अफ्गानिस्तानबाट भागेको अमेरिकाले आफ्ना अफ्गानी एजेन्टलाई आप्रवासी भिसा दिने
विश्वको सेरोफेरो
संकल्प संवाददाता
काठमाडौं । झण्डै २ दशकअघि अफ्गान युद्धमा फसेको अमरिका केही समय अघिदेखि त्यहाँबाट भाग्दैछ । संसारभर अन्यापूर्ण युद्ध लडिरहेको अमेरिका पछिल्लोचरणमा जताततैबाट पराजय भोग्दै गएपछि ऊ अफ्गानिस्तानबाट भाग्न लागेको हो ।
अमेरिकी सेना त्यहाँबाट भाग्न थालेसँगै तालिवानी विद्रोहीले आफूले गुमाएका धेरै भूभागहरु कब्जा गर्दै अघि बढिरहेका छन् । अर्को देशको मामिलामा हामीले बोल्ने वा चासो राख्ने खासै महत्वको विषय नभएपनि विश्वको राजनीतिक परिवेशका कारण केही न केही बोल्ने वा चासो राख्ने अवस्थामा सबैलाई पुर्याएको छ ।
पराजय भोगेर भाग्दै गरेको अमेरिका आफू घर फर्किएसँगै आफ्ना लागि काम गरिरहेका आफ्ना अफ्गानी एजेन्टहरुलाई पनि सँगै अमेरिका लैजाने तयारीमा रहेको छ र उसले त्यसका लागि आवश्यक नीति पनि सदनबाट पास गरेको छ ।
यसका लागि उसले आफ्ना अफ्गानी सुराकी र एजेन्टहरुलाई आप्रवासी भिसा दिने भएको छ । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेपछि भिसा दिने भएको हो । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभासे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिक समेतलाई लक्षित गरी थप भिषाको प्रस्तावलाई अनुमोदन गरिएको छ ।
अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको समाचारहरुमा जनाइएको छ । त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिएका खामा प्रेसले जनाएको छ ।
ह्वाइट हाउसल भर्जिनियाको फोर्ट ली सैन्य अड्डामा सुरक्षा जाँच पूरा गरिसकेको ७५० एसआईभी आवेदक र उनीहरूका परिवारका सदस्यहरूलाई शरण दिने योजना बनाएको छ भने अन्य चार हजार आवेदकहरुलाई उनीहरूको कागजपत्र पुनःरावलोकन गरी सुरक्षित तेस्रो देशमा बसाइने बताइएको छ ।
हालै अमेरिकी सेनाका लागि काम गर्ने एक अफगान दुभाषी सोहेल पारडिसलाई तालिवानले टाउको काटी हत्या गरेका थिए । पारडिस हजारौं अफ्गान दोभाषेमध्ये एक थिए जसले अमेरिकी सेनाका लागि काम गरे र अहिले तालिवानका कारबाही भोग्नु पर्यो ।
तालिवान समूहले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयसँगै अफगानी तालिवान लक्षित कारबाहीलाई रोकेको छ । यसैबीच तालिवान समूहले अफगानिस्तानका सीमा क्षेत्रका कतिपय जिल्ला आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।
