विप्लवले माफी माग्नु पर्छ !
अमृत सागर
विप्लव आफैले एउटा किताब लेखे ‘महापतन’ । जसलाई साँध लगाएर मार हान्ने खुकुरीप्रति काटिनेको के अनुभूति हुन्छ, प्रचण्डको लागि त्यहि हो ‘महापतन’ । उनका अन्य नेता र कार्यकर्ताको लागि पनि त्यहि प्रचण्डलाई जस्तै हो महापतन ।
नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा लिखित सो पुस्तकमा विचारधारात्मक पतनबाट सुरु गरी क्रान्ति र प्रतिक्रान्ति विचको संघर्षमा पुगेर पच्चीस (२५) ओटा शीर्षकमा प्रचण्डमाथि गम्भीर आरोप लगाइएको छ । २६ ओटा मुख्य शीर्षक राखेर लेखिएको ‘महापतन’मा प्रचण्ड जति पतित, भ्रष्ट र विचलनमा परेको राजनितिक नेतृत्व यो धर्तिमा अरु छैनन् भन्ने लाग्छ भने लेखक विप्लव चाहिँ संसारकै एक नायकको रुपमा उभ्याएको/देखाइएको छ । विप्लवको चर्चा पुस्तकमा कम गरिएपनि प्रचण्ड भित्रको दुनियाँ भरका खराबीको पर्दा खोलेपछि, पर्दा खोलेर देखाउने मान्छे नै नायक हो नि । विप्लव नायक नै हो, यो भ्रममा परेको पात्र स्वयम म पनि हो ।
‘महापतन’मा प्रचण्ड बाबुरामलाई यतिसम्म पतन गराइएको छ कि नेपाली समाजले बुझ्ने भाषामा सम्झनामा आउने जति सबै शीर्षक राखेर, राजनितिक सत्ता, वैज्ञानिक समाजवाद, क्रान्ति, सशस्त्र संघर्ष, संसदीय व्यवस्था, कम्युनिस्ट पार्टी, जनयुद्ध, जनमुक्ति सेना, राष्ट्रिय स्वाधीनता, आर्थिक दृष्टिकोण, साँस्कृतिक दृष्टिकोण, वार्ता र सम्झौता लगायत यावत विषयमा प्रचण्ड र बाबुरामलाई नाङ्गो बनाउने काम गरिएको छ । महिला, दलित, जाति र जनजातिका सम्बन्धमा पनि त्यस्तै सङ्गीन आरोपहरु लगाइएको छ । म आफै सोच्दै छु, विप्लवमा त्यस्तो ब्रम्हास्त्र के थियो प्रचण्ड, बाबुराम र किरण भित्रको सबै चिज पत्ता लगाउने र सत्यतथ्यको अन्वेषणमार्फत् बाहिर ल्याउने ?
प्रचण्डहरुले दलाल संसदीय व्यवस्था भित्र पसेर जुन स्याल हुँइया मच्चाएका छन्, उनीहरुको त्यो झुट एकीकृत जनक्रान्तिको ज्वालामा परेर ‘ट्याइ ट्याइ फिस’ हुने घोषणा सम्म गरेकाछन् । ‘आर्थिक दृष्टिकोण शीर्षक राखेर’ महापतनमा उनीहरु भारतमा बस्थे उनीहरुको लागि करोडौं रकम भारत पुर्याइयो, पैसा पुर्याउन जाँदा कतिपय कमरेडहरु त शहीद हुनुभएको छ सम्म भनिएको छ । विषय सत्य होला या नहोला यदि यसै हो भने पनि महापतनका लेखक विप्लवको प्रचण्डसँग बिचारमा विमति हो कि लेनादेनामा भन्ने बुझ्न गाह्रो छैन ।
महापतनको अन्तिममा संभावना पनि देखाइएको छ, यो देशका समस्या फु गरेको भरमा हल गरिन्छ जसरी । राजनीतिक शब्दजाल बिच्छ्याएर क्रान्तिको उज्ज्वल भविष्य छ, त्यो हाम्रै नेतृत्वमा भन्ने आसय व्यक्त गरिएको छ । आरोप नै आरोपको महाआरोप मार्फत् पतन नै पतनको ‘महापतन’ नाम राखेर किताब नै लेखेर, राज्य सत्तालाई धुलो पार्ने घोषणा गर्दै लडाइँमा लागेका विप्लवले के के गरे सबै प्रष्ट छ ।
विप्लवका १० वर्षमा पाँच वटा मुद्दा हराए । उनका आलोचना योग्य विषय यसरी हेर्न सकिन्छ कि, प्रचण्डले क्रान्तिमाथि गद्धारी गरेको आरोप-माओवादी पार्टी विभाजन, बुढाहरुले क्रान्ति गर्न सक्दैनन्-मोहन वैद्य माथिको आरोप र आफ्नै नेतृत्वमा पार्टी स्थापना, महापतन-प्रचण्ड बाबुराम माथिको आरोप । जनसेना निर्माण-ठेकेदार र निजि कम्पनि माथि हमला, केपि ओली-राष्ट्रवादी भएको निष्कर्ष, तिन बुंदे सहमति-पुँजीवाद कि समाजवाद, जनमत संग्रहको माग, यति हुँदाहुँदै पनि आज विप्लवले एउटा निष्कर्ष निकालेका छन् ।
मैले गरेको विश्लेषणमा माओवादीका ७५% भन्दा धेरै नेता कार्यकर्ता सहमत छन् । तर उनलाई यो पनि ख्याल होस् संभवत प्रचण्डका अगुवा कार्यकर्ताले त्यो किताब अध्ययन गर्ने हो भने, आज विप्लव उभिएको ठाउँमा त्यति नै प्रतिशत घृणा जाग्न सक्छ । यसको अर्थ माओवादीहरु एकठाँउमा हुन हुँदैन भन्ने किमार्थ होइन, एक हुनैपर्छ ।
अझ समाजवादमा जान तयार भएका कम्युनिस्टहरु सबै एक हुनुपर्छ तर विगतमा गरिएका पश्चताप पूणर् कर्म र व्यवहारलाई सच्याइनु पर्छ । अझ भन्दा प्रचण्ड र उनको नेतृत्वसँग आगामी नेतृत्वका लागि विप्लव आफै लालायित हो भने, महापतनका सन्दर्भमा बिनाहिचकिचाहट आत्मगौरवका साथ विप्लवले माफी माग्नु पर्छ ।
