वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानले गरेको हमलामा क्षतिग्रस्त अमेरिकी सैन्य मुख्यालयहरूको सेटलाइट तस्बिरहरू विश्वबाट लुकाउने प्रयास गरेको दाबी सार्वजनिक भएको छ।
रिपोर्टहरूका अनुसार, इरानले अमेरिकी सैन्य आधारहरूमाथि ठूलो हमला गरेपछिकाे क्षति लुकाउन ट्रम्प प्रशासनले निजी सेटलाइट कम्पनीहरूसँग विशेष आग्रह गरेको खुलासा भएकाे छ।
प्रशासनले कम्पनीहरूलाई क्षतिग्रस्त आधारहरूका तस्बिरहरू मिडिया वा इन्टरनेटमा जारी नगर्न अनुरोध गरेको थियो।
अमेरिकी रक्षा विभाग (पेन्टागन) यो घटनाबाट निकै चिन्तित थियो। यदि क्षतिग्रस्त ठेगानाहरूको वास्तविक तस्विरहरू सार्वजनिक भएमा अमेरिकाको शक्तिशाली छविमा ठूलो धक्का लाग्ने र इरानले अमेरिकी सेनालाई कमजोर बनाएको देखिने डर थियो। प्रशासनले अन्तर्राष्ट्रिय स्तरमा यो ‘अपमान’ लुकाउन चाहेको थियो।
अमेरिकी स्याटेलाइट इमेजिङ कम्पनी प्लानेट ल्याब्सले इरान र मध्यपूर्वका द्वन्द्व क्षेत्रको तस्विर जारी गर्न अनिश्चितकालका लागि रोकेको छ।
साे कम्पनीले ग्राहकहरूलाई इमेल मार्फत यो जानकारी दिएको थियो। यो निर्णय अमेरिकी सरकारको अनुरोधपछि भएको हो।
पहिले कम्पनीले मध्यपूर्वको तस्विरमा १४ दिनसम्म सेटलाइट फुटेज रोक्ने निर्णय गरेको थियो, जसलाई सुरुमा ९६ घण्टाको नियमबाट बढाइएको थियो।
कम्पनीको भनाइ अनुसार यो कदम शत्रुलाई तस्विरको प्रयोग गरेर हमला गर्न रोक्नका लागि हो, तर यसले अमेरिकाको महाशक्ति छवि बचाउन र क्षतिको वास्तविक प्रमाण लुकाउन पनि मद्दत गरेको देखिन्छ।
यो घटना अमेरिका -इरान द्वन्द्वको समयमा भएको हो। निजी कम्पनीहरू जस्तै म्याक्सर र प्लानेट ल्याब्सले सामान्यतया यस्ता हमलाको क्षति देखाउने तस्विरहरू छिट्टै सार्वजनिक गर्छन्। तर, यसपटक ट्रम्प प्रशासनले त्यसलाई रोक्ने प्रयास गरेको दाबी गरिएको छ ।




