हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध
२०८३ कार्तिक १४
हेटौंडा । लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।
कान्ति लोकपथमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि सवारी सञ्चालनमा समस्या भएको हो । हेटौंडा—भीमफेदी—सिस्नेरी सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका—३ मा माथिबाट लेदो खसेर शनिबार बिहान ११ बजेदेखि बाटो अवरुद्ध भएको छ ।
सडकमा खसेको लेदो हटाउने प्रयत्न भइरहेको सडक विभागले जनाएको छ । वैकल्पिक मार्गका रूपमा फाखेल सडक र त्रिभुवन राजपथमा भने सवारी आवागमन भइरहेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका—८ गंगटे र ललितपुरको बागमती गाउँपालिका—४ पाङदुरेमा शनिबार बिहान गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।
कान्ति लोकपथको मकवानपुर र ललितपुर क्षेत्रको दुई स्थानमा पहिरो गएकाले बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो । शुक्रबारदेखि झरी परिरहेकाले माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । मकवानपुरतर्फको पहिरो पानी रोक्ने बितिक्कै हटाउन सकिने इलाका प्रहरी ठिगंनका निरीक्षक सुशान्त मिश्रले बताए । ललितपुरतर्फ ठ्लूो पहिरो खसेको उनले बताए । दुवै स्थानको पहिरो हटाउनका कान्ति लोकपथ सडक आयोजनाले समन्वय गरिरहेको छ ।
पहिरो गएकाले हेटौंडाबाट कान्ति लोकपथ भएर काठमाडौं गइरहेका सवारी साधन ठिगनमा रोकिएका छन् भने काठमाडौंबाट हिँडेका सवारी साधन छैमलेतर्फ रोकिएका छन् । झरी परिरहेको अवस्थामा कान्ति लोकपथ जोखिमयुक्त भएकाले मकवानपुरको प्रशासनले कान्तिलोकपथमा शुक्रबार र शनिबार राति सवारी साधन आउजाउ गर्न रोक लगाएको छ ।
