२०८३भदौ २६
काठमाडौं । आज हिन्दु परम्परा अनुसार कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् ।
यस दिन बुबाको मुख हेर्ने, अर्थात् बुबा दिवसको रूपमा मनाई बुबालाई विशेष सम्मान गर्ने र आमा-बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने विश्वास गरिन्छ ।
पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।
छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले बुबा-आमाको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो ।
हामीले विगतलाई स्मरण गर्दै आफूलाई डोराउनु पर्छ । यस दिवसमा जीवित बुबा-आमाहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं उपहार ल्याई चढाउने चलन छ ।
यसबाहेक दिवंगत भएका बाबु-आमाहरूको सम्झनामा काठमाडौंको गोकर्ण, रसुवा-नुवाकोटको बेत्रावति लगाएत त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ । नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन् ।
यो दिन बिहे गरेर गएका छोरी चेलीबेटीका लागि पनि बुबालाई माया र सत्कार देखाउने दिन हो । यस दिन भनेको पिताप्रतिको सम्मान देखाउने दिन ।
संस्कृतिविदका अनुसार नेपाली संस्कृतिमा सबैलाई आ–आफ्नो ठाउँमा समान स्थान दिएको पाउँछौं । जस्तै ठूलालाई आदर सम्मान र सानोलाई माया र स्नेह दिने संस्कृति छ । त्यही अनुरुप बुबा जसले आफ्लाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि आजको विशेष दिन भनेर छुट्याइएको छ ।
हाम्रो समाजमा मातापितालाई साक्षात भगवाको रुपमा लिने चलन छ । यसबाहेक जीवन हुँदा पनि मान्छन् र जीवन गइसकेपछि पनि सम्मान गर्ने चलन छ । जीवन छउन्जेलसम्म सम्मान र बितिसकेपछि पनि बुबा पितृ बनेर रहन्छ भन्ने जनविश्वास छ र त्यसकारण हिन्दुहरु सधैँ अमर रहने मान्यता छ ।
भौतिक शरीर नष्ट भए पनि हरेक वर्ष सम्मानका साथ श्राद्ध गर्ने चलन छ र यसदिन विशेष स्मरण गरेर जीवित बुबालाई र पितृलाई सम्मान गर्ने चलन छ ।




