अनियमितता गरेको आरोपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) पर्सामा अनियमितता भएको हो ।
अख्तियारले साबिकको जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा र लेखापाल सत्यनारायण सहनीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जमा सब–इन्जिनियरको पदमा कार्यरत राकेशकुमार महतो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरी, नितु कन्स्ट्रक्सनका प्रोप्राइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवविरुद्ध आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कृषि विकास अधिकृत सिन्हा, लेखापाल सहनी र सब–इन्जिनियर महतोविरुद्ध एक लाख ४७ हजार तीन सय दुई रुपैयाँ बिगो दाबी गरिएको छ । अन्यविरुद्ध बिगो किटान नगरी मुद्दा दायर गरिएको छ ।
कार्यालय मर्मत गर्दा लागत अनुमान टुक्र्याई निर्माण व्यवसायीसँगको मिलेमतोमा सीमित प्रतिस्पर्धा हुने गरी टुक्राटुक्रा पारी कोटेसन पारेको,न्यून गुणस्तरको सामान प्रयोग गरी रंगरोगन गरेको, प्राविधिकबाट चेक भएको बनाई ठेक्कासम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन र नापी किताब बदनियतपूर्वक नक्कली र झुटो बनाएर भुक्तानी दिइएको आरोप उनीहरुमाथि लागेको छ ।




