मोबाइल र कम्प्यूटरमा धेरै नहेर्नुस, ‘भिजन सिन्ड्रोम’ रोग लाग्न सक्छ

पत्रपत्रिकाबाट

काठमाडौं । पछिल्लो समय लामो समयसम्म कम्प्युटर र मोबाइलमा काम गर्ने गर्दा मानिसहरुमा आँखामा ‘भिजन सिन्ड्रोम’ को समस्या बढ्दो क्रममा देखिने गरेको छ ।

कम्प्युटर या मोबाइल नियमित प्रयोग गर्नेहरुको आँखामा असर गरिरहेको आँखा रोग विशेषज्ञहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालको आँखा विभागका आँखा रोग विशेषज्ञ डा. सजिव भट्टराइले लामो समयसम्म मोबाइल र कम्प्युटरमा बस्ने मानिसमा ‘भिजन सिन्ड्रोम’ को समस्या देखिने गरेको बताए ।

“पछिल्लो समय आँखाको समस्या लिएर उपचार गर्न आउनेमा एक हजारजना बिरामीमध्ये २० प्रतिशतमा ‘भिजन सिन्ड्रोम’ को समस्या देखिने गरेको पाइएको छ,” उनले भने, “यो सिन्ड्रोम भएमा टाउको दुख्ने, आँखाबाहिर निस्कन खोजेजस्तो हुने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुख्खा हुने, आँखा चिम्म गरेर बसौंजस्तो हुनेलगायत लक्षणहरु देखिन्छन् ।”

‘भिजन सिन्ड्रोम’का कुनै पनि लक्षणहरु समयमा व्यवस्थापन गर्न नसकेमा लामो समय सताउने डा. भट्टराई बताउँछन् । हामीले ६० मिनेट निरन्तर कम्प्युटरमा काम गरेपछि ६० सेकेन्ड आराम गनुपर्छ भने ६० मिटर टाढा बस्नुपर्छ । यदि दुई घण्टा निरन्तर काम गरेको अवस्थामा आँखालाई पाँचदेखि सात मिनेट आराम गरी ३० मिटर टाढा बस्नुपर्ने डा. भट्टराईको भनाई छ ।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका डा. रोहित सैंजु पछिल्लो समय बढ्दो प्रविधिका साधनको प्रयोगसँगै आँखामा विभिन्न समस्या देखिने गरेको बताए । ‘भिजन सिन्ड्रोम’को समस्या भएर विद्यार्थी, किशोर–किशोरी, विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी तथा पेसागत समूह टाउको दुख्यो भनेर अस्पताल पुग्ने गरेका छन्” उनले भने, “यो समस्याबाट चिकित्सकसमेत अछुतो छैनन ।

पहिला–पहिला बिरामीसँग चिकित्सकले आँखा जुधाएर कुरा गर्थे तर, अहिले बिरामीको अभिलेख राख्दा आँखा कम्प्युटरमा हुन्छ ।”

यसमा तपाइको मत

अन्य समाचार