चलचित्रमा देखिने सबै दृश्यहरु के मानिसले कलाको रुपमै गर्न सम्भव छ त ? छैन । झण्डै २ देखि ३ घन्टाको चलचित्रको समयमा मानिसको जीवनमा अनेक र अनौठा घटनाहरु हुन्छन् । तर सबै घटनाहरुलाई कलाकोरुपमा मात्रै देखाउन सम्भव हुँदैन ।
त्यसकारण त्यसलाई प्रविधिको माध्यमबाट पुरा गरेर सम्भव जस्तै बनाएर देखाउने गरिन्छ । त्यही कलालाई भिजुअल इफेक्ट आर्ट भनिन्छ । यही कलालाई पेशा बनाएर यसमै व्यस्त छन् कलाकार अच्यूत बजगाँई । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ३ नयाँगाउँका अच्युत सन् २०११–२०१२ देखि यो क्षेत्रमा लागेका हुन् ।
चलचित्रमा देखिने मान्छेले गर्न असम्भवजस्तै दृश्य निर्माणको कला भएका बजगाँई यतिबेला मिडियामा चर्चाको विषय बन्न थालेका छन् । उनमा अन्तरनीहित यस्तो कलाका कारण उनी चर्चाको विषय बनेका हुन् । उनको यस्तो कलाको विषयमा धेरै मिडियाले ठाउँ दिने गरेका छन् ।
यो काममा कम्युटरको सहायताले उनले त्यो दृश्य निर्माण गर्छन् । भिएफएक्स कलाको प्रयोग गरेर यस्तो दृश्य निर्माण गर्न सकिन्छ । चलचित्रमा देखिने अचम्मका दृश्यहरु जस्तै गाडी जलेको, बमले गाडीहरु उडाएको तथा यता स्पाइडर मेन जस्ता विद्युतीय खेलहरुमा यो कलाको प्रयोग गरिने उनको भनाइ रहेको छ ।
त्यस्तै यो कलाको प्रयोग गरेर विज्ञापन तथा डकुमेन्ट्रीहरु बनाउन पनि सकिन्छ । २०६८ सालमा एसएलसी पास गरेपछि काठ्माडौं छिरेका अच्युत यो सीप सिक्ने कममा हात हालेको बताउँछन् । त्यतिबेला भर्खरको किशोर अवस्थाका उनलाई यसबारेमा शुरुमा खासै जानकारी थिएन । तर यही काममा लामो समयदेखि लाग्दै आएका अक्की शर्माले बनाएको यस्तै दृश्य हेर्दा–हेर्दा आफूले पनि सिक्न थालेको उनी बताउँछन् । उनै शर्मालाई अच्युतले यसकामको गुरु मान्छन् र प्रेरणाको श्रोत पनि ।
खासगरी हाल विभिन्न चलचित्रमा यस्तै दृश्य निर्माणको कला भर्ने काममा व्यस्त अच्युतले हालसम्म दुईदर्जन जति फिल्ममा यस्तो दृश्य बनाउने काम गरिसकेका छन् । उनका अनुसार प्रेमलीला, ए मेरो हजुर, बाटोमुनीको फूल,छिरीङ, बीराङ्गना,जय शम्भू, कायरा, पोखराकी काली, पटुकी आदी नेपाली चलचित्रमा उनले यही भिजुअल इफेक्ट आर्ट प्रयोग गरेर त्यस्तो दृश्य निर्माण गरेका छन् ।
यो कामबाट भएको कमाइले अस्तुष्ट हुनुहुन्छ त ? भन्ने प्रश्नमा अच्युत भन्छन्, कामको आधारमा पैसा आउने हो, सन्तुष्ट छु । काम गर्न गाह्रो छ तर शान्त वातावरणमा काम गर्न सकिने उनको अुनभव रहेको छ । यो काममा चलचित्रमा कलाकारले गर्न नसक्ने र द्धन्दकाक्रममा देखाउनु पर्ने अचम्मका दृश्यहरु जस्तैः गाडी बमले उडाएको, मान्छेले अग्लो स्थानबाट हाम फालेको,काटमार गरेको जस्ता दृश्यहरु यही भिएफएक्स कलाको प्रयोग गरेर नै बनाउने गरिन्छ ।
यो कलाको बारेमा धेरैलाई जानकारी नभएपनि हालका धेरै नेपाली चलचित्रहरुमा यो कलाको प्रयोग गरिएको उनको भनाइ रहेको छ । उनको बुझाइमा करिव ८,१० वर्ष अघिदेखि नेपाली चलचित्रहरुमा यो कलाको प्रयोग गर्न थालिएको हो । यस कार्यमा खासगरी क्रोमा कटिङ रोटो अर्थात् पछाडीको दृश्य फालेर अर्को दृश्य थप्ने कार्य हुन्छ । नेपालमा यो क्षेत्रमा काम गर्नेहरु धेरै छैनन् । थोरै र औंलामा गन्न सकिले कलाकारमध्य उनीपनि हुन् ।
उनलाई यो क्षेत्रमा यति जानकार हुन्छु होला भन्ने नलागेको भएपनि उनी हाल यो क्षेत्रमा उत्कृष्ट ४,५ जनामा पर्दछन् । अच्युतले हाल पनि काँडेतार, सिमाना र माया के होला ? जस्ता नेपाली चलचित्रमा भिएफएक्स विधिबाट त्यस्ता अनौठा दृश्य राख्ने काम गरिरहेका छन् ।




