अमेरिकाले इरानलाई हेपेपछि इस्लामावाद वार्ता विफल

काठमाडौं । इरान र अमेरिकाबीचको वार्ता विफल भएसँगै मध्यपूर्वमा शान्तिको आशामा ठूलो धक्का लागेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा २१ घण्टासम्म चलेको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ ।
वार्ता विफल भएलगत्तै इरानका मुख्य वार्ताकार एवं सभामुख मोहम्मद बाकर गालिबाफले यसको सबै दोष अमेरिकालाई लगाए ।

सामाजिक सञ्जाल एक्समा गालिबाफले इरानी टोलीले सकारात्मक र भविष्योन्मुखी प्रस्तावहरू राखे पनि अमेरिकी पक्ष इरानको विश्वास जित्न पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।

गालिबाफले वार्ता सफल नहुनुका पछाडि विभिन्न कारणहरू रहेको बताएका छन् । इरान इमान्दार नियत र बलियो इच्छाशक्तिका साथ वार्ताको टेबुलमा आएको भए पनि विगतका युद्धका तीता अनुभवहरूले अमेरिकाप्रति गहिरो अविश्वास रहेको उनले जनाएका छन् ।

अमेरिकाको ‘कथनी र करणी’ मा अन्तर हुनु नै विफलताको मुख्य कारण रहेको उनले दाबी गरे । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इरानको परमाणु कार्यक्रमको सीमा र त्यसको निगरानीका सम्बन्धमा दुई देशबीच अझै ठूलो खाडल छ ।

सामरिक रूपमा महत्त्वपूर्ण होर्मुज मार्गबाट हुने जहाजहरूको आवतजावतका विषयमा पनि दुवै पक्षबीच सहमति जुट्न नसकेको बताइएको छ ।

सन् १९७९ को क्रान्तिपछि पहिलोपटक यस स्तरको प्रत्यक्ष वार्ता भइरहेको थियो, जसबाट विश्व समुदायले ठूलो अपेक्षा राखेको थियो । अमेरिकी टोलीको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्सले आफ्नो प्रस्तावलाई ‘अन्तिम र उत्कृष्ट’ भनेका थिए ।

इरानले भने अमेरिकी प्रस्तावलाई ‘अपर्याप्त’ भन्दै अस्वीकार गरिदिएको छ । गालिबाफले अब बल अमेरिकाको कोर्टमा रहेको र इरानको विश्वास कसरी जित्ने भन्ने निर्णय अमेरिकाले नै गर्नुपर्ने बताए ।

इस्लामावाद वार्ता विफल भएसँगै पश्चिम एसियामा जारी तनाव कम हुने सम्भावना नरहेको र कूटनीतिक प्रयासहरू असफल हुँदा क्षेत्रमा फेरि सैन्य मुठभेड बढ्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार