राप्ती गाउँपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

२०८३ भदौ २६

देउखुरी । दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै पुगेर सेवा प्रदान गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले यस्तो नवीकरण अभियान थालिएको हो ।

पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोलटोलमै पुगेर नवीकरण गर्न थालिएको हो । पालिकाको विकट क्षेत्रका रूपमा रहेको वडा नं ९ बाट यो अभियान सुरुआत गरिएको छ । आवश्यकताअनुसार अन्य वडाका गाउँ तथा टोलमा पनि अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्नेलगायतका कारणले कतिपयलाई समस्या हुने गरेको छ । सोही कारण यस्तो अभियान थालिएको शाखा प्रमुख रावतले बताए ।

घरमै पुग्दा लाभग्राहीको अवस्था बुझ्नुका साथै आवश्यक कागजात तथा प्रक्रियाबारे जानकारी गराउने गरिएको उनको भनाइ छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय छ ।

यसमा तपाइको मत

अन्य समाचार