काठमाडौं । विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)ले भोलि जेठ ५ गतेका लागि आयोजना गरेको शैक्षिक आम हड्ताल फिर्ता लिएको छ । क्रान्तिकारीका अध्यक्ष रिचिन्जिबी ढकाललाई गिरफ्तार गरेको विरोधमा उनको रिहाइको माग राख्दै शैक्षिक सस्था बन्द आह्वान गरिएको थियो ।
क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई शनिबार एक प्रेस बिज्ञपति जारी गर्दै बन्द फिर्ता लिएको जनाएका छन । अध्यक्ष ढकाल शुकवार रिहा भएपछि बन्द फिर्ता लिइएको बिज्ञपति मार्फत जनाइएको छ ।
देशैभरी आफ्नो सङ्गठनको आव्हानमा लाखौं विद्यार्थीहरुले गरेको संघर्षको बलमा सरकार अध्यक्ष ढकाललाई रिहा गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै ढकालको रिहाइको निम्ति संघर्ष गर्ने विभिन्न विद्यार्थी सङ्गठनहरु, नेपाल बार एसोसिएसन, ललितपुर बार, पत्रकार, बुद्धिजीवी, मानवाधिकारदावी लगायत सबैलाई क्रान्तिकारीले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, देशैभरी हाम्रो सङ्गठनको आव्हानमा लाखौं विद्यार्थीहरुले गरेको संघर्षको बलमा दलाल सरकार उहाँलाई रिहा गर्न बाध्य भएको छ ।
अध्यक्ष कमरेडको रिहाइको निम्ति संघर्ष गर्ने विभिन्न विद्यार्थी सङ्गठनहरु, नेपाल बार एसोसिएसन, ललितपुर बार, पत्रकार, बुद्धिजीवी, मानवाधिकारदावी लगायत सबैलाई हाम्रो सङ्गठन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
ढकाल रिहा भए पनि संगठनका केन्द्रिय सचिवालय सद्स्य पुस्प न्यौपाने, केन्द्रिय सदस्य मदन चन्द, प्रेम शाही विभिन्न जिल्लाका जिल्ला अध्यक्ष र देशभरबाट दुईदर्जन बढी बिध्यार्थी नेताहरू भने अझै प्रहरीकै हिरासतमा रहेका छन ।
आइतबारको शैक्षिक हडताल फिर्ता लिए पनि गिरफ्तार आफ्ना अन्य नेता कार्यकर्ताहरुलाइ रिहा नगरे पुनः संघर्षका कार्यक्रम सार्बजनिक गर्ने क्रान्तिकारीले जनाएको छ ।




