सुशान्त न्यापाने । काठमाडौंको तारकेश्वर नगरपालिका भित्रका विद्यालयहरु भोलिदेखि खुल्ने भएका छन् । आज तारकेश्वर नगर प्याव्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्यका सबै मापदण्डहरु पुरा गरिएको जानकारी दिइएको छ । स्वास्थ्यका सबै मापदण्डहरु कायम गरिससकिएको जनाइएको छ ।
अभिभावकहरुको सल्लाहमा नगर शिक्षा शाखाले विद्यालय सञ्चालन गर्न केही दिन अघि निर्देशन दिए पश्चात विद्यालयहरु खुल्ने भएका हुन् । नगर शिक्षा शाखाले कक्षा ८–९ र १० का कक्षाहरु सञ्चालन गर्दा दुई चरणमा पढाउन विद्यालयहरुलाई निर्देशन दिइएको छ । जसमा हप्ताको ३ दिन मात्र विद्यार्थीहरु भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्न पाउनेछन् । पत्रकार सम्मेलनमा नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, जनप्रतिनिधिहरु, शिक्षा विद तथा बुद्धिजीवी र संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।
विद्यालय सञ्चालन गर्ने तयारी बारे जानकारी दिँदै प्याव्सन तारकेश्वरका अध्यक्ष धनबहादुर पुनलेनगर शिक्षाले तोकेका स्वास्थ्यका मापदण्ड र अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा आएका मापदण्डहरूलाई संस्थागत विद्यालयहरुले पुरा गरेकाले भोलिदेखि विद्यालय सञ्चालन हुने बताए ।
विद्यालयको गेटबाट विद्यार्थी प्रवेश गर्दा अनिवार्य माक्स लगाउनुपर्ने, गेटमा ज्वरो नापेर मात्र प्रवेश गर्ने, गेटभित्र छिर्ने बित्तिकै अनिवार्यरूपमा सेनिटाइजर टनेल कक्षमा प्रवेश गरी स्प्रेबाट सेनिटाइज भइसकेपछि साबुन पानीले हात धोएर मात्र विद्यार्थी कक्षा कोठामा दूरी कायम गरेर प्रवेश गर्नेछन् । बेन्चमा बस्दा एउटा बेन्चमा बढिमा दुईजना मात्र बस्न सक्ने व्यवस्था गरिएको छ । खाजा अनिवार्य घरबाटै लैजानु पर्नेछ । विद्यालयको क्यान्टीन खोलिने छैन । कक्षाकोठाहरुमा तातो पानीको व्यवस्था हुनेछ । विद्यार्थीहरु घरजाँदा पनि गेटमा ज्वरो नापेरमात्र घर पठाइनेछ ।
विद्यालयमा सहायता कक्षको व्यवस्था गरिने छ । विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा विद्यालयले स्वास्थ्य परिक्षण गराउन लैजानु पर्नेछ । विद्यालयका कक्षा कोठाहरु दैनिक सरसफाई र निर्मलीकरण गरिने तयारी गरेको प्याव्सनका पुनले बताए । पुनका अनुसार दैनिक ५ मिनेट कोभिड संक्रमणबारे विद्यार्थीहरुलाई जानकारी दिइनेछ । विद्यालयहरुले १ चरणमा ४ घण्टा मात्र विद्यालय सञ्चालन गर्नेछन् ।
चरण–चरणमा कक्षा सञ्चालन गर्दा ठूला कक्षाहरुलाई बिहानीको सत्र र सानालाई दिउँसोको सत्रमा राखिनेछ । कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले विद्यालय सञ्चालन गर्नका लागि आवश्यक सहयोग र स्वास्थ्यका मापदण्ड पुरा गराउन सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विद्यार्थीहरुमा संक्रमण देखिएको खण्डमा स्वास्थ्य उपचारका लागि पहलकदमी गर्ने बताएका छन् ।
विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन् । त्यस्तै शिक्षा विद तथा बुद्धिजीवी प्राडा प्रदिपचन्द्र गौतमले विद्यालय खोल्नु स्वागतयोग्य भएको भन्दै विद्यार्थीहरुको स्वास्थ्यमा हेलचक्राई नगरी विद्यालय जिम्मेवार बन्न आग्रह गरे । उनले स्थानीय सरकारले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउँदा जिम्मेवारपूर्वक काम गर्नुपर्ने बताए ।
त्यस्तै प्यावश्न तारकेश्वरका सल्लाहकार लोकेन्द्रबहादुर खड्काले अभिभावकहरुले विद्यालय खोल्न दबाब दिन थालिसकेको र शैक्षिक सत्रको अन्तिम समय आउन लागिसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमण फैलिन नदिई विद्यालय सञ्चालन गर्न तारकेश्वरभित्रका संस्थागत विद्यालयहरु तयारी अवस्थामा रहेको बताए । एन प्यावसन तारकेश्वरका अध्यक्ष गोविन्द भट्टले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै कक्षा ८ भन्दा माथिका कक्षामात्र सुरु गर्न लागेको बताए । उनले संक्रमण नबढेमा अभिभावकहरुसँग सल्लाह गरेर तल्ला कक्षाहरु विस्तारै खोल्दै जाने बताए ।
नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले भोलिदेखि विद्यालय खुल्ने भएकाले नगर शिक्षा शाखा, स्वास्थ्य र जनप्रतिनिधिको समूहले विद्यालयहरुले स्वास्थ्य मापदण्ड पूरा गरे÷नगरेको दैनिक अनुगमन गर्ने बताए । न्यौपानेले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय हतारमा नखोल्न पनि निर्देशन दिए ।




