नाट्टाको महासचिवमा ढकालको दावी  

२०८३ साउन २१, काठमाडौँ । यही साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)  निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको टिमबाट महासचिव पदमा पर्यटन व्यवसायी कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन्।

 ठमेलस्थित ‘डिजायर नेपाल ट्रेक्स, ट्राभल एन्ड टुर्स’ का अध्यक्ष रहेका उनी ट्रेकिङ, सांस्कृतिक पर्यटन, साहसिक यात्रा, हवाई टिकटिङ तथा अन्तर्राष्ट्रिय पर्यटन सहकार्यमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

नाट्टाको बोर्ड सदस्यको रूपमा समेत कार्य गरिसकेका ढकालले संस्थागत संरचना, आन्तरिक चुनौती तथा सदस्य व्यवसायीका समस्यालाई नजिकबाट बुझेको छन् । यही  आधारमा महासचिव पदका लागि आफू सक्षम उम्मेदवार रहेको उनको दाबी  छ ।

संस्थाभित्रको पुर्व अनुभवलाई नै आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै उनले प्रभावकारी, उत्तरदायी र परिणाममुखी कार्यशैली अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

३० भन्दा बढी देशको भ्रमण तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँगको प्रत्यक्ष अनुभवले उनलाई विश्व पर्यटनका बदलिँदा प्रवृत्ति, सम्भावना र प्रतिस्पर्धाबारे राम्रो ज्ञान रहेकोे छ ।

भण्डारी–ढकाल नेतृत्वको टिमले नाट्टालाई  प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। सदस्यकेन्द्रित र उत्तरदायी सचिवालय निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा प्रभावकारी सहकार्य, नयाँ बजार तथा गन्तव्यको खोजी, युवा नेतृत्व विकास, व्यवसायीको क्षमता अभिवृद्धि तथा नीतिगत सुधारका लागि सशक्त पैरवी टिमको एजेन्डा हुन् ।

 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, डिजिटल प्रविधिको तीव्र विस्तार, हवाई यातायातसम्बन्धी समस्या, पर्यटकको बदलिँदो रुचि तथा सरकारी नीतिनिर्माणमा निजी क्षेत्रको प्रभावकारी सहभागिता जस्ता विषयहरू पनि उत्तिकै महत्वपूर्ण बनेका छन्। यो बिषयलाई टिमले आफ्नो एजेन्डा बनाएको छ ।

यस सन्दर्भमा नाट्टाको आगामी नेतृत्वले परम्परागत कार्यशैलीभन्दा माथि उठेर ठोस र दीर्घकालीन परिणाम दिनुपर्ने आवश्यकता रहेको बताइन्छ । यही चुनौतीलाई सम्बोधन गर्न भण्डारी–ढकाल टिमले अनुभव र नवीन सोचको संयोजन, संस्थागत निरन्तरता तथा सुधारमुखी कार्यदिशालाई आफ्नो मुख्य आधार बनाएको जनाएको छ।

ढकाल पर्यटन क्षेत्रसँगै वित्तीय, कृषि, आतिथ्य, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा दीर्घकालीन अनुभव हासिल गरेका बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्।

अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकाल रहेको यस  टिमले नाट्टाको नेतृत्वलाई थप व्यावसायिक, व्यवस्थित र प्रभावकारी बनाउने दाबी गरेको छ।

यसमा तपाइको मत