कमरेड बादलको ०४७ सालको त्यो प्रशिक्षण…….
०४७ सालको कुनैदिन फरेष्ट्री कलेजका दाईहरुले बेलुका पार्टीका ठूलै नेता (तत्कालिन नेकपा मशाल)का आउँदै हुनुहुन्छ, प्रशिक्षणको निम्ति तयार हुनु भन्दै समय र स्थान बारे जानकारी पाइयो । स्थान कलेजकै कक्षा कोठा, र समय रातिको ८ बजेतिरबाट कार्यक्रम शुरु भयो । हामी जम्माजम्मी ३५–४० जना थियौं । त्यतिखेरको फरेष्ट्री कलेजमा हाम्रो अखिलको संख्या त्यति नै थियो । प्रमुख अथिति तथा प्रशिक्षक हुनुहुन्थ्यो कमरेड रामबहादुर थापा ‘बादल’ ।
हामीले हालसालै घोषणा भएको बहुदलीय ब्यवस्थाप्रति पार्टीको दृष्टिकोण, तत्कालीन वाममोर्चामा सहभागी नभई संयुक्त राष्ट्रिय जनआन्दोलन (डा. बाबुराम भट्टराईको नेतृत्वमा) गठन गर्नुको कारण र पार्टीको भावी रणनीति बारे प्रश्नहरु गर्यौं । त्यतिबेला गठन भएको एमाले बारे पनि प्रश्न गरियो । मलाई अहिलेसम्म पनि बादलले भनेका यी वाक्यांशहरु मानसपटलमा ताजै छन् ।
समग्रमा उत्तरहरु यस्ता थिए :
नेपाली कांग्रेस र वाममोर्चाको अगुवाइमा भएको आन्दोलनको उद्देश्य बहुदलीय ब्यवस्था र संवैधानिक राजतन्त्र मात्र थियो । हाम्रो पार्टी मशालको तत्कालको राजनैतिक कार्यदिशा र न्यूनतम कार्यक्रम अनुसार आन्दोलनमा उनीहरुले निश्चित गरेका उद्देश्यहरु मिल्न सकेनन् । हामी यो भन्दा धेरै अगाडी बढ्न चाहन्छौं । अहिलेको निम्ति कम्तिमा जनवादी गणतन्त्र । त्यसैले हामी वाममोर्चामा सामेल नभई साझा उद्देश्य हुनेहरूको छुट्टै मोर्चा (संयुक्त राष्ट्रिय जनआन्दोलन) गठन गरि आन्दोलनमा सहभागी भएका हौं । यही आन्दोलनलाई सचेत प्रकारले जनवादी गणतन्त्रको आन्दोलनमा बदल्न गर्न सकिन्छ कि भन्ने थियो । हामीले केही हतियार र लडाकु दल पनि बनाएका थियौं । जनताले चैत २४–२६ मा गणतन्त्रको नारा पनि लगाएका थिए । तर २६ गते राति राजा, कांग्रेस र वाममोर्चाले बहुदल र संवैधानिक राजतन्त्रमा सम्झौता गरे । हाम्रो पार्टी मशाल र संयुक्त राष्ट्रिय जनआन्दोलनले उक्त सम्झौतालाई धोका भनेको छ । हाम्रो पार्टीको तत्कालको कार्यदिशा दीर्घकालीन जनयुद्ध र तत्कालीन न्युनतम कार्यक्रम जनवादी गणतन्त्रको स्थापना नै हो । एमाले बारे सोधेको प्रश्नमा बादलले जोड दिँदै भन्नुभो, एमाले वास्तविक कम्युनिस्ट पार्टी होइन, संशोधनवादी समूह हो, यसले जनवाद ल्याउँदैन । यही ब्यवस्थामा रमाएर बस्छ र कम्युनिस्ट बारे भ्रम छर्छ । हामीले यो ब्यवस्था र एमालेको भण्डाफोर गर्नुपर्छ । हामी चाँडै नै अरु क्रान्तिकारी पार्टीहरु सँगपनि एकताको छलफल गदैछौं र दीर्घकालीन युद्धको पनि तयारी हुँदैछ । मैले पुनःमरण गराए । यो स्मृति २०४७ सालको हो र अहिले २०७८ भइसकेको छ । त्यो प्रशिक्षणमा भाग लिने केही मित्रहरुको नाम लिन चाहन्छु । सुभाष देबकोटा, भक्त श्रेष्ठ, कृष्णबाबुजोशी, इमनाथ पौडेल, रामहरी पन्त, प्रेम खनाल, दुर्गा कार्की, भिम अधिकारी, महादीप पोखरेल, तेजबहादुर विश्वकर्मा, भगिरथ घिमिरे, प्रेमबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, पम्फा देवकोटा, कृष्ण पुन आदि । अनि राती नै हाम्रो ब्याजबाट म र मित्र तेजबहादुर विश्वकर्मालाई पार्टी सदस्यको आवेदन फारम पनि भर्न लगाइएको थियो ।
लेखकः नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्ष हुन् ।
