सामाजिक सञ्जाल र मिडियामा आत्महत्याका घटनालाई प्राथमिकता दिनु हुँदैन

संकल्प संवाददाता

नेपालमा आत्महत्याको क्रम दिनानुदिन बढ्दैछ । यसले कुनैदिन अझ विकराल रुप लिने खतरापनि त्यत्तिकै छ । सामान्यतया विभिन्न नकारात्मक कुराहरुलाई मनमा लिएर संसारमा बाँच्नुको औचित्य नदेखि आफैले आफैलाई हत्या गर्नुलाई आत्महत्या भन्ने गरिन्छ । यसबारेमा एकजना अग्रजले नेपालको वर्तमान पत्रकारितामाथि नै प्रश्न उठाउँदै टिप्पणी गर्नुभयो । खासगरी भर्खरै बामेसर्दै गरेको नेपालको अनलाइन पत्रकारिमाथि उहाँले आलोचनाका कडा शब्दहरु खर्चनु भयो ।

अनलाईन मिडियाहरुले आत्महत्याको समाचारलाई प्राथमिकतामा राखेर आत्महत्यालाई दुरुत्साहन गरेका छन्, उहाँको आरोप थियो । समाचार दिँदैमा कसरी आत्महत्या गर्न दुरुत्साहन भयो ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘आत्महत्याको समाचारमा आत्महत्या रुखमा वा घरभित्रैपनि पंखामा झुण्डिएर गर्नुपर्छ भन्ने सन्देस हुन्छ, या आत्महत्यास्थलमा भएको औषधी हुन्छ त्यसले आत्महत्या यसरी गर्नुपर्छ भनेर अहिलेका बालबालिकालाई सिकाइरहेको छ ।’

उसोभए राम्रोकालागि कसरी समाचार लेख्ने त भन्ने प्रश्नमा उहाँको जवाफ थियो,आत्महत्या गर्नु गलत हो, आत्महत्या गर्ने ब्यक्ति कायर भएकोले परिवार,समाज र देशकैलागि केही गर्नपर्छ भन्ने सोंच सहितको सन्देस प्रवाह हुनेगरी समाचार लेख्नुपर्ने र समाचारपत्रमा आत्महत्या गरेको तस्वीर पनि राख्न नहुने उहाँको विचार थियो ।

पछिल्लोपल्ट सार्वजनिक भएको एक तथ्यांकअनुसार नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्छन् । यो तथ्यांक सत्यको नजिक कति छ ? त्यो त थप अनुसन्धानको विषय हुनसक्ला तर नेपालमा आत्महत्याका घटनामा भने तिब्रतररुपमा बृद्धि भइरहेको छ । सामाजिक सञ्जाल र अन्य मिडियाहरुमा आत्महत्याको खबर दिनकै आइरहेकै छन् ।

भनिन्छ, प्रत्येक आत्महत्याले एक सय ३५ व्यक्तिहरुको दिमागमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । साथै अनलाइनहरुमा छापिएका समाचारहरुमा जनाइएका तथ्यांकहरुलाई आधार मान्ने हो भने पनि आत्महत्या वा यसको प्रयास पुरुषको तुलनामा महिलाले बढी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–०७६ मा पाँचहजार सातसय ५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन भने आर्थिक वर्ष २०७४–०७५ मा पाँचहजार तीनसय ४६ जनाले ज्यान गुमाएको समाचार बाह्रखरी अनलाइनले छापेको छ ।

जसमा प्रतिवर्ष ३.७ देखि १०.३ प्रति एकलाखमा आत्महत्या भएको देखिन्छ । आत्महत्याको प्रकृति हेर्दा नेपालमा झुन्डिएर र विष सेवनबाट आत्महत्या गरेको देखिन्छ । खासगरी विभिन्न कारणहरुले गर्दा उत्पन्न हुने तनाव, बेरोजगारी समस्या, झै–झगडा ,पारिवारिक असंवेदनशीलता, दीर्घरोगी हुनेहरु, लागुपदार्थ सेवनकर्ताहरु र निरन्तरको असफलताका कारण समाजबाट अलग्गिएको महसुस गर्ने मानिसहरु आत्महत्याको उच्च जोखिममा रहने गरेको यसक्षेत्रको अनुसन्धानमा लागिपरेका विज्ञहरु बताउँछन् ।

साथै आत्महत्याको गर्नेहरु मानसिक रोगले ग्रस्त भएकाहरु रहेकोपनि पाइएको छ । यसलाई रोक्नकोलागि समाजका सबै सचेत सबै नागरिकहरु लाग्नुपर्छ । यस्तो कार्य रोक्नकोलागि निम्नलिखित कुराहरु प्रचारमा आएका छन् र यिनलाई हामीले ध्यान दिनैपर्छ । आत्महत्या कम गर्न माथि भनिएअनुसार आत्महत्यालाई सामाजिक कलंककोरुपमा प्रचार गर्ने र यसो गर्नुको सट्टा समाधानको विकल्प खोज्नेमा मानिसहरुलाई प्रेरित गर्नेगर्नु पर्छ ।

सामान्य कारणले मानसिक समस्या आउन नदिन नियमित ध्यान तथा योग गर्नुपर्छ । आत्महत्या गरेका ब्यक्तिहरुको बारेमा धेरै प्रचार गर्नु आवश्यक छैन । आत्महत्यामा कमी ल्याउन जनचेतनामुलक काम गरिरहनु पर्छ । आत्महत्या गरिएको स्थानको तस्वीर सहितको जानकारी गराउनु हुँदैन । समाचार बनाउँदा पत्रकारले यसबारेका ध्यान पुर्याउने गर्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार