नारायणगढस्थित चितवन मेडिकल कलेजका विद्यार्थीले अघि बढाएको आन्दोलनप्रति विप्लव नेकपाले ऐक्यबद्धता जनाएको छ । सो पार्टीको चितवन जिल्ला कमिटीले आइतबार विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेज (सीएमसी) को होस्टेलको क्यान्टिनमा पेस्तोल फेलापरेको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त घटना षड्यन्त्रपूर्ण र आपराधिक रहेको निष्कर्ष पनि निकालेको छ ।
नेकपा चितवनका इन्चार्ज शार्दूल र सेक्रेटरी विजय शर्माद्वारा जारी विज्ञप्तिमा २०७६ साल मङ्सिर ७ गते चितवन मेडिकल कलेजको होस्टेलको क्यान्टिनमा पेस्तोल फेलापरेको भन्ने समाचारप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै मेडिकल माफियाहरूले विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क लिई लुटिरहेको बेला विद्यार्थीहरूले माफियाका विरुद्ध आन्दोलनमा पार्टीको समर्थन र ऐक्यबद्धता रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले उठाएको जायज माग पूरा गर्नुको सट्टा प्रहरी प्रशासन र सीएमसी कलेज प्रशासनको मिलोमतोमा क्यान्टिनमा आफैँ पेस्तोल राखी कलेजको छात्रावासमा हतियार भेटिएको हल्ला गरेर विद्यार्थीलाई फसाउन खोज्ने षड्यन्त्रकारी सरकार र यसका मातहतका निकायको बहुलट्ठीपूर्ण हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’
‘जनतालाई ठग्ने मेडिकल माफिया र षड्यन्त्रको योजना बनाउने दलाल सामाजिक फासिवादी सरकारको प्रहरी प्रशासनको आपराधिक गतिविधिका विरुद्ध आन्दोलन गर्न सबै जनसमुदायमा अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।




