लखन थापाविरुद्ध ओलीले किन बोले यस्तो ? को हुन् लखन थापा ?

काठमाडौं । नेपालका मगर समुदायले गोरखाका लखन थापालाई राज्यले नै प्रथम सहिद मानेका बेला यसका बारेमा भ्रम छर्न लागिएकोप्रति विरोध जनाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लखन थापा नेपालको पहिलो शहीद नभएको बताएपछि सो कुराको विरोध भएको हो ।

शुक्रबार एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाँकावीर भएको बताएका थिए ।

ओलीका अनुसार पहिलो शहीदको विषयको बुझाइमा सबैमा दोधारपन रहेको छ र बाकावीर राणा शासनविरुद्ध लडेर पहिलो शहीद भएका हुन्, उनीपछि पहिलो शहीद भनिएका लखन थापा र योगमायाहरुले विद्रोह गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘बैतडी, बझाङ कतातिरका हुन् बाकावीरले पहिलोपल्ट राणा शासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो र, उनी पहिलो शहीद हुन् । पहिलो शहीदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाकावीर नेपालको राजनीतिक जागरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् । त्यसपछि अनेक आन्दोलन हुँदै गए । पछि लखन थापा व्रिदोहलाई लिन सक्छौँ, योगमायाको विद्रोह र अरु विद्रोहलाई लिन सक्छौँ ।’

अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाकावीर भने पनि लोकसेवाको पाठ्यक्रममा र अहिलेसम्म नेपालको पहिलो शहीद भनेर लखन थापालाई चिनिन्छ । विकिपिडियाका अनुसार लखन थापा मगर नेपालका पहिलो शहीद हुन् । उनलाई सन् २००० फ्रेबुअरी २३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो ।

राणा शासनविरूद्ध विद्रोह गरेका मगरलाई वि.सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । यसरी ओलीले विरोधाभास कुरा गरेका कारण नेपाल मगर संघले एक विज्ञप्ति मार्फत् यस्तो विरोध जनाएको हो ।

संगठनका महासचिव ज्ञानेन्द्र पुनमगरद्धारा जारी विज्ञप्तिमा यस्तो विरोध जनाइएको छ । मगर संघले ओलीले नै यस्तो भनेको भनेर भने खुलाएको छैन । पुनद्धारा जारी विज्ञप्तिमा शुसिल कोइराला नेतृत्वको सरकारका पालामा गरिएको सो निणर्यको नेपालका केही बुद्धिजीवी भनिनेहरुले भ्रम छर्न लागेको भन्दै त्यस्तो भ्रममा नपर्न मगरसमुदायलाई आग्रह गरिएको छ ।

भ्रम छरिएको घटनाको सामाजिक सञ्जाल तथा डिजिटल मिडियाहरुमा पनि तिब्र विरोध जनाइएको छ । लखन थापा जहानीयाँ राणा शासनका विरुद्ध प्रजातन्त्र स्थापनाका लागि शसस्त्र विद्रोहको अगुवाई गर्दा जंगबहादुर राणाले पठाएको नेपाली सेनाको फौजले गोरखामा पक्राउ गरी काठमाडौं ल्याई हत्या गरिएको थियो ।

लखन मगर समुदायमा जन्मिएका र सोही समुदायबाट सहिद भएका पक्कै पुन तर उनी सबै नेपालीहरुका सहिद हुन् । यसै घटनालाई आधार मानेर उनलाई नेपालको प्रथम सहिदको रुपमा मानिंदै आएको हो । मगर संघले नेपालको प्रथम सहिदको रुपमा स्थापित भइसकेको घटनालाई बङ्ग्याउन र सहिदको इतिहासप्रति नै भ्रमात्मक प्रचार गर्न खोजिएको भन्दै विरोध जनाएको हो ।

यस्तो सो संगठनका महासचिव पुनद्धारा जारी विज्ञप्ति :

आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानियाँ राणा शासनको विरुद्धमा नेपालमा पहिलो पटक संगठित विद्रोह गर्ने क्रममा वि.सं १९३३ फागुन २ गते तत्कालिन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा बिना तथ्य र प्रमाण केही नेताहरु र विद्धानहरुले भ्रामात्मक कुरा गरेकोप्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल मगर संघ लगायतका संघ संस्थाहरुको निरन्तर दवाव, आन्दोलन, संघर्षले गर्दा तत्कालिन संस्कृति मन्त्री कृपाशुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको मन्त्रिपरिषदले वि.सं २०७२ असोज ३ गतेका दिन गरेको निणर्यको विरुद्धमा बोल्ने वा बहस गर्ने अख्तियारी कसैलाई नहुँदानहुँदै पनि राजनैतिक भाषणको लहडमा यसरी बारम्बार भ्रामक कुरा आउनु सबै सहिदमाथिको गम्भिर अपमान हो । लखन थापामगर लगायतका सहिदहरुको बलिदानीपूणर् योगदानका कारण नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा परिणत भएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रता छ तर स्वतन्त्रताको नाममा गलत र भुट कुरा गर्ने छुट जोकसैलाई छैन ।
सामान्यज्ञान र आमजनतामा प्रथम सहिद लखन थापामगर भनेर स्थापित भईसकेको अवस्थामा यस्ता गलत र तथ्यहीन कुरा नगर्न नगराउन हुन सम्बन्धित सबैलाई चेतवानी सहितको खबरदारी गर्दछौं । लखन थापामगरका साथै मगर समुदायमाथि आँच आउने खालका गलत र भ्रामक कुरा गरेर यस्तै अपमान गर्ने हो भने त्यसको प्रतिवाद नेपाल मगर संघ तथा आम न्यायप्रेमी जनसमुदायले गर्नेछन् त्यसैले गलत र तथ्यहिन कुरा नगरि सच्चिन र सच्याउन यसै प्रेस विज्ञप्ति मार्फत् आग्रह गरिन्छ यन्यथा यसको परिणाम गम्भिर हुनेछ ।

को हुन् लखन थापा ?

सन् १९१४ मा भारतलाई अंग्रेजबाट स्वतन्त्र बनाउने आन्दोलनमा अंग्रेज शासनविरुद्ध भारतीय सैनिकले ठूलो विद्रोह गरे । त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ वटा नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमीरानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए ।

विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाट नियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचार विरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो ।

राजा-महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समयमा जनता पूणर् अशिक्षित, धर्मकर्ममा बढी चासो राख्ने भएकाले जातीय देवीदेवताका शक्तिका नामबाट जनचेतना जगाउँथे लखन । नेपालको राजनीतिक इतिहासका अनुसार ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ ।

जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन् । भाइ हो ! तयार होऔं’ भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै उनी संगठित हुन आह्वान गर्थे ।

उनी नेपालमा बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी । मृत्युदण्ड सन् १८७६ मा लखन थापाको नेतृत्वमा २ हजारजति युवाको सैनिक संगठनले गोरखाको बुङ्कोट काहुले भंगारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टुँडिखेल बनाई आवश्यक हातहतियार जम्मा गरे । त्यतिबेला जंगबहादुरले आफू श्री ३ बाट श्री ५ बन्न युवराज सुरेन्द्रलाई हातमा लिइसकेका थिए ।

तर, पछि विद्रोह हुँदा श्री ५ हुन उनी असफल भए । चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जंगबहादुरलाई मार्ने योजना लखन थापाले बनाए तर उक्त योजनाको पोल टीकादत्त जैसी (कसैकसैले बोर्लाङका थापाक्षत्रीहरु भन्छन्) ले खोलेकाले ४०-५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर जंगबहादुर काठमाडौं फर्के । काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जंगबहादुरले आदेश दिए, ‘लखनलाई मनकामना बाराहीकै छेउमा झुण्ड्याई मार्नू !’

जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसँग बुङ्कोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे । जयसिं चुमी रानामगर र उनका सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर निर्ममतापूर्वक काठमाडौं पुर्याइ मारियो ।

जंगबहादुरले ठूलो भूल भएको प्रायश्चित गर्दै केही सैनिकलाई लखन थापालाई नमार्नू भन्ने आदेश पठाए तर जैसी र थापाक्षत्रीले सुइँको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डरधम्की देखाई केही रकम दिएर आफ्नो पक्षमा पारे । तीन दिनपछि सैनिक पुग्दा १९३३ फागुन २ गते दरबार अगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो ।

सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूणर् ढंगले हत्या गरियो । अन्य ५० जना सहयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रुखमा झुन्ड्याइयो । लखन थापालाई मारेको खबर पाउनासाथ जंगबहादुरको मन बेचैनीले छटपटाउन थाल्यो ।

उनी स्वयं बुङ्कोट गई लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटोहुँदै फर्किंदा जंगबहादुरको पनि बाटैमा रहस्यमय मृत्यु भयो । स्थानीय जनविश्वास ‘म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुन्ण्ड्याइएको बेला कोही पनि नरुनू र पीर नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नू ।

यदि त्यसै सुकेर सानो-सानो भई झुण्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदैछ भनेर बुझ्नू । मलाई झुण्ड्याइएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउनेछु,’ राणाका सेनाले बलिदानी दिनुअघि लखनले जनसमुदायलाई सम्बोधन गरेका थिए ।

स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरुले रुपैयाँ बाँडेका थिए । गाउँलेले उक्त रुपैयाँ आफूसँग नराखी सामूहिक रुपमा गोरखा दरबार परिसरमा लखन थापाको नाममा ठूलो घन्टा किनेर चढाएका थिए ।

लखन र उनका सहयोगीलाई मारेपछि उनको शरीर डोरीमा विलीन भएको र अन्यको कुहेर भुइँमा झरेकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन्, देउतामा परिणत भएको विश्वास छ । केही वर्षअघिसम्म लखनलाई झुण्ड्याइएको डोरी पेट दुख्ने र अन्य उपचारका लागि प्रयोग गर्दा सकिएको स्थानीय समुदायले बताएका थिए ।

उनको मृत्यु हिंसात्मक ढंगबाट भएकाले उनले पनि भयाँर पूजा (मगर जातिले सामूहिक रुपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाहरुको स्मृतिमा गरिने पूजा) गर्ने गरेको हुँदा गोरखा, बुङ्कोट, काहुले भंगारमा प्रत्येक वर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन भयाँर पूजालाई ‘लखन्या पूजा’ भन्ने गरिन्छ । प्रथम सहिद घोषणा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणाविरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले प्रजातान्त्रिक आन्दोलन देश र जनताका निमित्त १९३३ फागुन २ गते आहुति दिएका थिए ।

उनले सहादत पाएको १२५ वर्षपछि २०५६ फागुन ११ गते राज्यले लखनलाई सहिद घोषणा गर्यो । प्रथम सहिदचाहिँ भनेन । सहिद घोषणा प्रक्रियामा असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग थियो ।

‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रामाणिक तथ्य एवम् अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिँदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो ।

नेपाल मगर संघ र प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले निरन्तर सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाउँदै इतिहासकार, बुद्धिजीवीसँग गोष्ठी, अन्तरक्रियामार्फत् दबाब दिइरह्यो । मगर सभासद समूह र समर्थक सभासदको हस्ताक्षरसहित सभासद शिवलाल थापा मगरले संविधानसभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘जंगबहादुर राणाको जहानियाँ शासनविरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्दै निवेदन दिए ।

व्यवस्थापिका संसदमा सोही कुरालाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाण हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गरेपछि बाध्य भएर २०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निणर्यले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरिएको व्यहोरा जानकारीका लागि निर्देशन अनुसार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

सामान्य ज्ञानदेखि इतिहासकारबिच एकमत भए पनि जनस्तरमा परिचित लखन थापालाई भूमिगत रुपमा संविधान जारी गरिएको दिन १३९ वर्षपछि मात्र प्रथम सहिद घोषणा गरिएको छ ।

जनताबाट पहिले सम्मानित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटी निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए । उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो तर, त्योभन्दा पहिल्यै इतिहासकारले उनी नेपालका प्रथम सहिद हुन् भनी दाबीसाथ लेखेका थिए ।

उनै प्रथम सहिद लखन थापाको आहुतिलाई सम्मान गर्दै उनलाई झुण्ड्याइएको स्थानमा सालिक स्थापना गरिएको छ । २०६२र६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापामगरको सालिक स्थापना गरिएको छ । घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापाबाट गरिएको छ ।

नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापामगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार