जसको एक मतले महाकाली सन्धि पारित भयो, २८ वर्षपछि उनै घिमिरे बने सभामुख

काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीवार भएको मत विभाजनमा १६७ मत प्राप्त गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । कुल २६८ सांसद उपस्थित भएकोमा उनको विपक्षमा १०० र मत दिन्न भन्ने पक्षमा १ मत पर्यो । घिमिरेलाई उनकै दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मत दिए ।

अन्य ३ स्वतन्त्र सांसदको मत समेत उनको पक्षमा पर्दा नेपाली कांग्रेस, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । नेमकिपा मत दिन्नँ भन्नेमा उभियो ।

ताप्लेजुङ जिल्लाको हाल सिरिजंघा गाउँपालिका वडा नं ३ मा पर्ने भूगोलमा बुवा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रूपमा २०१३ साल जेठ १३ गते घिमिरेको जन्म भएको थियो । निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका थिए । पछि ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाईस्कूलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातकसम्मको अध्ययन पूरा गरे ।

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत् पार्टी काममा होमिएका थिए । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगी संगठन निर्माणमा खटिएका उनले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका घिमिरे २०३५ साल पुस ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका थिए । २०३९ सालमा इलामको पार्टी प्रमुख बनेका घिमिरे २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इञ्चार्ज बनेका घिमिरे २०५८ सालमा पार्टीको केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज भएका थिए ।

त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जसमेत भएका थिए । ०७५ सालमा नेकपाको प्रदेश १ को अध्यक्ष बनेका उनी २०७८ सालमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज भएका थिए । भूमिगत राजनीतिमा होमिएका उनको राजनीतिक गतिविधि नियन्त्रण गर्न पञ्चायत सरकारले पटक–पटक पक्राउ गरेको थियो ।

घिमिरे महाकाली सन्धि पारितका लागि पार्टी (एमाले)भित्र निर्णायक मत दिने नेता थिए । पार्टी अध्यक्ष मनमोहन अधिकारी विरामी भएर टिचिङ अस्पतालमा उपचार गराइरहेका बेला भएको महाकाली सन्धिमा मनमोहनको सट्टा यिनै देवराज घिमिरेलाई पार्टीको बैकल्पिक केन्द्रिय सदस्यबाट तत्काल बुढवा गरेर पूर्ण केन्द्रिय सदस्य बनाइयो र उनकै मतले एमाले महाकाली सन्धि पास गर्ने लाइनमा गएको थियो । २०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका उनी अहिले २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनी झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निकतटम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २९७ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत ल्याएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार