लजमा बस्न आएका पाहुनाको गोप्य अस्लिल भिडियो रेकर्ड गर्ने चन्द्रागिरिका मुकेश पक्राऊ

काठमाडौं । लजको कोठाभित्र गोप्यरूपमा पाहुनाको भिडियो रेकर्ड गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश मालीलाई पक्राउ गरेको हो ।

प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृत सहितको टोली लजमा पुगेर उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका व्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो ।

मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । उता चितवनको भरतपुर महानगरपालिका-१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै कैलालीको टिकापुर नगरपालिका-८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार