काठमाडौं । आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।
यसअघि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउँदा देशैभर पानी परेको थियो। धेरै ठाउँमा ठूलो वर्षा भएको थियो। यसले गर्दा बाढी पहिरोको जोखिम बढाएको छ।
जमिन गलिसकेकाले अब हल्कादेखि मध्यम वर्षा हुँदा पनि पहिरो जाने जोखिम छ। आज मधेस प्रदेश बाहेकका प्रदेशमा पानी पर्ने सम्भावना छ। धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ।
गण्डकी तथा सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान गरिएको छ।





