गाज्यो शब्द जागीबाट भएको मानिन्छ । गाजी भन्नाले पशुहरुलाई जनाउँदछ । पशुहरुलाई खुवाउनको लागि प्राकृतिकरुपमा उम्रेको घाँसलाई सुकाएर तयार पारिन्छ भने यसलाई गाज्यो भनिन्छ । यो हे को नामबाट पनि परिचित छ । खासगरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा यसको प्रयोग व्यापक भए पनि बैतडी दार्चुला अझै बढी प्रचलनमा रहेको छ ।
तर यसलाई तयार गर्ने विधिबारे खास ध्यान दिएको पाईदैन । आफुलाई फुर्सद भएको समयमा काट्ने गरिन्छ भने यसलाई कुन्यो तथा लुटो बनाएर राख्ने गरिन्छ । लुटो बनाउदा रुखमा वा लुट्याट (गाज्यो थन्क्याउने काठ) मा गाज्यो भण्डारण गरिन्छ । यसरी भण्डारण गर्दा घाम र पानी सिधा पर्ने भएकोले यसको गुणस्तरमा कमी आउँछ ।
हे बनाउने विधि अवलम्बन गर्न सकेमा गाज्योको गुणस्तरमा सुधार गरी पशु आहारामा सुधार गर्न सहयोग पुग्न गई पशुको स्वास्थ्यमा सुधार हुन जान्छ र पशुको उत्पादन तथा उत्पादकत्वमा समेत वृद्धि गर्न सकिन्छ । पशुहरुलाई कुहिएको गाज्यो तथा हे खुवाउँदा छाला रोग तथा ड्यागनेला रोग लाग्ने कुरा पशु विज्ञहरुको बताउँछन् ।
हे बनाउने विधिः
(१) परिचयः हरियो घाँसपातलाई कलिलो र पौष्टिक तत्व बढी भएको अवस्थामा काटेर त्यसको पौष्टिकता नाश नहुने गरी सुकाएर संरक्षण गरिएको घाँसलाई हे भनिन्छ । हे बनाइएको घासमा पानीको मात्रा १०—१५ प्रतिशत भन्दा कम हुनुपर्दछ ।

लेखक
(२) हे बनाउन उपयुक्त घांसः
हे बनाउन धरै पात र डाँठ सँगै सुक्ने कोशेजातिका घाँसहरु जस्तो वर्षिम, क्लोभर र सिमी इत्यादी कोशेजातिका घाँसहरु महत्वपूर्ण मानिन्छन् । जै को हे राम्रो बन्छ तर मोटा डाँठ हुने घाँसको हे राम्रो हुँदैन । जुनसकै जातको घाँसपात भए तापनि फूल फूल्दै गरेको घासबाट राम्रो हे बन्छ । कोशे घाँसबाट बनाइएको हे मा प्रोटिन र खनिजको मात्रा बढी पाइन्छ ।
(३) हे बनाउनको लागि निम्न कुरामा ध्यान दिनु पर्दछ ।
(क) घाँसबालीको छनौटः राम्रो किसिमको हे बनाउन सकिने घासको छनोट गर्नुपर्दछ ।
(ख) घाँसवाली काट्ने उपयुक्त अवस्थाः हे को पौष्टिकता घाँसकालीको अवस्थामा निर्भर रहन्छ । ज्यादै कलिलो अवस्थाको घाँसमा बढी पौष्टिक तत्व हुन्छ भने प्रतिइकाई उत्पादन कम हुन्छ । धेरै साह्रो घाँसबाट प्रतिइकाई उब्जा बढी भएता पनि हे को पौष्टिक निकै कम हुन्छ । त्यसैले फूल फूल्ने अवस्थामा हे बनाउनको लागि घाँस काट्नु नै सबभन्दा उत्तम अवस्थाको समय मानिन्छ ।
(ग) काटेको घाँसलाई सुकाउनेः नेपालको उच्च पहाडी भेगमा अपनाइने परम्परागत तरिकामा घाँसलाई सुकाउँदा हानी नोक्सानी हुन जान्छ, त्यसैले उचितरुपमा हे बनाउँदा घाँसलाई घाममा सुकाएर वा कृतिम तरिकाले विद्युतद्वारा सुकाइन्छ ।
खेतमा फैलाएर सुकाउनुः खेतमा सुकाउँदा साधारणतया घाँसलाई ५—७ घाम सुकाएको हे थनक्याउन लायक हुन्छ ।
घाँसको मुठ्ठा बनाई डोरी वा लठ्ठामा सुकाउनेः यस तरिकामा २ वटा लठ्ठा गरी डोरी तानी सो डोरीमा मुठ्ठा पारिएको घाँसलाई सुकाउनु पर्दछ । नेपालमा सबैभन्दा राम्रो तरिका यही हो ।
(घ) हे लाई थन्क्याउनेः हे लाई राम्ररी थन्क्यानु पर्दछ । थन्क्याउदा छानायुक्त हावादार ठाँउमा भण्डारण गरिन्छ । हावाको राम्रो प्रवन्ध नभएमा ढुसी लाग्ने सम्भावना हुन्छ । यदी हे थन्क्याउदा हे को जलाश २० प्रतिशत भन्दा बढी भएमा जैविक प्रकृयाद्वारा अत्यधिक ताप उत्पन्न हुन गइ हे को गोदाममा आफै आगो लाग्ने हुन्छ वा हे कुहिन थाल्छ ।
असल हे मा हुनुपर्ने गुणहरुः
हे मा १५ प्रतिशत भन्दा बढी चिस्यान हुनु हुँदैन । हे बनाउने घाँस उचित अवस्थामा काटिएको हुनु पर्दछ, त्यसमा पौष्टिक तत्व प्रयाप्त हुनु पर्दछ । घाँसमा भएका पात हे मा सुरक्षित हुनुपर्दछ । हे केही हरियो रंगको हुनु पर्दछ । हे मा बाहिरी घाँसपात तथा झारपात काठका टुक्रा आदि पदार्थ मिसिएको हुनु हुँदैन । जुन घाँसवाट हे बनाएको हो त्यसको सुगन्ध हे मा आउनु पर्दछ । हे पशुले रुचाउने स्वाद, सुपाच्य र पौष्टिक तत्वयुक्त हुनु पर्दछ । हे सडे गलेको वा गोवर हिलोमाटोले लेदिएको हुनु हुँदैन ।
लेखक: राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रब्रद्र्धन कार्यालय हरिहरभवन, ललितपुरका पशु विकास अधिकृत हुन् ।




