सिड्नी गोलीकाण्डमा साहस देखाउने नेपाली मूलका विकास भारतीलाई अष्ट्रेलियाको राष्ट्रिय वीरता पुरस्कार
२०८३ कार्तिक १३
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका बेला साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकृत विकास भारतीलाई राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको छ।
अस्ट्रेलियाको प्रहरी महासंघले बुधबार, अक्टोबर २८ मा क्यानबेरामा आयोजित समारोहमा भारतीलाई सन् २०२६ को संयुक्त राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरेको हो। उनीसँगै क्विन्सल्यान्ड प्रहरी सेवालाई पनि उक्त पुरस्कारबाट सम्मान गरिएको छ।
बुर्वुड प्रहरी क्षेत्रीय कमान्डमा कार्यरत सिनियर कन्स्टेबल भारती सन् २०२५ अक्टोबर ५ मा भएको गोलीकाण्डमा घटनास्थल पुग्ने सुरुवाती प्रहरी अधिकारीमध्ये एक थिए। गोली चलिरहेको जोखिमपूर्ण अवस्थामा उनले आफ्ना कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए भने घाइते सर्वसाधारणको उद्धारमा समेत सहयोग गरेका थिए।
पुरस्कार ग्रहण गर्दै भारतीले सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आउँदा यस्तो सम्मान पाउने कल्पनासमेत नगरेको बताए।
उनले आफूले प्राप्त गरेको सम्मानमा घटनाका बेला खटिएका प्रहरी सहकर्मीहरूको पनि योगदान रहेको उल्लेख गरे। प्रहरी सेवामा प्राप्त तालिम, सहकर्मीको सहयोग र विश्वासका कारण मात्रै आफूले उक्त भूमिका निर्वाह गर्न सकेको भन्दै उनले सम्मान सहकर्मीहरूसँग बाँड्न चाहेको बताए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संघीय संसद्मा भारतीको साहस र कर्तव्यनिष्ठाको प्रशंसा गरेका थिए।
न्यु साउथ वेल्स प्रहरी आयुक्त मल ल्यान्यनले क्रोइडन पार्कमा भएको घटनाका बेला भारतीले आफ्नो सुरक्षाभन्दा अरूको सुरक्षालाई प्राथमिकता दिएको बताए। उनले भारतीको कार्यले प्रहरी अधिकारीहरूले दैनिक रूपमा देखाउने साहस, प्रतिबद्धता र सेवाभावलाई प्रतिनिधित्व गरेको उल्लेख गरे।
भारतीले आफूलाई स्वागत गरेको र समुदायको सेवामा योगदान गर्ने अवसर दिएको देशको प्रहरी सेवामा काम गर्न पाउनु सौभाग्य भएको बताएका छन्।
