लेख्दै लेख्दै जाने हो
लेखिरहने पनि हो
मिले पनि नमिले पनि
बनाउने क्रममा
मनमा उब्जिएको थेगो मात्र हो
बन्न नसकेका कविताहरू ।
(राजेन्द्र गोपाल सिंह, बन्न नसकेका कविताहरू पेज ५६)
यस्तै भावना पोख्न सिपालु राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरू नामक कविता संग्रह हालै प्रकाशित भएको छ । यस संग्रहमा लामा–छोटा गरि ५१ वटा कविताहरू रहेका छन् । प्रत्येक कविता केही न केही सन्देश दिने खालका छन् ।
विचारहरू फुलेका छन्
छिमेकीहरूले
बिगारेको भन्दै
छिमेकीकै विचार
फैलाइरहेका छन् ।
(राजेन्द्र गोपाल सिंह ,बन्न नसकेका कविताहरू, पेज ३४)
यस्तै देशप्रेमले ओतप्रोत भएका सटिक कविताहरू यस संग्रहमा रहेका छन् । हुन त कवि राजेन्द्र गोपाल सिंह सितिमिति कविता लेख्दैनन् । कविता लेख्नलाई उनको मुटुलाई ढक्ढक्याउनु पर्छ ।
उनी एक संग्रहकर्ता पनि हुन् । चाहे त्यो पुराना बस्तु होऊन् वा चाहे त्यो पत्रपत्रिकामा छापिएका मुटु छुने लेखहरू नै किन नहोऊन् उनी संग्रह गर्छन् । उनी आफू मात्र लेख्दैनन्, अरुलाइ समेत लेख्न झक्झक्याउँ छन् । त्यसैले उनी पाल्पा साहित्य समाजका संस्थापक सचिव र त्यसपछि अध्यक्ष समेत भइ हाल संरक्षकका रूपमा रहेका छन् ।
विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्दै साहित्यमा हाम्फालेका सिंहका प्रकाशित कृतिहरू सम्झनामा पोखरेली सर्जकहरू ( २०७६), पाल्पाको साहित्यिक इतिहास ( सहलेखन २०७९), बन्न नसकेका कविताहरू (कविता संग्रह २०८२) हुन् । यसको अलवा उनका थुप्रै रचनाहरू विभिन्न पत्रपत्रिका एवं संङ्गालोहरूमा प्रकाशित भएका छन् ।
वि.सं. २०२२ साल पुस १२ गते तानसेन ३, पाल्पामा जन्मेका सिंह अझै जवान छन् ।
। एक कविताको अंश :
शान्ति बन्दुकमा हुँदैन
शान्ति तरबारमा हुँदैन
शान्ति शक्तिमा हुँदैन
शान्ति कलममा हुन्छ
शान्ति प्रेममा हुन्छ
शान्ति हृदयमा हुन्छ
(बन्न नसकेका कविताहरू पेज १७) ।
हिजो सडकमा थियौ
आज सदनमा छौ
म र मेरोमा
पुरुषार्थ देखिरहेका छौ ।
(बन्न नसकेका कविताहरू पेज २३) ।
प्रेमदेखि धोकासम्म
भ्रष्टदेखि राष्ट्रसम्म
समर्थनदेखि बिरोधसम्म
सम्झौताहरू देखिए
त्यति मात्र कहाँ हो र
सम्झौताका बिरोधीहरूमा पनि
सम्झौताहरू भेटिए
(बन्न नसकेका कविताहरू पेज २५ ।
उनले साहित्यको माध्यमबाट पाल्पा क्षेत्रको अझै भनौं सिंगो राष्ट्रको भाषा, कला, संस्कृति, इतिहास र पर्यटनको जागरणका लागि सामाजिक, साँस्कृतिक र साहित्यिक अभियान्ताको रूपमा कार्य गरिरहेका छन् । पाल्पा संग्रहालय उनले त्यस क्षेत्रको पहिलो संग्रहालय रूपमा स्थापना गरेका छन् ।
राजेन्द्र गोपाल सिंह राजनीतिलाई यसरी व्यंग्य गर्छन् :
तिम्रो
स्वार्थबाट
आरम्भ हुन्छ
र मेरो स्वार्थमा अन्त्य हुन्छ
(बन्न नसकेका कविताहरू पेज २५) ।
पहिला नेता
नेता जस्तै थिए
अहिले नेता
अभिनेता जस्तै भएका छन् ।
(बन्न नसकेका कविताहरू पेज ५३) ।
राजेन्द्र गोपाल सौन्दर्य र प्रेम सम्बन्धि कविताहरू थोरै लेख्छन् । थोरै कवितामा पनि गहकिला भावका कविताहरू हुन्छन् ।
एक कविताबाट हेरौं
प्रेम मात्तिएको बैंस हो
प्रसंशाबाट सुरु हुन्छ
रहरमा पुगेपछि
गालीमा अन्त हुन्छ !
(बन्न नसकेका कविताहरू पेज ४९) ।
प्रेममा
प्रेमिकाले सर्वस्व गुमायो
प्रेमीले सर्वस्व कमायो
(बन्न नसकेका कविताहरू पेज ५०) ।
उनी शान्तिका पुजारी पनि हुन् । शान्तिलाई सधैभरी आत्मसात गर्दै हिंडिरहने अथक योद्धा भने पनि हुन्छ । उनकै शब्दमा :
बुद्धको आँगनमा
जन्मेको
नागरिक हुँ म
स्वाभिमान र नैतिकताको
कुरा गरेर
कहिल्यै नथाक्ने
(बन्न नसकेका कविताहरू पेज १८) ।
प्रस्तुत कविता संग्रह परम्परागत कविता शैलीमा नभई पृथक संग्रहनीय कविता संग्रह बनेको छ । तत्कालीन समयको सामाजिक, राजनीतिकलाई व्यंग्य गर्दै नागरिकहरूलाई सुसूचित गर्न सिपालु कविको रूपमा राजेन्द्र गोपाल सिंहको परिचय बनेको छ । उनका कविता नैतिक मूल्य र मान्यताको पक्षमा समेत रहेका छन् ।
नैतिक शिक्षा पढाउनु हुन्छ
नैतिक बन्न सिकाउनु हुन्छ
तर नैतिकता भने बिर्सनु हुन्छ
(बन्न नसकेका कविताहरू पेज २२) ।
देशप्रेमबाट ओतप्रोत भएका कविताहरू पनि उनको बिषयबस्तु रहेको छ ।
जब सीमानाको कुरा उठ्छ
चिन्ता र चासो मात्र सुनिन्छ
समाधान कहिँ भेटिंदैन
कुराहरूले मात्र छेकिरहन्छ
(बन्न नसकेका कविताहरू पेज २१) ।
उनको कविता संग्रह पढौंपढौं लाग्ने, पढ्न सुरु गरेपछि अन्त्यसम्म पढ्नैपर्ने संग्रह बनेको छ । सरल भइकन सरस छ । त्यति नै सहजता पनि छ । उनका कविताको यात्रा र मार्ग फराकिलो हुँदै जाओस् । कवि राजेन्द्र गोपाल सिंहलाई हार्दिक बधाई र शुभकामना छ । आगामी दिनहरू पनि यस्तै गहकिला र ओजनदार कविता संग्रहको प्रतीक्षामा छु ।




