विपदकै बेला रसुवाका सीडीओ सरुवा: कारण जेनजीसँगको विवाद

काठमाडौं । बाढीको विपद्कै बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय फिर्ता बोलाउने निर्णय गरेको छ । कर्मचारीलाई हौसला दिनुपर्ने समयमा गृह मन्त्रालयले उल्टै ‘कारबाही’ स्वरुप मन्त्रालय तानेको भन्दै आलोचना भइरहेको छ ।
परियार रसुवामा हाजिर भएकौ दुई महिना मात्र भएको थियो । बिनाकारण यति छोटो समयमा सरुवा गर्ने हुकुमी शैलिले कर्मचारीको मनोबल घट्ने विज्ञहरू बताउँछन् ।  तालुकदार गृह मन्त्रालयले भने जेन-जी युवाहरूसँग भनाभन गरी स्थिति असमान्य बनेपछि रसुवाका सीडीओलाई फिर्ता गरिएको दाबी गरेको छ ।

मन्त्रालयस्रोतका अनुसार बेपत्ता मानिसको खोज, उद्धार, राहत र औषधोपचारका विषयमा जेन-जी रसुवाका अगुवा आदर्श ढकालसहितका व्यक्तिसँग परियारको अस्ति जिल्ला प्रशासन कार्यालयमा भनाभन भएको थियो । आफूहरूलाई राम्रो रेस्पोन्स नगरेको भन्दै ढकालले कालोमोसो दल्ने धम्कीसमेत दिएका थिए । विभिन्न राजनीतिक दल र नागरिक समाजले पनि उनको भूमिका समन्वयकारी नभएको गुनासो गरेपछि गृह मन्त्रालयमा काजसरुवा गरिएको स्रोतको भनाइ छ ।

गृहको दाबीबारे जेन-जीका अगुवा ढकालले सीडीओ फेरिनु सामान्य हो,आफूहरू कारक नभएको बताए । त्यसबेला उहाँले हामीलाई बेवास्ता गर्नु भएजस्तो लाग्यो, सायद उहाँ पनि बिजी हुनुहुन्थ्यो होला,’ उनले भने, ‘उहाँको सरुवा हुनुको पछाडि सरकारले नै केही मूल्याङ्कन गरेको होला, हाम्रो कारणले होइन ।’

उनले सीडीओ परियारसँग झै झगडा नभएर ‘मिस अण्डरस्ट्याण्डिङ’ मात्रै भएको बताए । रसुवामा बाढी आएको ११ दिनपछि हिजो गृहमन्त्री सुदन गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै सीडीओ परियारलाई मन्त्रालय तानेका हुन् । उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई पठाइएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार