डेढ महिनापछि टरिगाउँमा निगमको जहाज
नेपाल प्रेस २०८३ भदौ २६
तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।
मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुुसालको भनाइ छ । “मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ”, उनले भने ।
उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा रु १२ हजारबराबर छ । हवाई सेवा बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा उपलब्ध हुने भुसालले बताए।
टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
वि.सं २०११ सालमा नै स्थापना भएको यो विमानस्थल हाल सम्म पनि स्तरोन्नती भएको छैन ।




