काठमाडौँ महानगरको नेतृत्व लिन, समाजसेवी अमृत लामा चुनावी मैदानमा
२०८३ कार्तिक १६
काठमाडौं । अमेरीकामा बसोबास गर्दै आएका समाजसेवी अमृत लामा काठमाडौँ महानगरपालिकाको आगामी निर्वाचनमा प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने तयारीका साथ नेपाल फर्कने भएका छन् ।
लामो समयदेखि गैरआवासीय नेपाली समाजमा सक्रिय लामाले काठमाडौँ महानगरको विकास र व्यवस्थापनका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। सिन्धुपाल्चोक पुर्ख्यौली घर भई हाल काठमाडौँका स्थायी बासिन्दा रहेका उनले विगत एक वर्षदेखि नै आफ्नो समूह (कोर टिम) मार्फत चुनावी पूर्वतयारी थालेको जनाएका छन्।
लामाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आफ्नो नाम दर्ता गराइसकेका छन्। आफूलाई महानगरको नेतृत्वका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनले निवर्तमान मेयर बालेन शाहले सुरु गरेका सकारात्मक अभियान र विकासका कार्यहरूलाई निरन्तरता दिँदै अघि बढाउने रणनीति बनाएको बताएका छन्।
अध्ययन र खेलकुद क्षेत्रमा पृष्ठभूमि बनाएका लामाले ‘हामी नेपाली ग्लोबल’ संस्था मार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छन्। सो संस्थामार्फत विश्वका ४५ देश र नेपालका ५५ जिल्लामा शाखा विस्तार गरी उनले विपद् व्यवस्थापन र ग्रामीण विकासका क्षेत्रमा काम गर्दै आएको दाबी गरेका छन्।
हाल उनले विविध सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएका छन्। शिक्षामा छात्रवृत्ति , स्वास्थ्य सहयोग , असाहेलाई नि:शुल्क कानुनी परामर्श लगाएतका सामाजिक सेवामा उनको सक्रिय सहभागी रहदै आएको छ ।
नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसहित अमेरिका, चीन र भारतका कूटनीतिक तथा राजनीतिक वृत्तमा समेत आफ्नो सम्बन्ध रहेको दाबी गर्ने लामाले, राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव र सामाजिक प्रतिबद्धता नै आफ्नो मुख्य बल भएको बताएका छन्।
