नेपाल कला र संस्कृतिको धनी देश हो । सयौं जातका फूलहरु जस्ता विविध जाति र समुदायका आ–आफ्नै आगनमा फुलेका कला र संस्कृतिले नेपाल धनी भएको हो । धन र सम्पतिले जो जुन स्तरमा भएपनि साँस्कृतिक सम्पदाका हिसावले यहाँ कोही पनि कम छैन । यसैबीचमा नेपालको पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चलतिर हुर्केको गन्धर्व जातिले नेपाली कला र संस्कृतिको विकासमा पुर्याएको योगदानको प्रशंसा गरेर साध्य नै छैन ।
नेपालका दलितहरु कलाका खानी नै हुन् । कुनैबेला मानिसलाई कला र सीपको आधारमा जातमा विभाजन गरिएको इतिहास पाइएपनि पछि त्यो प्रथा छुवाछुतसम्म पुगेर उनीहरुमाथि अमानवीय व्यवहार हुनुलाई कुनैपनि हालतमा राम्रो भन्न सकिन्न । बरु उनीहरुमा भएको अन्तरनीहित कलालाई सम्मान गर्नु पर्छ । उनीहरुबाट अरु समुदायका मान्छेले कला र संगीत सिक्दै गएका छन् । 
जसलाई एकदम राम्रो कुराको सुरुवातीकोरुपमा लिन सकिन्छ । यसैबीच आज काठमाडौंमा पुराना लोक गायक लालबहादुर गन्धर्वको सम्मानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ सम्पन्न भएको छ । गोरखा घ्याम्पेसाल–काठमाडौं सेवा समाज र गन्धर्व कला केन्द्रले आयोजना गरेको सो कार्यक्रममा दर्जनौं कलाकर्मी तथा सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जक लालबहादर गन्धर्वले गन्धर्व गीत, डाँफे गीत, सीतारानी गीत र भूईंचालो गीतहरु लगायत आधा दर्जन जति गीतहरु गाएका थिए ।
७५ वर्षीय गायक लालबहादुर हालपनि आफ्नो प्रस्तुति जोडतोडका साथ दिन सक्छन् । कार्यक्रममा गाइने मंगल धुन पनि बजाइएको थियो । कार्यक्रममा गोरखाका अन्य कलाकारहरु रबिन गन्धर्व, रबिन लामिछाने, बबिता बानियाँ लगायतले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए भने नवोदित कलाकार निकेशजंग थापाले बाँसुरीको धुनले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि उपस्थित थिए । 
धनराज पन्तको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालकको तर्फबाट पत्रकार तथा लेखक यादव देवकोटाले श्रष्टा लालबहादुर गन्धर्वको परिचय पस्केका थिए । २००२ सालमा गोरखाको घ्याम्पेसालमा जन्मेका लालबहादुरले ९ वर्षको उमेरदेखि नै सारंगी बजाउन सिकेको बताइन्छ । रेडियो नेपालमा उनका ९ वटा लोकगीतहरु रेकर्ड भएका छन् । तर आज ६ वटामात्र सुरक्षित रहेका छन् । राजा महेन्द्रले उनलाई काठमाडौं ल्याएर कलाकार बनाएको इतिहास रहेको छ ।
अर्का गायक दिवंगत झलकमान गन्धर्व र लालबहादुर देशभरबाट छानिएर काठमाडौं आएका हुन् । रेडियोमा गीत गाउनकोलागि उनी गोरखाबाट ३ दिन हिँडेर काठमाडौं त आए तर धेरै समय काठमाडौंमा बसेनन् । नातिकाजी र कोइलीदेवी उनका साथीहरु हुन् । वास्तवमा लालबहादुर हिलोमा फुलेका कमल हुन् । उनलाई शहरको रमझम भन्दा गाउँकै मायाले तान्यो र गाउँ फर्किए । उनले एकेडेमीमा २ वर्ष जागिर खाएको बताइन्छ । 
गायक लालबहादुर नेपाली लाहुरेहरुले पैसाकोलागि विदेशमा बगाएको रगतको गीत बनाएर गाउँथे । गोरखामा उनी नपुगेको कुनै ठाउँ नै छैन रे । उनी गोरखाका सबै ठाउँ र वरपरका जिल्लामा गाउँदै हिँडेको इतिहास ताजै छ । यसैक्रममा उनले नेपाली मौलिक गाइने गीत तथा लोकगीतको प्रचार प्रसार र विकास गरेका हुन् । पुराना दिवंगत गायक झलकमान गन्धर्व उनका बहिनी ज्वाईं हुन् ।
गीत गाउने काममा लालबहादुर झलकमानबाट प्रभावित थिए भनिन्छ । लालबहादुरका ९ भाई छोराहरु हालपनि सारंगी बजाउने पेसा मै आवद्ध छन् । पेसाको साथै नेपालमा गन्धर्वहरुले नेपाली मौलिक कला र बाजाकोपनि संरक्षण गरिरहेका छन् । पुराना नेपाली कला र संस्कृतिको संरक्षण र विकास गरौं । लालबहादुर जस्ता श्रष्टाको सम्मान गरौं । गन्धर्वहरुलाई मागि खानेको जातकोरुपमा होइन कला, गला र सीपको खानी समुदायकोरुपमा सम्मान गरौं । पुरानो पुस्ताको सम्मान गर्न सकियो भने मात्र नयाँले सिक्ने प्रेरणा सलनेछ । जय कला, जय संगीत ।




