प्राविधिक शिक्षाबिना आर्थिकस्तर बृद्धि गर्न कठिन छ

सिद्धार्थ नेपाली

देशको समग्र विकासको लागि र उच्चस्तरको सामाजिक र पारिवारिक सम्मानका साथ अलग पहिचान बनाउन र उज्वल भविष्य निर्माण गर्न गुणस्तरीय शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । त्यसमध्यमा प्राविधिक शिक्षा एउटा प्रमुख आधार स्तम्भ हो भन्ने कुरा संसारका धेरै देशहरूको अनुभवले देखाइसकेको छ । प्राविधिक शिक्षाको महत्वलाई बुझेरै नेपालले पनि यस क्षेत्रमा प्रशस्त लगानी गरेको छ ।

आधुनिक अर्थतन्त्र अनुरुप नेपालमा प्राविधिक शिक्षाको विकास प्रयासको इतिहास नै झण्डै ७० वर्षको भइसक्यो । त्यही समयदेखिका सरकारी विकास योजना र नीतिहरू केलाउने हो भने प्रत्येक योजना र नीतिमा यसक्षेत्रको विकासलाई राम्रै महत्व दिएको देखिन्छ । यति लामो इतिहास र यसको प्राथमिकता हेर्दा नेपालमा प्राविधिक शिक्षाको विकासले ठूलै फड्को मारिसकेको हुनुपर्ने हो तर वास्तविकता भने अर्कै छ । प्राविधिक शिक्षाको महत्वबारे नेपालमा कुरा धेरै भयो साथै नीति र योजना पनि निकै बनाइयो । शिक्षाक्षेत्रमा आफैले आफैलाई नपत्याएर पैसा, प्रविधि, व्यवस्था, विशेषज्ञ र आदिका रूपमा विदेशी सहयोग पनि नेपाल सरकारले भित्र्यायो तर गर्नुपर्ने मुख्य काम अर्थात् शिक्षा निकायले खास काम भने गरेको देखिएन ।

परिणाम के भयो भने आज ७० वर्ष पछि पनि देशको प्राविधिक शिक्षाको क्षमता भनेको प्रतिवर्ष सवा लाखको हाराहारी मात्रै छ । त्यो पनि लामो र छोटो अवधिको तालिमसमेत गरेर । अर्थात् वर्षको करिव सवा लाख व्यक्तिलाई मात्र लामो तथा छोटो अवधिको तालिम दिने क्षमता राखेको छ । अझ चिन्ताजनक कुरा त प्राविधिक शिक्षा धेरै नेपाली विद्यार्थीको लागि कुनै अन्य विषय पढ्न नपाएमात्र बाध्यता अनुसार पढ्ने विषय बनेको छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा वार्षिक करिव पाँचलाख नयाँ युवा श्रम बजारमा आउँछन् ।

यसबाट स्पष्ट देखिन्छ देशको आवश्यकता र क्षमताबिचको गहिरो ताल । यी सबै व्यक्तिलाई उपयुक्त सीप तथा शिक्षा उपलब्ध गराई दक्ष र शिक्षित वर्गलाई सम्मानजनक रोजगारको अवसर सिर्जना गर्ने वातावरणको निर्माण गर्नु नेपाल सरकार राज्य सरकार र स्थानीय सरकारको दायित्व हो । देशको संविधानले पनि रोजगारको अधिकारलाई उल्लेख गरेको छ । तर आवश्यकता अनुसारको सीपयुक्त तथा गुणस्तरीय शिक्षाको पहुँच सबै इच्छुकसम्म पुर्याउन हाम्रो देश नेपाल धेरै पछाडी छ । दैनिक १५०० नेपाली युवा अदक्ष श्रमशक्तिको रूपमा विदेश जान्छन् र थोरै पारिश्रमिकमा गाह्रो काम गर्न बाध्य हुन्छन् ।

यता स्वदेशमा आवश्यक दक्ष जनशक्ति नभएर विदेशबाट ल्याइन्छ । अवस्था यस्तो पनि छ भने देशको प्राविधिक शिक्षा कार्यक्रमबाट शिक्षित व्यक्ति आफ्नो सीप अनुसारको काम पाउँदैन भने यहाँ भएका थोरै उद्योग व्यवसाय आफ्ना आवश्यकता अनुसारका सीपयुक्त दक्ष जनशक्ति नपाएर अहिलेको अवस्थामा बहादुर नेपाली युवाहरु आफ्नो व्यवसायको विकास तथा बिस्तार गर्न सकिरहेका छैनन् ।

अहिलेको तथ्यांक अनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्म करिब ९० लाख विद्यार्थीहरु छ्न भने दुई वर्षको अवधिमा शिक्षाबाट बञ्चित विद्यालय बाहिर रहेका तीन लाखको हाराहारीमा नयाँ बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना गरिएका छन् । यिनै बाल बालबालिकाको सुनौलो भविष्यका लागि गुणस्तर शिक्षाका तिन तहः प्राथमिक तह माध्यमिकतह र उच्च माध्यमिक तह शिक्षा आजको आधुनिक युगमा विद्यार्थी भाई बहिनीहरुका लागि अधिक महत्वपूर्ण छ । साथै अहिले नेपाली युवावर्ग जुन स्थानमा पुगेका छन जुन पदमा छन् त्यो शिक्षाको कारणले गर्दा छन् शिक्षाबिना समग्र सबैको जीवन अपूर्ण छ ।

अन्धकारबाट उज्यालोतर्फ लैजाने एउटामात्र मार्ग भनेको शिक्षा हो । यो शिक्षा महिला दिदी–बहिनीहरुका लागि पनि त्यतिनै आवश्यक छ जति पुरुषहरुका लागि आवश्यक छ । आधुनिक शिक्षा प्रणालीकै कारणले गर्दा अशिक्षा, असमानता, विभेद र जातीय र धर्मबिचको भेदभाव हटाउन सक्षम भइनेछ । शिक्षा सबै वर्गका लागि सर्वश्रेष्ठ धन हो । जो कसैले चोरी गर्न सक्छ न कसैले खोसेर लिन सक्छ । यो एकमात्र यस्तो धन हो जो बाँडेर कम हुँदैन कि यसको विपरीत बरु ज्ञान बढदै जान्छ ।

शिक्षा देशको प्रत्येक नागरिकको मौलिक हक र अधिकार हो । उदाहरणका लागि फिन्ल्यान्ड क्युवा र फ्रान्स जस्तै अन्य धेरै देशहरुमा प्राथमिक तहदेखि उच्चतहसम्म प्राविधिक शिक्षा निःशुल्क प्रदान गरिएको छ । किनकी त्यहाँको सरकारले मानेको छ कि देशको अर्थ व्यवस्था उकास्नमा एक शिक्षित व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले शिक्षा निश्चितरूपमा आफ्नो हक अधिकार कर्तव्य र जिम्मेवार व्यक्तिगतका साथै आर्थिक समृद्धिको एउटा शक्तिशाली शस्त्र हो । त्यसैले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा योग्य दक्ष र शिक्षक पेशामा प्रतिवद्ध शिक्षकको आपूर्ति र शैक्षिक विकास निर्माणका योजना परिचालन गर्ने यो राज्य सरकारको पहिलो लक्ष्य हुनुपर्दछ ।

तसर्थ अहिले विश्वव्यापी महामारिकारूपमा फैलिएको कोरोना भाइरस संकटलाई निर्मुल पश्चात शैक्षिक सुधारका लागि आगामी आर्थिक वर्ष शैक्षिकसत्रदेखि नयाँ नीति र नियमावली निर्देशिका अनुसार सम्पूर्ण नेपाली विद्यार्थी भाई बहिनीहरुको उज्वल भविष्यका लागि नेपाल सरकार राज्य सरकार र स्थानीय सरकारले प्राथमिकतहदेखि उच्च माद्यामिक तहसम्मको सम्पूर्ण शिक्षा निशुल्क हुनु पर्दछ र यसमा राज्य स्तरीय शिक्षा मन्त्रालयको विशेष ध्यानाकर्षण होस् । गुणस्तरीय प्राविधिक शिक्षा नै मानव विकासको लागि मुलभूत आवश्यकता हो ।

हालः प्रगतिशील नेपाली समाज भारत
केन्द्रिय समिति सदस्य

यसमा तपाइको मत

अन्य समाचार