्ष गरेका साथीहरू नै खुलम खुल्ला विदेशीको दलाली गरिरहेका छन् । भारतमै कुल्ली र चौकिदारी गरेकाहरु संघीय सांसद मन्त्री मुख्यमन्त्रीसम्म भैसक्दा पनि तलब भत्ता पचाउने खोक्रो आदर्श र दर्शनका भाषण छाँट्ने बाहेक सिन्को भाँच्दैनन् । रेमिटेन्स कै कुरा गर्ने हो भने पनि नेपाल पैसा पठाउने देशमध्ये भारत केहि वर्ष यता चौथो नम्बरमा पर्छ ।
वीपी र पुष्पलालदेखि बाबुरामसम्म भारतबाटै राजनीति गर्न सिकेका नेताहरु हुन् । नेपालको अवस्था सबैलाई भलिभाँती थाहा छ । वैदेशिक रोजगारीमा अन्य देशमा जानेहरूको कमसेकम बाकसमा फर्कन पाउँछन् । भारतमा काम गर्ने नेपालीहरुको त त्यो सौभाग्य पनि छैन । कुकुर मरे सरह हुन्छ र नेपालीको मराई, आखिर किन यस्तो ? के हामी मानव होइनौं ? हामीलाई सम्मान पूर्वक श्रम गरेर जिउने अधिकार छैन ? यावत प्रश्नहरू हाम्रा सामु छन् । त्यसैले भारत प्रवासमा रहनुहुने सम्पूर्ण संघ–संस्था बुद्धिजीवी पत्रकार एवं सचेत नागरिकहरु हातेमालो गर्दै प्रवासी नेपालीका समस्याका विषयमा नेपाल र भारत सरकार दुबैलाई सन् १९५० को नेपाल–भारत मैत्री सन्धि अनुरुप समान व्यवहार र सुरक्षाको ग्यारेन्टी बारे गम्भीर ध्यानाकर्षण र आवश्यक परे दवाव सिर्जना गरौं ।
किन कि सो सन्धिको ६ नम्बर बुँदामा भानिएको छ,‘भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरूमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ । यसमा दुवै देशले एकअर्कालाई राष्ट्रिय व्यवहार गरिनेछ भनिएको छ ।’ तर भारतीयले नेपालीलाई गर्ने व्यवहार राष्ट्रिय र सम्मानित छैन ।
१९५० को सन्धि (वि.सं २००७ श्रावन १६ सन् १९५० जुलाई ३१ ।) को पूर्ण पाठ ।
१) नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
२) कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुई सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।
३) कर्मचारी वर्गहरूसहित प्रतिनिधिहरुद्वरा परस्परमा प्रचलित अन्तराष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।
४) दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरूको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरूमा निवास गर्नेछन् ।
५) नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कलपूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अधिकार छ । दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।
६) भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरूमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
७) नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
८) जहा यहाँ जिकिर गरिएका कुराहरूको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरूलाई खारेज गर्छ ।
९) हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
१०) यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।
लेखक : प्रगतिशील नेपाली समाज भारत केन्द्रीय प्रवक्ता हुन् ।




