भारतीय हेपाहा प्रवृतिको शसक्त प्रतिरोध गरी जयसिंह धामीलाई न्याय दिलाऔं
जीवन हमाल
भारतीय शासक वर्ग नेपालीहरुका लागि मुटुको किला हो । जुन किलो बिझेको छ र झक्न निकै गाह्रो भइरहेको छ । व्यापार गर्ने नाममा भारत पसेको बेलायती साम्राज्यवादले झण्डै २ सय वर्षसम्म भारतमाथी शासन गर्यो । झण्डै ७० वर्षअघि भारतबाट भागेर फर्केको बेलायती साम्राज्यवादबाट मुक्त हुनुअघि पनि गोराहरुले नेपालमाथी गिद्धे दृष्टि लगाई बेलाबेला आक्रमण गरिहे । भारतमा रहेका ५० भन्दा बढी राज्यहरुलाई कब्जा गरी सिंगो भारत बनाएका अंग्रेजहरुले नेपाललाई पनि भारतमा गाभ्न निकै प्रयास गरे तर सकेनन् ।
नेपाली वीर पूर्खाहरुको वीरता, तागत र बलिदानीका कारण हालको नेपाल जोगिएको हो । भक्ति थापा, अमरसिंह थापा र भीमसेन थापा जस्ता बहादुर नेपाली सेनाको साहसका सामू अंग्रेज फौज टिक्न नसकेको इतिहास विश्वसामू छ । सन् १८१६ मा भएको सुगौली सन्धिका कारण हालको सिमानामा खुम्चन बाध्य भएको नेपालको भूभागलाई अंग्रेजहरु भारतबाट लखेटिएपछि बनेको भारतीय शासकहरुको शासनले पनि हेपिरहे । पटकपटक निल्न खोजिरहे, खोजिरहेका छन् । जसरी हिजो अंग्रेजहरु हेप्थे आज पनि आजका भारतेली शासकहरु हेपिरहेका छन्, नेपालको भूमी मिचिरहेका छन् । लुटिरहेका छन् । नेपाली माटोको रक्षार्थ खट्ने स्वाभीमानी नेपालीको हत्या गरेका छन् ।
नेपाली चेलिबेटीहरुलाई बलात्कार गरिरहेका छन् । नेपाली लोइरे शासकहरुलाई किनेर नेपालका नदी, जमीन लुटिरहेका छन् र नेपाली सार्वभौम सत्तामाथी हस्तक्षेप गरिहेका छन् । यो कुनै आरोप होइन । इतिहासदेखि वर्तमानसम्म हेर्दा यस्तै देखिन्छ । यसका विरुद्ध स्वाभिमानी नेपाली लडिरहेका छन् भने दलाल शासकहरु विक्रीका माल बनेर किनबेच भइरहेका छन् । टनकपुरको जमीन र महाकालीको पानी भारतलाई दिँदा विरोध गरेका कारण मदन भण्डारीहरु मारिए ।
देशको माटोको रक्षाको लागि चीनसित हतियार खरिद गर्नेदेखि पारवहन क्षेत्रमा चीनसित सम्बन्ध विस्तार गर्ने काम गर्दा राजा वीरेन्द्रको वंश विनास गरिएको हो भनेर आजका नेपाली बुद्धिजीवी, विष्लेषक तथा अनुसन्धानकर्ताहरु भनिरहेका छन् । यसमा पिश्चमा देशहरु जसले पूर्वीय सभ्यतामाथी आक्रमण गरेर कृश्चियन धर्म, पश्चिमा संस्कार, संस्कृति तथा पश्चिमा राजनीति लाद्न चाहन्थे र त्यसका लागि नेपाली राजदरवार बाधक बनेका कारण सो हत्याकाण्ड गरिएको भनेर खुलेआम भनिएको छ तर यसको कसैलेपनि हालसम्म खण्डन गरेको छैन ।
विश्वका २ महाशक्ति अमेरिका र चीनको रणनीतिक महत्वको विन्दूमा रहनुले पनि नेपालमाथी धेरैको नजर परिरहेको छ । त्यसमा पनि दक्षिण एसियाको साँढेको रुपमा आफ्रलाई विस्तार गरिरहेको भारतले पनि नेपाललाई दुश्मनी व्यवहार गरिरहेको छ । नेपालले छिमेकीको व्यवहार गर्दै आएको छ भने भारतले भने हामीमाथी दुश्मनी व्यवहार गर्दै आएको छ । कालापानी, लिम्पियाधुरा जस्ता महत्वपूर्ण नेपाली जमीन कब्जा गरेको भारतले जिहो मात्रै पनि एकजना नेपाली युवालाई महाकालीमा खसालेर मारेको छ । यो घटनाले सबै नेपालीको रगत उम्लेको छ ।
यस घटनाको आज देशैभर तिब्र विरोध गरिएको छ । यसघटनाको कडारुपमा विरोध गर्नेमा भर्खर मात्रै शान्ति प्रकृयामा आएको विप्लव नेतृत्वको नेकपा रहेको छ । सो पार्टीले ५ वर्षअघि भारत र चीनका बीचमा भएको सम्झौताको पनि तिब्रतापूर्वक विरोध जनाएको थियो । सो सम्झौतामा चीन र भारतले नेपालको लीपूलेकहुँदै बाटो बनाएर व्यापार गर्ने सहमती जनाएको थिए । नेपालमा त्यस घटनाको वितब्र विरोध भएसँगै चीनले आफू सो सम्झौताबाट पछि हटेको जनाएको थियो । तर भारतले भने नेपालको कालापानीहुँदै मानसरोवर जोड्ने बाटो नेपाली भूमीबाट खनेकोले त्यसको पनि विरोध भएपछि भारत सो बाटो खन्नबाट पछि हटेको थियो ।
भारतले नेपालमाथी गर्ने यस्ताखाले हेपाहा र मिचाहा कार्यको धेरै लामो फेहरिस्त बन्छ । हिजो मात्रै फेरि भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइनबाट महाकाली नदी तरिरहेका एकजना नेपालीलाई सोही तुइनबाट खसालेर हत्या गरेको छ । विप्लव नेकपाले यही घटनाको विरुद्ध आज दिनभर र देशभर प्रदर्शन गरेको छ । यस घटनाको व्यक्तिगत तथा संस्थागतरुपमा चर्को विरोध भइरहेको छ तर पार्टीगतरुपमा प्रदर्शन नै गरेर दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको भने विप्लव नेकपा नै हो । यसैबीच आज नै नेपालमा ४ कम्युनिस्ट पार्टीहरुले पनि दार्चुलाका जयसिंह धामीको भारतीय एसएसबीले महाकाली नदीमा तुइनबाट नदी तर्दै गर्दा तुइन काटेर नेपाली युवा बेपत्ता भएको घटनाको कडारुपमा आलोचना गरेका छन् ।
क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्तरुपमा विज्ञप्ति निकालेर नेपाली युवाको ज्यान जानेगरी भारतीय सुरक्षा फौजले गरेको कुकार्यको विरोध गर्दै दोषीलाई कारबाही गरी पीडितका परिवारलाई क्षतिपूर्ती दिलाउन नेपाल सरकारसित पहलका लागि माग गरेका छन् । ती पार्टीले सो घटनालाई आततायी, बर्बर र अत्याचारी तथा नेपालको सार्वभौम सत्तामाथीको ठाडो हस्तषेप भनेका छन् । पीडितले न्याय नपाए नेपाली जनताले भारतीय दादागिरीका विरुद्ध कडारुपमा संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच सो घटनाका कारण नेपालीमाथीको भारतीय शासक वर्गले गरेको अत्याचारप्रति विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुमा भारतीय शासक वर्गको निकै कडारुपमा आलोचना भइरहेको छ । यसबारेमा भारतीय शाषकहरुको कुनै प्रतिकृया आइसकेको छैन । हालसम्म आफ्नो तर्फबाट भएका अत्याचारहरुको भारतीय शाषक वर्गले कुनै पनि प्रतिकृया दिएको पाइएको छैन । प्रतिकृया दिएपनि हेपाहा कोणबाट दिने गरेको छ ।
हो नेपाल एक स्वतन्त्र, स्वाधिन र सार्वभौमसत्ता सम्पन्न मुलुक हो । हामी स्वाधिन देशका स्वतन्त्र र सार्वभौम नागरिकहरु हौं । हामीलाई आफ्नो देशको माया छ । हामी हाम्रो देश र नेपालीप्रति पराईको गिद्धेनजर परेको देख्न सक्दैनौं । पूर्खाले रगतको खोलो बगाएर बनाएको देशलाई कसैको पोल्टामा सजिलै हाल्न दिने छैनौं र कसैको हातबाट हामी हाम्रा नागरिक मारिएको हेर्न पनि सक्दैनौं ।
त्यसकारण भारतीय शाषक वर्गले नेपाल र नेपालीमाथी गर्ने यी र यस्ताखाले कुनैपनि गतिविधिको शसक्तरुपमा प्रतिरोध गर्नैपर्छ । आज एकजना निर्दोष नेपाली युवालाई महाकालीमा खसालेर मारेको छ भने भोली धेरै नेपालीलाई यसैगरी मार्दै जानेछ र नेपाली माटो पनि लुट्ने छ । त्यसकारण आजैदेखि भारतीय दादागिरीको शसक्त प्रािरोधमा उत्रने साहस गरौं ।
