२०८३ भदौ २३ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रमलाई लिएर आपत्ति जनाएकी छन् ।
नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि गरिएको कार्यक्रमले सहिद र घाइतेहरूको अपमान गरेको उनको टिप्पणी छ ।
धितालले कार्यक्रमको स्वरूप, मञ्चको बनोट र त्यहाँ धर्मगुरुहरूको उपस्थितिलाई लिएर प्रश्न उठाएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ । मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो । त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन् ।’
उनले आन्दोलनका घाइतेहरूको भावनालाई कार्यक्रमले समेट्न नसकेको भन्दै नेतृत्वमा रहेकाहरूले यस्तो शैलीलाई किन हस्तक्षेप गर्न नसकेको भन्दै प्रश्न गरेकी छन् ।
आफ्नो स्टाटसमा धितालले विगतको आन्दोलनको उद्देश्य र वर्तमान व्यवहारबीचको विरोधाभासलाई पनि औंल्याएकी छन् । पोहोर साल प्रेस स्वतन्त्रता, निरंकुशता विरुद्ध र विधिको शासनका लागि सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले आफ्ना आलोचकहरूलाई धम्की दिने प्रवृत्ति हाबी भएको बताएकी छन् ।
‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ?’ उनले प्रश्न गरेकी छन् के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?’




