निधारमा चाउरी भए नि मुस्कान सजिएको हुन्छ । कुरामा चिप्लोचाप्लो हुन्छ । स्वाभिमानमा धनुषटङ्कार हुन्छ । इसारा बुझ्छ । काइदा कानून जान्छ । जिरो भएर हिरो हुन्छ । कामले हाजिर हुन्छ, जी हजुरी सलाम ठोक्छ । योग्यताको कदरमा चाकरीको दर्ज्यानी चिन्ह सदर गर्छ । दाममा काम तमाम गर्छ । नामले चाकर कामले शिखर चुम्छ । एउटा चाकरका अगाडी असम्भव भन्ने केही हुँदैन । मालिकको जुत्ता चम्काएर आफ्नो भविष्य चम्काउन खप्पिस हुन्छ । ठूला–ठूला कुर्सीमा घोप्टिन्छ । गुनगान गाएर भनसुनमा अब्बल हुन्छ । झुक्नु चाकरको धर्म हो । चाकरीबाज चाकरीमा गर्व गर्छ । सेवा ढोगमा समर्पित हुन्छ । ऊ पसिना बगाउने भन्दा चार कदम अगाडि हुन्छ ।
चाकरी बिनाको जागिरी ! नेतागिरी ! सबथोक व्यर्थ हुन् । चाकरी असली योग्यता हो । को कतिको चाकर छ भन्ने कुरा कसले कति पटक अवसर पायो भन्ने तथ्यले स्पष्ट पार्छ । नेपाली बजारमा प्रचलित भाषामा नोकरी र चाकरी पर्यायवाची हुन् । राणा र शाह कालको कुरा गर्ने हो भने चाकरी बिना जागिर असम्भव थियो । आजभोलि लोकसेवाले शोकसेवा गरे बाहेक चाकरी जिन्दावाद । चाकरी गर्नु भनेको कामको मूल्याङ्कन गराउनु हो । हाकिमको मुड र कर्मचारीको योग्यता मिल्नु हो । जागिरे जीवनमा देखिने चाकरीका अनेकन रुप हुन्छन् । भर्खरे एकजना सचिवले पनि नयाँ शैलीको डिजिटल चाकरी पट्काएछन् ।
बिचार उनकोतिर खेर गएछ । शाखा अधिकृतदेखि लागेको बानी प्रधानमन्त्रीले अनादर गरेछन् । सरकारी सेवामा चाकरी प्रथा योग्यताको कदर हो । अर्काको आँखामा गद्दार वा अवसरवादी भए पनि परिआउँदा हाइब्रिड योग्यता हो । हाइब्रिड योग्यता भनेको चाकरी विधामा पूर्ण ज्ञान, सीप र क्षमता भएको हो । नहुने काम पनि गराउन सक्ने मानव हो । सूचना प्रविधिको वैज्ञानिक भाषामा भन्दा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) हो । जुनसुकै समस्याको समाधान खोजेर मालिकबाट सदर गराउन सक्ने हो ।
अरु भन्दा अगाडि गएर आफूलाई पीडित देखाएर मानवीय निर्णय र भावना लुट्ने सक्ने जीव हो । हाइब्रिडहरु छिटो छिटो फरक–फरक भूमिकाहरू सजिलै अटाउँछन् । जो आए नि टेबलमुनि होस् वा आवासमा होस् दररेट अणुसार काम फत्ते गर्छन् । चाकरहरु विश्वासी हुन्छन् । चाकरी बाटो फास्ट ट्र्याकको हुन्छ ।
अहो ! स्वाभिमान । सुन्दा कति भव्य छ । कति आदर्श र कति वजनदार शब्द छ । तराजुमा जोख्दा मात्र गरुङ्गो हुन्छ । भान्साको ग्यास सिलिन्डर भर्न स्वाभिमानले काम गर्दैन । बजारमा स्वाभिमान बिक्दैन । एक जनाको स्वाभिमान जोख्दा एक धार्नी आलु भन्दा कम हुन्छ । पसलेले आलु होइन, स्वाभिमानलाई मानसिक अस्पतालको बाटो देखाउँछ ।
संसारमा स्वाभिमान अमूल्य छ । अमूल्य वस्तुको परख जो कोहीलाई हुँदैन । स्वाभिमान महँगो र कडा ब्रान्ड हो । जसलाई न त पकाएर खान मिल्छ, न त भोक मेटिन्छ । एउटा महान् र अकाट्य महावाणी छ “चाकरी बिना मेवा पाइँदैन ।” लोकसेवा, कर्पोरेट सेवा र राजनीति सेवाको मूलमन्त्र चाकरी हो । जसले यो मन्त्र बुझ्यो, उसले मेवा मात्र होइन, बजारका फ्रेस फलफूल र आलिसान कुर्सी दैलोमा पाउँछ । मन्त्रलाई जसले घृणा गर्यो ऊ फस्यो । बिहान–बेलुका भान्सामा आगो बल्न धौधौ हुन्छ । चाकरका लागि चाकरी गर्नु महान धर्म हो । चारधाम नुहाउनु हो । उसको महान पेशा हो । ऊ आफ्नो जीवनप्रति स्वाभिमानी हुनु हो ।
ठुलाबडाको कुर्सीमा बस्न पाउनु हो । चाकरी बिना भाग्यको ढोका खुल्दैन । कम्मरलाई शक्तिको अगाडि ठीक ९० डिग्रीको कोणमा झुकाउन सक्ने अद्वितीय क्षमतावानहरु रोजीरोजी मृत्यु शैयामा पनि नियुक्ति पाउँछन् । जेनजी आउन् वा फेनजी, चाकरको दुनियाँ बलियो छ । नब्बे डिग्री झुकुवाहरु जुत्ताको पालिसदेखि तलुवा चाटेर भए पनि हैसियतवान बन्छन् ।
आफूलाई सुकिलामुकिलाको तहमा पुर्याउँछन् । “प्रभु”को कृपामा बाँचेकाहरु प्रभु बिना कृपालु हुँदैनन् । पढेलेखेका डिग्री होल्डरहरू विश्वविद्यालयको प्रमाणपत्र बोकेर चाकरी नडुल्दा प्रमाणपत्र खोस्टो हुन्छ । शक्तिको दरबारमा योग्यताको मूल्य कौडीको भावमा हुन्छ । हाइब्रिड योग्यता भएन भने विश्वविद्यालयको डिग्री जिग्री बन्दैन ।
प्रमाणपत्र भिरेर जी–हजुर गर्नेको खाली पेट भरिन्छ । नाक ठाडो पारेर हिँड्ने पढेलेखेका महाशयहरूको भविष्य खाडी बाहेक अन्यत्र छैन । जसको खल्ती रित्तो छ, उसको भान्सा सुनसान छ । कम्मर मर्काउने चतुरेहरुको भान्सामा ५६ व्यञ्जन पाक्छन् । विशिष्ठ श्रेणीमा विशिष्टहरु चाकरी कै सिँढी चढेर संवैधानिक, कुटनीति नियुक्तिको स्वाद चाख्छन् । स्वाभिमान भन्दै नाक ठाडो गर्नेहरु बीसौं वर्षमा एक तह बढुवा खाएर कुपोषणका शिकार भएका छन् ।
संसारमा जेनजी प्रजातिको व्यापक चर्चा छ ।
इन्टरनेटको भाइरस र इन्स्टाग्रामको रिल खाएर हुर्किएको पुस्ताहरु बजारमा छन् । उनीहरु पृथ्वीका बासिन्दा नै स्वीकार गर्दैनन् । एलन मस्कको स्पेस–एक्स रोकेटबाट जन्मेको ठान्छन् । जेनजी पुस्ता पनि शाश्वत परम्परागत नियममा हल्लिँदै चाकरी, चाप्लुसी गन्ध दिइरहेका छन् । न्यायाधीश नियुक्तिदेखि विश्वविद्यालयका उपकुलपतिमा परम्परागत संस्कृति धानेकै छन् । जिब्रोको लचकतामै शासनको अडेसमा लघ्रिएका छन् । जेनजी पुस्ताले आफूलाई जमिनभन्दा दुई इन्च माथि हावामा तैरिरहेको ठान्छ । वास्तविकता ऊ सामन्तवादको पखेटा सापट लिएर उडिरहेको छ । विस्तारवादको संकेतमा दौडिँदै छ ।
वाइफाइको स्पिडको उडेको ठाने पनि ऊ ओलीपथमा छ । स्मार्टफोनको स्क्रिनमा हेर्दै रमाएको छ । पर्दा पछाडिको दृश्य हेर्दा थाहा हुन्छ त्यो वाईफाईको हाइ–स्पिड केवल जनताको आँखा छल्ने डिजिटल कुहिरो हो । जतिसुकै आधुनिक र क्रान्तिकारी कुरा गरे पनि नियुक्ति पाउनेको अन्तिम सूचीमा “जी हजुर”को दुगन्धी छ । पुरानै अनुहारहरू छोप्ने जाली हावी छ । ओलीपथ (गुट र शक्ति)सँग पदचाप मिल्छ । ओलीको जादु र जेनजीको ओभर–स्मार्टनेसको मिश्रण छताछुल्ल पोखिएको छ ।
हिजोको राष्ट्रियता, विकास र समृद्धि आकर्षक गफ यथावत छ । अहिले उद्घाटनमा दिइने गफ सामाजिक सञ्जालमा पाइन्छ । हिजो गफको व्यापार खुला बजारमा सजाइएको हुन्थ्यो, आज वालमा भेटिन्छ । आज चुपचाप, गुपचुप र गोप्य चहल पहल छ । ओलीपथ भन्दा अगाडि ठाने पनि बाटो एउटै छ । भ्रम नयाँ छ । सोच, शैली र परिणाम घुमीफिरी उस्तै छ । सत्ता र शक्तिको वरिपरि घुम्ने गणेशहरु फुर्ति दिन थालेका छन् । सत्ता सामाजिक सञ्जाल र भर्चुअल क्रान्तिको गफ दिएर भ्युज र लाइक्सले देश चल्दैन ।
हजुर–ज्यूले संवैधानिक आयोग, कुटनीति क्षेत्र, विश्वविद्यालय चल्न सक्दैनन् । यहाँ कोही अर्कै ग्रहबाट आएका छैनन् । चाकरी बिनाको जीवन सितारको धून बिनाको बेसुर बनाइँदैछ । नेताको कुकुरलाई ‘कस्तो राम्रो र स्मार्ट’ भन्न सक्छ, उही अवसरको पहरेदार हुँदैछन् । चाकरी जादुई चाबीले न हिजोका चोखिए, न अबका चोखा रहनेछन् । मेवाको आश र चाकरीको बाटोमा हिँडेको सरकार “सेवा गरे मेवा पाइन्छ” भन्ने मान्यतामा ओतप्रोत छ ।
स्वाभिमानको चस्मा फुकालेर चाकरी मालिसबाजहरु चम्किएका छन् । राणाकालमा जागिर गरे बाफत् सेवाको बदलामा जग्गा जमिन पाइन्थ्यो । मध्यकालमा राजाहरुले आफ्ना अधिकारिको विशिष्ट सेवाको बदलामा वेतनको रुपमा पैशा दिए । अधीनमा बसेर वा रहेर गरिने काम नोकरी, जागिरी र रोजगारी हो । चाकरी गरे बाफत् राजाद्वारा जग्गा प्राप्त भएमा कर–मुक्त भूमि बक्सिन्थ्यो । अहिले जागिरदार र नोकरदारले पाउने पारिश्रमिकमा नानथरिका कर तिर्नु पर्छ । कहिलेकाहीँ मालिक भन्दा नोकर बढता महान देखिन्छन् ।
जागिरदार पनि अच्छाखासा मालिक हो । जङ्गबहादुर राणा पनि जागिरदार भएरै दरबार छिरेका हुन् । आँखिराँ उनी मालिक मात्र रहेनन्, राजाका पनि महाराजा भए । भगवान भए । चाकरीबाट उदाएका जङ्गबहादुर कुँवरले जात मात्र फेरेनन्, देशको शासन सत्ता फेर्दिए । जागिर खान जन्मनै पर्छ भन्ने मान्यतालाई धोइपखाली गर्भमै जर्नेल कर्नेलको पदवी बाँडे ! जागिरै उनी शक्तिशाली भए । जङ्गबहादुर कुवँरले पनि चाकरी कै सिँढी चढेका हुन् । नेपाली इतिहासमा चाकरीको जगबाट उभिएर सत्ताको शिखरसम्म पुग्ने जंगबहादुर राणाको “करिअर ग्रोथ”का प्रेरणाका श्रोत हुन् ।
आजका कर्पोरेट चाकडीबाजका लागि जङ्गबहादुर राणा एउटा विश्वविद्यालय नै हुन् । चाकरीबाट सुरु भएको उनको यात्रा कसरी देशकै सबैभन्दा शक्तिशाली शासक बन्न सफल भए भन्ने गुह्य कुरो उपराष्ट्रपति कार्यालयका सचिवले बुझेरै सामाजिक सञ्जालका प्रधानमन्त्रीलाई झटारो हानेका हुन् । वैगुनीले गुनिलो म्यासेजमा नुनिलोपना थपेर बेकार गरे ।
मह काट्नेले हात चाट्छ ! पहिला पहिला त घिच्नु पनि सेवा गर्नु मानिन्थ्यो । घिचारु र घिचाउनेहरु मालदार अड्डामा सोहर्न पुग्थे । ‘आफ्नो हात जगन्नाथ’ गर्थे । मालिकको कृपाले पाएसम्म कुम्ल्याउँथे । पहिला पहिला एकपटकको चाकरीले खुलेआम दाइँ रजाइँ गर्न पाइन्थ्यो । समाजमा धाक रवाफ चल्थ्यो । म फलानाको चाकर हुँ भन्दा सम्मान पाइन्थ्यो ।
आजभोलि चाकरहरु भूमिगत भएका छन् । चाकरीको रिझाउने बुझाउने समय छैन । चाकरीले मात्र पेट भरिने अवस्था केहीलाई मात्र छ । एउटा सचिव निशाना असफल भएर क्यार्नु । प्रधान न्यायाधीश र मुख्य सचिव हुनेहरु कनिष्ट हुँदाहुँदै चाहेको पड्काएर छाडे । अहिले नब्बे डिग्रीको चाकरीको स्वरुप फेरिएको छ । वरिष्ठ सचिवज्यूले कसरत गरेकै हुन् । शक्तिको ढोकामा कम्मर मर्काएकै हुन् । बिहान–बेलुका प्रभुको दैलोमा फन्को मारेकै हुन् । निशाना चुक्यो ! तीर निशानामा लाग्दै लागेन ।
अहिले चाकरीको पनि अपग्रेड भए छ । चाकरीको सफ्टवेयर फेरिए छ । कम्मर नब्बे डिग्रीमा झुकाएर मात्र पुगेन । शक्तिको दिमागको फ्रिक्वेन्सीसँग आफ्नो ढाडको जिरो अनुपात मिलाउन सक्ने हाइब्रिड चाकरी स्थापित भएको छ ।
निजामती र न्यायको महादेशमा अचम्मको जादु चलेको छ । यहाँ जेष्ठताको मर्यादा, सेवा अवधि र अनुभवका चाङहरू सिंहदरबारको कुनामा धुलोमा मिल्काइए । कनिष्ठ महाशयहरू एकाएक प्रधानन्यायाधीश र मुख्य सचिव भए । देशको सर्वोच्च कुर्सी पड्काएर विराजमान भए । ऐना हेर्दै आफ्नो फुलेको कपाल र चाउरिएको गाला सुमसुम्याएर वरिष्ठहरु गरिष्ठ भए । यो अचम्म होइन । चाकरी प्रथाको परिमार्जित र डिजिटल रूप हो ।
विगतको चाकरीमा स्वार्थको फाइल उठाउनु, कानूणको छिद्रमा पस्नु, वैधलाई अवैध र अवैधलाई वैध बनाउनु, परि आए जुत्ता चम्काउने, गाडीको ढोका खोल्ने, मागेको दैदस्तुर टक्य्राउने, चिया गफमा बोलाउनेमा सीमित थियो ।
अहिलेको “स्मार्ट चाकरी” को रूप इनभिजिबल (अदृश्य) छ । आजको हाइब्रिड योग्यतामा पनि जसले कला जान्यो, उसले रोलक्रमलाई बुटले कुल्चियो ! सिधै ठूलो पदमा फड्को मार्यो ! चाकरीको जीपीएस नयाँ रुपमा भित्रिएको छ । प्रविधिको विकाससँगै आफ्नो चाकरीको शैलीलाई अपडेट गर्न नसक्नेहरु पछारिन्छन् । पुराना फाइल पल्टाएर योग्यताको धाक लगाउने जमाना सकियो । अब योग्यता होइन, वफादारिता चाहिन्छ । रोलक्रम र जेष्ठता अब उप्रान्त सो–केशमा सजाएर खेलौना बनाउनु । असली खेल अब कनिष्ठले पर्दा पछाडिबाट खेल्नेछन् । हुतिहारा वरिष्ठतमहरु चुपचाप उप्रान्त जागिर पकाउनु ।
चाकरी अन्धो हुन्छ । अन्धोपनाले जस्तो सुकै चाप्लुसी गर्छ । मालिकको मुड अनुसार चाल चल्छ । रमाएको खुशिएको अवर पारेर आफ्नो गुनासो ठ्याक्क मिलाएर मनाउँछ । वचन फुत्काउँछ । बहानाबाजी गरेर काम तमाम गर्छ । चाकरीबाज चाप्लुस हुनु मै गर्व पर्छ । चरणदास भएर लम्पसार भएन भने कुरो बिग्रिन्छ । अर्को चाकरले छिन्छ । झिनाझप्टी अहिले मात्र होइन जङ्गबहादुर राणादेखि खुलेआम चलेको चलन हो ।
चाकरीवाल राज्यमा चाकरी अनिवार्य शर्त हो । चाकरी र चाप्लुसी एउटै सिक्काका दुई पाटा हुन् । बिना चाप्लुसी चाकरीको दाल गल्दैन । बहाल हुँदा बढुवा र निवृत्तपछि राजनीतिक नियुक्ति खानु सामान्य कला होइन । जमाना इमान जमान चाकरको छ । अब जंगबहादुर राणाको प्रशस्ति गाएर हुन्न । ‘जसको सिता खायो उसैको गीता’ गाउनु पर्छ । चाकरीमा पछारिनेले नानाथरिका अनर्गल प्रचार गर्नु आवश्यक छैन । चलि आएको चलनमा को अगाडि, को पछाडि खुट्टीले थाहा पाइन्छ । नेपाली चाकरी ऐतिहासिक छ । जसले सत्ता, शक्ति र कुर्सी हात पार्न सक्यो उसैको इतिहास लेखिन्छ । ऊ कसरी जित्यो, किन जित्यो भनिदैन ।
जित्नेकै जयजयकार हुन्छ । कसले कति चाप्लुसी गर्यो भनेर जानिने मापदण्ड नियुक्ति हो । चाकरी खुला विश्वविद्यालयको डिग्री हो । सर्वसाधारणको भाषामा मागी खाने भाँडो हो । चाकरीबाज जो आए पनि खाली रहन्न । ऊ खुट्टा मल्ने र खुट्टा भाँच्ने कलामा निपुण हुन्छ । चाकरीमा अद्भुत आनन्द र मजा लिन्छ ।
घमण्डी, अहंकारी र विद्रोही कहिल्यै चाकर बन्दैन । उसले चाकरीको दर्शनलाई गहिरो र सटीक रूपमा जानेकै हुँदैन । चाकरी बिना आधुनिक शिक्षा प्रणालीको सार्टिफिकेट बोकेर खान पाइन्न । स्वाभिमान बेचेर जङ्गबहादुर राणा पथमा लम्कनु पर्छ । जेनजी बिद्रोह कसले गर्यो र सत्तामा को पुगे ! सुन्दर उदाहरण यही हो । चाकरी प्रथा नेपाली माटोको सुभाष हो ।
व्यावहारिक र सान्दर्भिक छ । सानादेखि ठूलासम्म, राजादेखि रङ्कसम्म, नेतादेखि अभिनेतासम्म चाकरी नगरी नाम र दाम हुने कुरै छैन । झुण्डका झुण्ड चाकरीबाजहरु खुला विश्वविद्यालयका उत्पादन हुन् । यो एउटा यस्तो शैक्षिक संस्था हो जहाँ भर्ना हुन कुनै सर्टिफिकेट चाहिँदैन । यहाँको सार्टिफिकेटले मानिसलाई कहिल्यै भोको रहन दिँदैन । जङ्गबहादुर राणाको देशमा मार्क्सवादी भएर काम चल्दैन । चाकरी संस्कृतिमा गोल्ड मेडलिस्टको काम छैन ।
येनकेन जागिर छिरेपछि भविष्य चम्काउन चाकर बन्नै पर्छ । चाकरीमा न्यूनतम र अधिकत्तम लाजको सीमा छैन । अधिकतम लचकताको फल छिटो प्राप्त हुन्छ । बेलामौकामा चौका हान्न जान्नु पर्छ । कता जनमतको हावा छ उतै हुइकिनु बुद्धिमानी हुन्छ । आफ्नो स्वाभिमानलाई स्थायी रूपमा लक गर्नुपर्छ । चाकरीमा कोही स्थायी मालिक हुँदैन ।
असली मालिक देख्दा कम्मरलाई नब्बे डिग्रीमा बङ्ग्याउने क्षमता र लचकता चाहिन्छ । हातमा केही न केही कोसेली हुनुपर्छ । जे होस् जेनजी भनिने युवाहरु खाडी मुलुकको पासपोर्ट लत्याउँदै मन्त्रीको लाइनमा छन् । कयौं महारथीहरुले मन्त्री एकै पटक पड्काउन सफल भए ।
पुरातनवादी लाइनमै बसेको भए, मान्ने हुन धौधौ थियो । सदस्यता त्यागेर चाकरी विश्वविद्यालयको पाठ्यक्रम सहभागी हुँदा चिट्ठा परेछ । र त बिचराहरु नेताको खोकीलाई सङ्गीत सम्झेर स्वरमा स्वर मिलाउँदै छन् । अबोलापनलाई महान दर्शन भनेर ब्याख्या गर्दैछन् । कुतर्कलाई महान विचार भन्दै पुज्दै छन् । यो विशेषता चाकरीबाजको महान शैक्षिक उपलब्धि हो । मालिक खुसी भयो भने नतिजा हातमा पर्छ ।
अकाट्य सत्य जंगबहादुर राणा चाकरीबाज विश्वविद्यालयका पहिलो ब्याची पहिलो विद्यार्थी हुन् । वहाँले देखाएको महान पथमा चाकरीको डिग्री र शासन सत्ता चलिरहेको छ । आजका जंगेहरू वहाँकै नियम पछ्याउँदै छन् । चाकरी डिग्री भएको मान्छे जुनसुकै सरकार आओस् जुनसुकै हाकिम बदलियोस् ऊ सधै अब्बल हुन्छ । किताबी ज्ञानले मान्छेलाई ज्ञानी बनाउला तर चाकरीको ज्ञानले मान्छेलाई महान र शक्तिशाली बनाउँछ । सुरक्षित गरी खाने शिक्षा चाकरी हो ।
चाकरहरु बहादुर हुन् । मालिकको कुकुर बिरामी हुँदा पनि फलफूल लिएर अस्पताल पुग्छन् । कार्यालयको काम छाडेर हाकिम्नीकोमा हाजिर गर्छन् । मालिकको भान्सामा के सकियो भनेर मालिक्नी भन्दा पहिले थाहा पाउँछन् । चाकरी प्रथा मुस्कान सहित झुक्ने सेवा हो । चाकडीबाज रसिलो फसिलो झुकिलो सेवा हो । चाकरका लागि राजा, मन्त्री, हाकिम जो सुकै होउन उसले भगवान सरह श्रद्धाभाव देखाउँछ । आरती उतार्छ । भजन कीर्तन गाउँछ ।




