रुपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् । श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन् । प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताएका छन् ।
‘केही दिनबाट हामी काठमाडौं थियौँ, संयोजकसहितका नेताहरु भेटेर म प्रदेश फर्कन लागेको छु, संयोजक प्रचण्डले सकेसम्म लोकतन्त्रवादी मिलेर जाने कुरा आफूहरूले राखे पनि कांग्रेस तीन दलको सरकारमा बस्न नचाहेको बताएपछि प्रदेशलाई मध्यावधिमा लैजान नहुने भएकाले निकासका लागि एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था आएको बताउनुभयो, अन्य प्रदेशका पनि साथी आउनुभएको थियो, म यही आशयका साथ फर्केँ, संयोजक आज यही विषयका लागि मधेश जाने कुरा छ’ उनले भने ।
अधिकांश नेता-कार्यकर्ताको दबाब र कम्युनिष्ट आन्दोलन जोगाउने लक्ष्यसहित अहिले नेकपा र एमाले गठबन्धन नजिक पुगेको स्रोत बताउँछ ।
सुदूरपश्चिम, कोशीलगायतका प्रदेशमा बजेटको विषयलाई लिएर एमाले-कांग्रेसबीच तिक्तता आएसँगै अहिले भइरहेको गठबन्धनमा दरार आएको थियो । त्यस पछि एमाले-नेकपाको सहकार्यका लागि संवादमा रहेका छन ।




