मजदुर, किसानलाई हतोत्साहित गर्ने सरकार कम्युनिस्ट सरकार हुनै सक्दैनः गणेश आचार्य, अध्यक्ष, राष्ट्रिय जनमोर्चा दाङ
देशमा राजनीतिक, आर्थिक लगाएत सबै क्षेत्रमा अराजकता र भद्रगोलको अवस्था सृर्जना भएको र जताले कुनै क्षेत्रमा आशा गर्ने ठाउँ नै नभइरहेको यो अवस्थामा यसको कारण बारे हामीले चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यसँग यही विषयमा कुरा गरका छौं । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीः
हाल तपाईंको पार्टीको राजनीतिक कार्यक्रम के रहेको छ ?
प्रश्नको लागि धन्यवाद । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा स्थापनाकाल देखि नै देशको राष्ट्रियता, स्वाधीनता, अखण्डता, स्वाभिमान, जनतन्त्र र जनजीविकाको लागि संघर्ष गर्दै आइरहेको छ । देशको अवस्था अहिलेपनि फेरिन सकेको छैन । सामन्तवादी चिन्तन र उत्पादन प्रणाली पुरानै छ । ब्यवस्थाको नाम फेरिएको छ, विधि फेरिएको छैन । जनताले न्याय, समानता, शान्ति र समृद्धिको कुनै अनुभुति पाउन सकेको अवस्था छैन । जातीय र साम्प्रदायिक भावनाको विकास हुँदै गएको छ । यसले बिखण्डनलाई प्रोत्साहन गरेको छ । वेरोजगारले सिमा नाघेको छ, महङ्गी, हत्या, हिंसा र बलात्कार बढेर गएको छ । भ्रष्टाचारमा देश चुर्लुम्ब डुबेको छ । यसप्रकारका तमाम समस्याबाट मुलुकलाई बचाउनको लागि, जनताको सुख, शान्ति र समृद्धि ल्याउने राजनीतिक बिचार , दर्शन र सिद्धान्त बोकेर समाजवादी ब्यवस्था ल्याउने हाम्रो लक्ष हो । त्यसकै अधारमा पार्टीले आफ्ना कार्यनितिक कार्यक्रमहरु निश्चित गरेर अगाडी बढेको छ ।
देशको राजनीतिक ब्यवस्था,तीनै तहका सरकारहरु अस्तव्यस्त छन् यसको मुख्यकारण के होला ?
हाम्रो देशको राजनीतिमा हुने गलत प्रकृया र नियतका कारण यस्तो समस्या भएको हो । राजनीति नै वास्तविक राजनीति जस्तो छैन । आज दुःखका साथ भन्नु पर्छ राजनीति कमाइखाने माध्यम बनेको छ । गलत कामलाई बैधता दिने साधन भएको छ । भ्रष्टाचार गर्ने ठाउँ भएको छ । आफन्त र परिवारको स्वार्थ सिद्धको थलो बनेको छ । राजनीति समाज सेवा गर्ने होइन स्वार्थपूर्ती गर्ने भाँडो भएको छ । यो प्रकारको राजनीति हुँदासम्म राजनीति कहिलै सही हुन सक्दैन । अर्को कुरा अहिले नेपालको अवस्था र आवश्यकता बेगरको संघीय प्रणालीका कारण सबैतिर अन्यौल र अस्तब्यस्तता भएको हो ।
संघीयताको कारण भद्रगोल भएको कि नेतृत्वको कमजोर बैचारिक दृष्टिकोणले ?
हामिले माथी भने जस्तै संघीयताको कारण पनि हो र तपाईंले भने जस्तै नेतृत्व को कमजोरीको कारणले पनि हो । किन कि आफ्नो ब्यवस्थालाई कुशलतापूर्वक चलाउने काम त्यो ब्यवस्थाको नेतृत्व कर्ताको हो ।
बहुमतको कम्युनिस्ट सरकार पनि यसरी अस्तव्यस्त हुनुको कारण नेतृत्वको गलत शैली कि नीतिको दोष ?
अहिले बहुमत मात्र होइन दुई तिहाइको कम्युनिस्टको हँसिया हतौडाको झन्डा बोक्नेको सरकार छ । तर तपाईंले देख्नु भएको छ होला यो सरकार कुनै प्रभावकारी काम गर्न सकेको छैन । यही हो कम्युनिस्ट सरकार ? तपाईंले भने जस्तो कम्युनिस्ट सरकार नै होइन यो । यो पनि दलाल पुँजिपतिहरुको सरकार नै हो । दलाल पुँजिपतिहरुलाई प्रोत्साहन गर्ने र मजदुर किसानहरुलाई हतोत्साहित गर्ने काम यो सरकार गरिरहेको छ । त्यसैले नेतृत्वको गलत शैली र नीति दुबै समस्या छ ।
तपाईंको पार्टी अध्यक्ष चित्रबहादुर केसीले संघियताले देश टुक्रिन्छ भन्नुहुन्छ यसको कारण र प्रमाण के हुनसक्छ ?
संघीयता न हाम्रो देशको आवश्यकताले आएको हो न त त्यो अवस्था नै थियो । संघीयता प्रायोजित नारा हो । प्रायोजन गर्नेहरुले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरेका थिए । त्यो क्रमसः पूरा गर्दै छन । हाम्रो आर्थिक अवस्था संघीयता थेक्ने छैन । हाम्रो साँस्कृतिक, सामाजिक राजनीति धार्मिक अवस्था र राष्ट्रियताको विशिष्ट अवस्थाका हिसाबले पनि संघीयता सही हुने थिएन । यो हाम्रो अवस्थाको कुरा भयो अर्कोकुरा हामिले खोजेर र चाहेर आएको होइन संघीयता युरोपियन युनियन र भारतीयहरुको योजना र डिजाइनमा आएको हो । यसका दुस्परिणामहरु देखिँदैछ्न र अरु देखिँदै जानेछ्न । त्यसैले यसबाट फिर्ता हुनुनै देशकोलागि ठूलो हित हुनेछ । अहिले तपार्इं देख्नु भएको छ यसैका कारण हाम्रो भावना विभाजित भएको छ । जातीय र साम्प्रदायिक भावनाको विकास भएको छ । मानव समाजको विकास हुँदैजादा जातीय अन्तरघुलन भइ जातिगत भिन्नताको अन्त्य हुँदै जाने हो तर यसैका कारण जातीय र धार्मिक साम्प्रदायिक बढेको छ । हाम्रो अखण्डतालाई कामजोर बनाउने काम भएको छ । आर्थिक हिसाबले धान्न नसकेर यसैको लागि विदेशी दातृ निकायसँग हात फैलाउन पर्ने अवस्था आएको छ । कर वृद्धि गरेर जनतार्लाइ उठ्नै नसक्ने गरी ढाड सेक्ने काम भएको छ । महङ्गीले सिमा नाघेको छ । भ्रष्टाचारले आकासै छोइसक्यो । यो नै प्रमाण काफी छ ।
तपाईंको पार्टी भ्रष्टाचार विरोधी अभियानमा छ यता विप्लव र वैद्यहरुको पार्टी पनि यस्तो कार्यक्रम चलाईरहेको छ, उनीहरुसित सहकार्य भको छ कि छैन ?
नितिगत रुपमा हामिले सहकार्य गर्ने कुरा गरेका छौं । एकाध केही विषयमा सयुक्त आन्दोलन पनि गर्ने गरेका छौं तर त्यति घनिभुतरुपमा सहकार्य गर्ने संयुक्त आन्दोलन चलाउने काम हुन सकेको छैन ।
