काठमाडौं । रुस–युक्रेन युद्धका बीच इरानसँग पनि युक्रेनको तनाव बढेको छ । क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि युक्रेनले आक्रमण गरेको आरोप इरानले लगाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले इरानलाई अमेरिकी सैन्य अखडाहरू र खाडी मुलुकसँग सम्बन्धित भूउपग्रह गुप्तचर जानकारी उपलब्ध गराइरहेको दाबी गरेका छन् ।
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालाससँग टेलिफोनमा कुराकानी गरेका छन् ।
उनले क्यास्पियन सागरमा इरानी जहाजमाथि भएको आक्रमणको भर्त्सना गर्दै युरोपेली संघ, संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायसँग दोषीविरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन् ।
इरानको परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताले होर्मुज जलमार्गको अवस्थाबारे पनि छलफल गरेका थिए । उनीहरूले क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
इरानले शनिबार तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई बोलाएर विरोधपत्र बुझाएको छ । इरानले उक्त आक्रमणलाई शत्रुतापूर्ण र आपराधिक कार्यको संज्ञा दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट भएको र जसमा एक जना नाविकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
इरानले आफूले रुस–युक्रेन युद्धमा कहिल्यै हस्तक्षेप नगरेको दाबी गर्दै यस्तो घटनाले क्षेत्रीय अस्थिरता झन् बढाउने चेतावनी दिएको छ । साथै, आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चालिने र यस घटनाको परिणामका लागि युक्रेन जिम्मेवार हुने चेतावनी पनि दिएको छ ।
जेलेन्स्कीको आरोप
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि गम्भीर आरोप लगाएका छन् । उनका अनुसार रुसले जुलाईको सुरुदेखि नै अमेरिकी सैन्य अखडाहरू तथा खाडी मुलुकका महत्त्वपूर्ण रणनीतिक स्थलहरूको भूउपग्रह तस्बिर संकलन गरी इरानलाई उपलब्ध गराइरहेको छ ।
जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायहरूले रुसी उपग्रहबाट संकलित तस्बिरहरू र त्यसपछि भएका इरानी आक्रमणहरूबीच स्पष्ट सम्बन्ध फेला पारेको दाबी गरेका छन् । उनका अनुसार जुलाई १९ र २० मा रुसी उपग्रहहरूले बहराइन, जोर्डन र कुवेतस्थित चार वटा सैन्य हवाई अड्डाको निगरानी गरेका थिए ।
जेलेन्स्कीले रुसले करिब ३० हजार उत्तर कोरियाली सैनिक आफ्नो भूमिमा तैनाथ गर्ने तयारी गरिरहेको दाबी पनि गरेका छन् ।
उनले रुसको भोरोनेज क्षेत्रमा जुन महिनादेखि नै उनीहरूलाई स्वागत तथा तैनाथीको तयारी भइरहेको बताए । साथै, उत्तर कोरियाले रुसलाई थप ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको दाबी पनि उनले गरेका छन् ।




