दाङमा कृयाशील ३ राजनीतिक पार्टीहरुको आज घोराहीमा बसेको बैठकले महामारीकोरुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग पुग्ने गरी आफ्ना गतिविधि गर्ने निर्णय गरेका छन् ।
सत्तारुढ (नेकपा), प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेतृत्वको पहलमा संयुक्तरुपमा भएको बैठकले यस्तो निर्णय गरेको जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिए । बैठकले कोरोना भाइरस नेपाल भित्रिन नदिनको लागि सरकारले गरेको लकडाउनका समयमा आएका समस्याहरु समाधान गर्न पहल थाल्न राजनीतिक दलहरु सम्मिलित संयन्त्र बनाइ काम अघि बढाउने निर्णय गरेको छ ।
बैठकले सो संयन्त्रले विदेश तथा भारतबाट आएका नेपालीहरुको लागत संकलन गर्ने, कुनैपनि ब्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको अन्य रोग देखिएका तत्काल उपचारको ब्यवस्था मिलाउने र त्यसका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भरपुर सहयोग गर्ने निर्णय भएको छ ।
बैठक पछि जारी संयुक्त विज्ञप्तिमा यस्तो जानकारी गराइएको छ । बैठकमा (नेकपाका) जिल्ला सचिव तुल्सीराम पुनमगर,कांग्रेसभा पति किर्तीबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।




