अमेरिकी मिलेयिम च्यालेञ्ज कर्पोरेसनका विरुद्धमा नेपालमा धेरै कार्यक्रमहरु भइरहेका छन् । एमसीसीका माध्यमबाट नेपालमा अमेरिकाले गर्ने लगानीका कारण नेपालको सार्वभौमसत्ता माथी संकट आउने देखेपछि यसको विरोध भएको हो । एमसीसीमा भएका सम्झौता लागू भएमा त्यसले नेपालको संविधानमाथी नै धावा बोल्ने किसिमको अवस्था आउने भन्दै जताततै यसको विरोध भइरहेका बेला सरकारसित वार्ता गरि शान्ति प्रकृयामा आएको विप्लव नेकपाले पनि एमसीसीको विरोधमा कार्यक्रम गरिरहेको छ । एमसीसीको विरुद्धमा यो पार्टी सबभन्दा शसक्तरुपमा लागेको देखिन्छ । अरु भन्दा एकचरण माथी उठेर एमसीसीका संरचनामाथी हमला गर्ने सम्मका कार्यक्रमहरु यो पार्टीले गर्दै आएको छ । यसैबीच आज नै यो पार्टीको सकृयतामा नुवाकोटमा रहेको एमसीसीले अधिग्रहण गरेको ३८४ रोपनी जग्गा कब्जामा गरिएको छ । राजनीतिक तहमा यस्ता खाले विरोधहरु भइरहेका बेला यो पार्टीले जग्गा नै किन कब्जा गर्यो त ? भनेर हाम्रा संवाददाताले सो पार्टीका नुवाकोट सेक्रोटरी सिर्जनसित सोधेका छन् । प्रस्तुत छ सोही कुराकानीको सार संक्षेप ।
नुवाकोटमा एमसीसीले लिएको जग्गा कब्जा गर्नु भएछ नि त ?
हो, हामीले एमसीसीले अधिग्रहण गरेको ३८४ रोपनी जग्गा कब्जा गरेका छौं । पार्टीको निर्देशन र स्थानीय जनताको साथमा पार्टीको भण्डा गाडेर हामीले त्यो जगगा कब्जा गरेका हौं । एमसीसीको प्रशारण लाइन बनाउने भनेर जग्गा सरकारले खरिद गरेको थियो । एमसीसीका बारेमा कुरा बुझेपछि जनता पनि सन्तुष्ट थिएनन् । सरकारले झुक्याएर यो जग्गा लिएको हो भन्ने पनि उनीहरुको भनाइ रहेको छ । एमसीसी भन्ने चिज राम्रो रहेन छ, पैसा अनुदान दिने नाममा अमेरिकाले सेना ल्याएर नेपालमाथी शासन गर्ने कुरा पो रहेछ भनेर जनताले कुरा बुझेपछि उनीहरु पनि एमसीसीको विरुद्धमा छन् । आम नेपाली जनताले एमसीसीका बारेमा जे बुझेर बोलिरहेका छन्, यहाँ जनताले पनि बुझेको र बोलेको त्यही कुरा हो ।
जग्गा कब्जा गर्ने काममा स्थानीयको सहभागिता कत्तिको पाउनु भयो ?
हामीलाई स्थानीय जनताको सहयोग र कार्यक्रममा जनसहभागिता राम्रो रह्यो । जनताकै लागि हामीले काम गरेकोले जनताको सहभागिता नहुने भन्ने कुरै भएन ।
अबको कार्यक्रम के छ पार्टीको ?
जनताको भावना विपरित यस्ता खाले देशघाती कामहरु राज्यले अगाडी नबढावस् भन्ने जनताको खबरदारी छ । राज्यले किनेको जग्जा जनताले नै उपभोग गर्न पाउनु पर्छ । जनता र हाम्रो पार्टीको यो खबरदारीलाई राज्यले बेवास्ता गर्यो भने हामी कडा ढंगले कार्यक्रम बनाएर अगाडी बढ्छौं ।
तपाईंहरुले यस्तो काम गर्दा त राज्यले धरपकड गर्ला नी त ?
पहिलो कुरा यो देशमा राज्य नै छैन । राज्य भएको भए त जनताले यो दुःख नै पाउने थिएन नी त ! त्यसकारण राज्यले होइन बरु यस्ता खाले गलत कामलाई जनताले मान्ने कि नमान्ने भन्ने कुरा पो हो त ! एमसीसी देशको हितमा छ कि छैन, जनताको हितमा छ कि छैन भन्ने पो मुख्य कुरा हो त । त्यसकारण आजको जनता एमसीसीको विरुद्धमा भएका कारण हामीले जनताको हितको लागि काम गर्नुपर्छ । राज्यले के गर्छ भन्नेतिर होइन, जनताले के चाहन्छ भन्ने कुरा मूख्य हो । जनताको हितमा र देशको स्वाधिनता बचाउनका लागि क्रान्तिकारी पार्टीले के चाहन्छ भन्ने कुरा मुख्य हो । त्यसकारण एमसीसी पास गर्ने कुराले राज्य जनता र देशको हितको पक्षमा छैन भन्ने कुरा स्पष्ट छ, त्यसकारण हाम्रो पार्टीले देशलाई विदेशीको कृडास्थल बन्नबाट जोगाउनका लागि संघर्ष गरिरहेका छ र यसमा जनताको साथ रहेको हो । यसबाट यो संसदीय व्यवस्थाबाट जनता सन्तुष्ट छैन भन्ने कुरा स्पष्ट भएको छ । त्यसकारण हामीले यो व्यवस्थाको विकल्प नै दिन खोजेका छौं । त्यो भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो ।
एमसीसीको जग्गा कब्जा गर्ने वा यसका विरुद्धका कार्यक्रमहरुमा अन्य पार्टी वा संघसंस्थाहरुपति तपाईंहरुको सहकार्य के कस्तो छ ?
आज कब्जा गरिएको जग्गा त हाम्रो पार्टीको योजनामा भएको हो । एमसीसीका विरुद्धमा मिलेर सहकार्य गर्ने विषयमा त अरु पार्टीहरु सित पनि छलफल भइरहेकै छ । अरु पार्टीहरु एमसीसी विरुद्ध मै छन् । बरु कांग्रेस र एमाले र माओवादीहरु यसरी जग्गा कब्जा गर्ने विषयमा सहमत हुने कुरा भएन । किन कि एमसीसी परिमार्जन गरेर एमसीसी पास गर्नु पर्छ भन्ने मनस्थितिमै उनीहरु आजसम्म पनि छन् । तर एमसीसी विरुद्ध आन्दोलनमा अन्य दलहरुसित भने हामी सहकार्य गर्छौं, गरिरहेकै छौं ।
थप संघर्षका कार्यक्रमहरु के के छन् ?
भावी योजनाको कुरा पार्टी केन्द्रको कुरा हो । हामीले त पार्टीको निर्देशनमा जनताको सहभागितामा आजको जग्गा कब्जाको कार्यक्रम गरेका हौं । हाम्रो जिल्लामा परेका कारण यहाँ हामीले गरेका हौं । तर यस्ता संघर्षका कार्यक्रमहरु देशव्यापीरुपमा नै गर्नुपर्छ । जनताको सहभागितामा गर्नुपर्छ र नेपालबाट अमेरिकी एमसीसीलाई खारेज गर्नैपर्छ भन्ने हाम्रो पार्टीको आम धारणा रहेको छ ।




