बन्दले नसुने थप संघर्षका कार्यक्रम ल्याउँछौं : प्रदीप वली, सेक्रेटरी विप्लव नेकपा दाङ

(सरकारले पेट्रोलियम लगायतका अतिआवश्यक वस्तुमा गरेको मूल्य बृद्धिको जताततै विरोध भइरहेका बेला विप्लव नेकपाले भने कात्तिक ३० गते नेपाल बन्द नै गर्यो । मूल्य बृद्धिका विरुद्ध अरु कार्यक्रम गर्नु पर्नेमा किन नेपाल बन्द नै गर्नु पर्यो त ? भन्ने विषयमा  पत्रकार गोविन्द खड्काले विप्लव नेकपा दाङका  सेक्रेटरी प्रदीप वलीलाई  जिज्ञासा राखेका छन् । प्रस्तुत छ सोही कुराकानीको संक्षिपत अंशः सम्पादक ।)

१) मंगलबारको बन्द केका लागि थियो ?

हाम्रो बन्द सरकारले एलपी ग्यास र इन्धनमा अस्वाभाविक रुपमा मूल्य बढाएकोले त्यसका विरुद्धमा भएको हो । यसरी गरिएको मूल्य बृद्धा फिर्ता वा खारेजी हुनुपर्छ भनेका छौँ । यसले सर्वसाधारणको ढाड सेक्ने काम गरेको छ । दैनिक जीविकोपार्जनमा असर परेको छ । मजदूर पनि गाडी चढ्नुपर्छ । सामान्य व्यवसायी पनि मोटरसाइकल, अटो, स्कुटी चढ्नुपर्छ । होटलमा चिया समोसा खानुपर्छ । मूल्य बृद्धिको प्रभाव सबै क्षेत्रमा देखिने छ र आफ्नै सवारी चढ्नेदेखि सबैलाई प्रत्यक्ष असर गर्ने छ ।

२) तपाईंको मागको सरकारले सुनुवाई गर्छ त ?

यो सवाल हाम्रो पार्टीको मात्रै नभएर वास्तवमा आम नागरिकको माग थियो । कार्यक्रम आयोजना गर्दै सबैले सहयोग गर्नुहुन्छ भन्ने अड्कल गरेका थियौँ । सोचे अनुसार सबै आन्दोलित हुनुभयो र बन्दको कार्यक्रम पूर्ण सफल रहेको छ । हामीले जनतालाई झक्झक्याएका छौँ । सजिलो गरी नदिए संघर्ष गरेर प्राप्त गर्नुपर्छ भन्ने सन्देश दिएका छौं । राज्यलाई पनि ठूलो दबाव परेको छ । यत्रो जनसमर्थनको बन्द पछि दलाल सरकारले सुन्छ होला नै ।

३) बन्दले रोजगार, कलकारखाना, विद्यालय, मजदूर सबतिर क्षति भयो, उपलब्धी कसरी मापन गरौँ ?

सिधै मापन गर्दा त आज मजदूरका पाँच सय कमाई हरायो, उद्योगको माल उत्पादन भएन, सप्लायर्सले पठाउन सकेन भन्ने आउँछ । यो भन्दा ठूलो क्षति दलाल सरकारलाई भएको छ । उसको केन्द्रमा संकट पैदा गरेको छ । नागरिकहरु सबैले सरकारले मूल्य बढाएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले हाम्रो आवाज बोलिदियो भन्ने आशा पलाएको छ । सरकारप्रति अविश्वास पैदा भएको छ । यो सरकार जनपक्षीय रहेनछ भन्ने नागरिकले थाहा पाएका छन् । त्यसैले सरकार जनताप्रति उत्तरदायी बनोस् भनेर केन्द्र सरकारमा मार पार्न चाहेका हौँ । बन्दका क्रममा हाम्रा १९ जना कमरेडहरु गिरफ्तार पर्नुभयो । त्यसो गर्दा पनि हामीले बन्दकै दिन रचनात्मक काम गरेका छौं । तुलसीपुरमा जेब्राक्रस बनायौं, घोराहीमा सरसफाइ गर्यौं । हामी आन्दोलन र संघर्षबाट दुःख दिन चाहेका छैनौँ । रचनात्मक काम गछौँ । बाध्य भएर मात्रै बन्दको आह्वानगरेका हौँ ।

४) बन्दको विकल्प थिएन ?

हामी एक डेढ महिनादेखि संघर्षमा छौँ । प्रेस विज्ञेप्ती, ज्ञापन पत्र, मसाल जुलुस, जुलुस, सभा सम्मेलन गरेर मूल्य वृद्धि फिर्ताको माग गर्यौं । विगत चार पाँच महिनादेखि नै लगातार मूल्य बढिरहेको छ । हामीले पनि शान्तिपूर्ण तरिकाले फिर्ता गर्न आग्रह गरिरहेका छौँ । जति गरेपनि सरकारले सुनेन, हामीलाई टेरेन र जनताको निम्ति उहाँहरुकै समर्थनमा नेपाल बन्द गयौँ । यो सबैले रोजेको अन्तिम बाटो हो । आयल निगमले मूल्य बढाउँदा धेरै क्षेत्रका भाउ बढ्छ । हामीले टोटल मूल्य बृद्धिको विरुद्धमा संघर्षका कार्यक्रम अघि बढाएका छौँ । खाने तेलमा पनि अत्याधिक बढेको छ । दाल चामल लगायत जनजीविकाका सबै सवालमा सरकारको ध्यानाकर्षण गराउन चाहेका छौँ । मुल्य वृद्धि फिर्ता वा खारेजी हाम्रो माग हो ।

५) बजारमा मिसावटको कुरा छ, कालो बजारी छ रोक्ने केही उपाए छ ?

कालोबजारी रोक्न राज्यलाई जिम्मेवार बनाउने हो । उद्योग कलकारखानालाई सचेत पारिरहेका छौँ । हामीले सत्ता सञ्चालन गर्ने लक्ष्यका साथ आफ्ना संरचनाहरुको विकास गरिरहेका छौँ । मिसावट प्राविधिक पक्ष हो । हामी राजनीति मात्रै नभएर अरु क्षेत्रका विज्ञहरु पनि हुनुहुन्छ । सरकार चलाउन शक्तिसँग आवस्यक सबै चिज हुन्छ नै । अध्ययन अनुसन्धान अघि बढाएका छौँ । हाम्रो अनुरोधलाई बेवास्ता गरेमा आवश्यक कार्यक्रम बनाएर अघि बढ्छौँ ।

६) घोषित कार्यक्रम सकियो, माग पूरा नभए के गर्नुहुन्छ ?

यो बन्द केन्द्रीय कार्यक्रम अन्तर्गत भएको हो । वार्ताको पहल भएको छ भन्ने पनि आएको छ । केन्द्रले छलफल अन्तरकृया पनि गर्छ । हामीले भनेको मूल्य बृद्धि फिर्ता वा खारेज नभए चुप लागेर बस्दैनौँ । केन्द्रले अर्को संघर्षको कार्यक्रम बनाउँछ र त्यही अनुसार अघि बढ्छौँ ।

७) थप केही छ की ?

पेट्रोलियम पदार्थको मूल्य बृद्धिका विरुद्धको बन्दलाई सफल पार्न सहयोग गर्नुहुने पार्टी पंक्ति, सुरक्षाकर्मी, सञ्चारकर्मी, आम नागरिक सबैलाई धन्यवाद दिन चाहन्छौँ । यो सबैको एजेण्डा भएको छ । मूल्य बृद्धि फिर्ता नेपाल कम्युनिष्ट पार्टीको मात्रै सवाल रहेन । दलाल सरकारले महत्वका साथ हेरेर हाम्रा माग पूरा गरोस् र थप संघर्षका कार्यक्रम आउने वातावरण नबनावस् भन्न चाहन्छु । बन्द पूर्ण रुपमा सफल रहेको यहाँको अनलाइन पत्रिका मार्फत् जानकारी गराउँछु ।

 

यसमा तपाइको मत

अन्य समाचार