काठमाडौं । इरानले अमेरिकासँग ६ सर्त राखेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगेर जोल्गाद्रले अमेरिकाले आफ्ना छवटा माग पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने बताएका छन् ।
बीबीसी फारसीका अनुसार, इरानले राखेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा छुट, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानविरुद्धका धम्की रोक्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नेलगायत विषय समावेश छन् ।
विश्लेषकहरूका अनुसार जोल्गाद्रले धेरै हदसम्म इरानका अघिल्ला मागलाई नै दोहोर्याएका छन् । तर, उनका पछिल्ला अभिव्यक्तिले वार्ताका क्रममा होर्मुज जलमार्गलाई लिएर इरानले कडा अडान कायम राखेको संकेत गरेको छ ।
इरान र ओमानले होर्मुज जलमार्गबाट जहाजको आवतजावतका लागि नयाँ व्यवस्थाबारे हालै भएका वार्तालाई ‘सकारात्मक र रचनात्मक’ बताएका बेला यो अभिव्यक्ति आएको हो ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग भइरहेको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । तर, उनले सम्झौतामा पुग्दैमा होर्मुज जलमार्ग तत्काल खुल्ने अर्थ नलाग्ने बताएका छन् । उनले यो जलमार्ग पुनः खोल्ने विषय ‘अन्य सर्तको अधीनमा’ रहेकोमा जोड दिएका छन् ।
यसअघि समाचार एजेन्सी रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै होर्मुज जलमार्गलाई लिएर इरान र ओमानबीच भइरहेको वार्तामा प्रगति भएको र अमेरिकाले छिट्टै सम्झौता हुने अपेक्षा गरेको जनाएको थियो ।
ती अधिकारीका अनुसार, होर्मुज जलमार्गमार्फत व्यावसायिक जहाजलाई कुनै अवरोधबिना आवतजावत गर्न दिने ग्यारेन्टीसहितको सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेछ ।




