सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

२०८३ भदौ ३

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

गत २९ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले सोही दिन एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए।

विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा रहेका भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर विश्वासको मत लिने निर्णय गरेका थिए।

प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्। कांग्रेस सांसद प्रकाश देउवाको पद रिक्त हुनुका साथै डडेल्धुराबाट निर्वाचित डा. तारा जोशीले राजीनामा दिएपछि प्रदेशसभाको कायम संख्या ५१ रहेको छ। निलम्बनमा रहेका साविक नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीले भने विश्वासको मतमा मतदान गर्न पाउने छैनन्।

मुख्यमन्त्री भट्टलाई बहुमतका लागि २६ मत आवश्यक पर्छ। एमालेका ११, साविक माओवादीका सभामुखबाहेक १० र साविक नेकपा (एकीकृत समाजवादी) का सोडारीबाहेक तीन सांसदको मत जोड्दा भट्टको पक्षमा २४ मत पुग्ने देखिन्छ। साविक नाउपाका एक सांसदले समेत भट्टलाई खुलेरै समर्थन गरेकाले अहिले भट्टको पक्षमा २५ मत देखिन्छ। त्यसैले बहुमत पुर्‍याउन भट्टलाई थप एक मत आवश्यक पर्ने अवस्था छ।

यही अवस्थामा साविक नागरिक उन्मुक्ति पार्टीका सांसद निर्णायक बन्ने देखिएका छन्। साविक नाउपाका ६ सांसदले मंगलबार छुट्टै छलफल गरे पनि कानुनी रूपमा उनीहरू नेकपामै रहेको र संसदीय दलले विश्वासको मतका पक्षमा ह्विप जारी गरिसकेको नेकपा स्रोतको दाबी छ। तीमध्ये केही सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने तयारी गरेकाले सरकारलाई बहुमत जुटाउन सहज हुने स्रोतको भनाइ छ।

साविक नाउपाका कैलाश चौधरी भने मुख्यमन्त्री भट्टको पक्षमा रहेको बताइएको छ। बाँकी सांसदको भूमिकाले आजको मतदानमा भट्टले सहजै बहुमत पाउने वा थप सकस व्यहोर्नुपर्ने निर्धारण गर्नेछ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढ्नेछ। बहुमत प्राप्त गरेपछि मुख्यमन्त्री भट्टलाई सरकार विस्तार गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने बाटो खुल्नेछ।

यसमा तपाइको मत

अन्य समाचार