को हुन लेनिन ? अक्टोबर क्रान्ति कसरी सम्भव भयो ?
संकल्पन्यूज डेस्क
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए ।
उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।
संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि क्रान्तिकारी बने । केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली र मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।
सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।
अक्टोबर क्रान्ति
१९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालझण्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनरको व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको स्वार्थरक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने ।
उनले बिर्ताहरु बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे । यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरुले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।
सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रुपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए ।
जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरुमाथि आफ्नो नियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरु फेरि प्रमुख शक्तिको रुपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।
२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे ।
त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको रुपमा विश्वप्रसिद्ध छ ।
