एलर्जी भनेको शरीरले कुनै तत्वसँग चाहिने भन्दा बढी ‘रियाक्ट’ गरेको भन्ने हो । एलर्जी नाकमा हुन्छ,घाँटीमा हुन्छ,छालामा हुन्छ भने कसैलाई रातो दाग आउने पनि हुन्छ । जस्तै नाकमा बढी ‘रियाक्ट’ भयो भने हाछ्यँु आउने,धेरै पानी बग्ने हुन्छ । त्यसले गर्दा नाक बन्द हुने र खोकी लाग्ने हुन्छ ।
एलर्जी नाकको पनि हुन्छ र घाँटीको पनि हुन्छ । नाक र घाँटी दुवैको एलर्जीले खोकी लाग्छ । नाकको एलर्जीले गर्दा पातलो सिंगान नाकको पछाडिबाट खसेर घाँटीमा आउँछ । त्यसले गर्दा खसखस हुन्छ अनि खोकी लाग्छ । घाँटीकै एलर्जीले पनि खोकी लाग्छ । ग्याष्ट्रिकले गर्दा एसिडमाथि आउँदा घाँटी खसखस हुन्छ अनि सुख्खा खोकी लाग्छ । खोकी त लागेको छ तर ‘कफ’ आएको छैन भन्ने चलन छ । हुनत ‘कफ’ भनेकै खोकी हो । तर नेपालीहरूले यसलाई खकार भनेर बुझ्छन् । खोकी लागेको छ तर कफ आएको छैन भनेको सुख्खा खोकी हो ।
घरमा हुने धूलोको कारणले सबभन्दा बढी नाकको एलर्जी हुन्छ अनि खोकी लाग्छ । बसन्त ऋतुमा फुल्ने फुलका कारणले पनि एलर्जी हुन्छ तर नेपालमा यो समस्या एकदमै न्यून छ । यो समस्या छोटो समयका लागि मात्रै हुन्छ । घाँटीको कारणले मात्रै खोकी लाग्ने होइन नाकमा समस्या आएर,ग्याष्ट्रिकको कारणले पनि लाग्छ । पिनास भएर छातीमा समस्या आयो भने पनि खोकी लाग्छ । आस्तुमा एक किसिमको एलर्जी हो जसले गर्दा सुख्खा खोकी र खोकी दुवै लागिरहेको हुन्छ। एलर्जी धूलो,धूँवा र प्रदूषणले गर्दा पनि हुन्छ ।
एलर्जीबाट जोगिनका लागि एलर्जी केले गर्छ थाहा पाउनुपर्ने हुन्छ र आफूलाई कुन एलर्जी भएको छ भन्ने कुरा थाहा पाउन सकियो अनि परीक्षण गरियो भने एलर्जीको पहिचान हुन सक्छ । एलर्जी हुनाको कारण पहिचान गरियो भने एलर्जीलाई निदान गर्न सकिन्छ जोगिन पनि सकियो । यसको परीक्षण गर्ने विभिन्न उपायहरू छन् ।
नाक र घाँटीको एलर्जी भएको कारण पत्ता लगाउन छालामा सम्भावित एलर्जी गर्ने तत्वहरू प्रिक गरेर हेर्न सकिन्छ । यसलाई स्क्रिन प्रिक टेष्ट भनिन्छ । यसो गर्दा के कारणले एलर्जी भएको हो पत्ता लगाउन सकिन्छ । एलर्जी के कारणले भएको हो भनेर पत्ता लगाउनु पर्छ । एलर्जीको कारण पत्ता लगाएर त्यसलाई दबाउने औषधि खानुपर्छ। यसलाई इमिनो थेरापी भनिन्छ। त्यस्तै, बढी रियाक्सनलाई रोक्ने औषधि पनि खान सकिन्छ ।
एलर्जी हुने तत्वबाट जोगियो भने खोकीबाट पनि जोगिन सकिन्छ। त्योसँग जोडिएको अरु समस्याबाट पनि जोगिनु पर्छ ।
सुख्खा खोकी नै बढी लाग्ने हुन्छ । धेरै हाछ्यँु आउने नाकबाट पानी बग्ने घाटी सफा गरिरहन पर्ने भयो भने एलर्जीको कारण हो भनेर भन्न सकिन्छ। त्यही आधारमा परीक्षण गर्ने अनि औषधि गर्ने गर्नुपर्छ ।
कसै–कसैलाई खानको एलर्जी पनि हुन्छ । तर यस्तो एलर्जीले पेटमा बढी असर गर्छ । यो खानेकुरासँग भन्दा पनि श्वासप्रश्वाससँग सम्बन्धित भएको हुनाले खानेकुराले धेरै असर गर्दैन । धेरै चिसो खाना र चिसो मौसमले एलर्जीको सुरूआत गराइदिन सक्छ । तर चिसो नै मुख्य कारण भने हुँदैन ।
लापरबाही गर्यो भने यो समस्या रहिरहन्छ। संक्रमणले गर्दा नाकलाई हानी गर्न सक्छ । यसैको कारणले नयाँ र डरलाग्दा रोग आउँदैन । तर यो आफैंमा एउटा समस्या हो यसले गुणस्तरीय जीवनशैलीलाई असर गर्छ । विद्यार्थीले पढ्न सक्दैन भने काम गर्नेहरूले खुसीसाथ काम गर्न सक्दैन। जसले गर्दा मानिसको व्यवसायिक जीवनलाई घाटा पुर्याउँछ त्यसैले उपचारका लागि चिकित्सकलाई भेटेर सल्लाह लिनुपर्छ र आवश्यक उपचार गर्नुपर्छ ।




