दुर्गेश बाबु , कलाकारको पारिश्रमिक दया होइन, श्रमको मूल्य हो : कार्की
२०८३ कार्तिक ११
काठमाडौँ । गायकद्वय आनन्द कार्की र दुर्गेश थापाबीच गीतको पारिश्रमिकलाई लिएर सामाजिक सञ्जालमा जुहारी चलेको छ । दुर्गेशलाई जवाफ दिँदै कार्कीले गीतको पारिश्रमिक समयमा नदिएको आरोप दोहोर्याएका छन् ।
एक टेलिभिजनमा अन्तरवार्ता दिँदै कार्कीले दुर्गेशको ब्लकबस्टर गीत ‘दुस्मन हेरेको हेर्यै’ मा आफूले पनि स्वर दिएको तर समयमा पारिश्रमिक पाउन नसकेको गुनासो गरेका थिए । साथै, एक चलचित्रको गीत गाउन लगाएर त्यसको पारिश्रमिक पनि दुर्गेशले नदिएको उनको दाबी थियो ।
जवाफमा दुर्गेशले एक विज्ञप्ति जारी गर्दै ‘दुस्मन हेरेको हेर्यै गीतको पारिश्रमिक आफूले दिइसकेको र चलचित्रको गीतमा आफू जिम्मेवार नहुने बताए । त्यसको जवाफमा आज कार्कीले फेरि प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले दुर्गेशलाई ‘बाबु’ सम्बोधन गरेका छन् ।
पारिश्रमिक कुनै दया वा उपकार नभई उसको श्रमको न्यायोचित मूल्य भएको उनको भनाई छ । आफूले गाएको गीतको पारिश्रमिक पाउन करिब एक वर्ष कुर्नुपरेको कार्कीले बताएका छन् । आफ्नै भाइजस्तो ठानेर सुरुमा धैर्य गरे पनि पटक-पटक फोन, एसएमएस र मेसेन्जरमार्फत सम्पर्क गर्दासमेत समयमै समस्या समाधान नभएको उनको विज्ञप्तिमा उल्लेख छ ।
पारिश्रमिक अन्ततः प्राप्त भए पनि त्यसका लागि करिब एक वर्ष कुर्नुपरेको यथार्थ महत्त्वपूर्ण छ,’ कार्कीले भनेका छन्, ‘कलाकारले आफ्नो श्रमको मूल्य पाउन यति लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थालाई सामान्य व्यावसायिक अभ्यास मान्न सकिँदैन । मेरो असन्तुष्टि रकममा मात्र होइन, भुक्तानीमा भएको ढिलाइ र संवादको अभावसँग सम्बन्धित छ ।’
यो विवादमा चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतले पहलकदमी लिएका छन् । कार्कीका अनुसार बस्नेतले फोन गरेर चलचित्रका लागि दुर्गेशलाई डेढ लाख रुपैयाँको प्याकेज दिइएको र कार्कीले पारिश्रमिक नपाएको विषय आफूले भर्खर मात्र थाहा पाएको बताएका थिए । बस्नेतले पारिश्रमिक भुक्तानीका लागि क्यूआर कोड मागेपछि आफूले पठाइसकेको कार्कीले जानकारी दिएका छन् ।
यद्यपि यो घटनाले चलचित्र र सङ्गीत क्षेत्रमा काम सम्पन्न भएपछि पारिश्रमिक भुक्तानीको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्न उब्जाएको कार्कीको भनाइ छ ।
दुर्गेश थापालाई उनले भनेका छन्, ‘दुर्गेश बाबु, तिमीप्रति मेरो माया, शुभकामना र आशीर्वाद आज पनि यथावत् छ । तिमी अझ सफल बन, तर सफलतासँगै अरूको श्रमप्रतिको सम्मान, वचनप्रतिको प्रतिबद्धता र व्यावसायिक जिम्मेवारी पनि उत्तिकै बलियो बनोस् ।
